१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ५ सोमबार o९:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रेलिगेसनको सँघारमा टुसाल

झापासँगको हारले टुसाल क्लबलाई ‘बी’ डिभिजनमै रहन कठिन, श्री कुमारी र बिग्रेडले जित निकाल्दा टुसाल तेस्रो डिभिजनमा घटुवा हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार o९:o१:oo

टुसाल युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको रेलिगेसननजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको लिगको १२औँ चरणमा झापा फुटबल क्लबसँग २–० ले पराजित हुँदा टुसालमाथि रेलिगेसनको दबाब बढेको हो । झापाको जितले ६ क्लब ‘बी’ डिभिजनमा रहने पक्का भएको छ । टुसालविरुद्ध झापालाई जित दिलाउन प्रदीप बुढाथोकीले दुई गोल गरेका थिए । यस जितसँगै झापा पनि रेलिगेसनबाट जोगिएको हो । तीन वर्षको अन्तरालमा प्लानिङ ब्वाइज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भइसकेको छ । 

चालू लिगबाट रेलिगेसनमा पर्ने पहिलो क्लब नयाँ बस्ती हो । ‘ए’मा उक्लने र ‘सी’ डिभिजनमा झर्ने समान एक टोलीको छिनोफानो हुन बाँकी छ । टुसालको हारले वीरगन्ज युनाइटेड, च्यासल युवा, मध्यपुर, बाँसबारी तथा सरस्वती क्लब ‘बी’ डिभिजनमै रहने भएका छन् । यी सबै क्लबले समान १५ अंक जोडेका छन् । उनीहरूका समान दुई खेल बाँकी छ । टुसालले १२ खेलबाट ११ अंक जोडेको छ । गता साता श्री भगवती क्लब र ब्वाइज युनियन क्लबले ‘बी’ डिभिजनको हैसियत जोगाएका थिए । अब श्री भगवती र ब्वाइज युनियनमध्ये एक टोली शीर्ष डिभिजनमा उक्लनेछन् । 

चारमध्ये एक टोली रेलिगेसनमा पर्ने
चालू लिगबाट अब चार टोलीबिच रेलिगेसनको त्रिकोणात्मक भिडन्त हुनेछ । ६ पटकको ‘ए’ डिभिजन लिग विजेता रानीपोखरी कर्नर (आरसिटी), श्री कुमारी, ब्रिगेड ब्वाइज र टुसालमध्ये एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ । आरसिटीले १४, श्री कुमारीले १३ र ब्रिगेड ब्वाइजले १२ अंक बटुलेका छन् । समीकरणअनुसार टुसालको ‘बी’ डिभिजनमै रहने सम्भावना निकै कम छ । टुसालसँग एक खेल मात्र बाँकी छ । लिगमा सरस्वतीले श्रीकुमारीको सामना गर्नेछ । ब्रिगेडले च्यासलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । आरसिटीले वीरगन्जविरुद्ध खेल्ने आयोजकले जनाएको छ । श्री कुमारी र बिग्रेडले जित निकाल्दा टुसाल तेस्रो डिभिजनमा घटुवा हुनेछ ।

जितले मध्यपुर जोगियो
बाँसबारीलाई हराउँदै भक्तपुरको मध्यपुर युथले ‘बी’ डिभिजन रक्षा गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मध्यपुरले बाँसबारीमाथि १–० को जित निकाल्यो । दुवै टोलीले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए । खेलको ६५औँ मिनेटमा मध्यपुरले अग्रता लिएको थियो । मध्यपुरको जितमा साहिल केसीले ६५औँ मिनेटमा निर्णायक गोल गरे । मध्यपुर सातौँ स्थानमा उक्लिएको छ ।