
प्रायः नेताको जीवनशैली निर्वाचित गरेर पठाउने मतदाताको भन्दा उच्च हुन्छ । ८९ वर्षमा बुधबार निधन भएका उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुहिकाको सन्दर्भ भने अपवाद रह्यो । उनी राष्ट्रपति हुँदा पनि जीवनभर राजधानी मोन्टेभिडियोको पश्चिमी भेगमा एउटा सामान्य घरमा बसे । सरकारले राष्ट्रपतिका लागि भव्य महलको प्रबन्ध गरे पनि उनी त्यहाँ बसेनन् । जुन विश्वका कुनै पनि राजनीतिज्ञका लागि अनुकरणीय बन्न सक्छ ।
राष्ट्रपति हुँदा मात्रै होइन, पूर्वराष्ट्रपतिको हैसियतमा पाउने सुविधा पनि लिएनन् । खेतीपाती गर्नु, थरिथरीका फूल उत्पादन गर्नु उनको सोख थियो । पदमा रहँदा उनले आफ्नो आम्दानीको ९० प्रतिशत रकम दीनदुःखीका लागि छुट्याए । उनलाई विश्वकै ‘गरिब राष्ट्रपति’ भनिन्थ्यो । पेपे उपनामले परिचित मुहिका समाज सुधारका लागि लोकप्रिय थिए ।
मुहिकाको जन्म सन् १९३५ मा मोन्टेभिडियोको बास्क र इटालियन मूलका एक किसान परिवारमा भएको थियो । उनीहरूको अवस्था सामान्य थियो । उनी पाँच वर्षको हुँदा बाबुको मृत्यु भयो । उनी र बहिनीले सानै उमेरदेखि बागबानीमा काम गर्थे । यद्यपि, उनी स्कुल गए र कानुन अध्ययन गर्न थाले । विद्यार्थी आन्दोलनमा बढ्दो रूपमा संलग्न हुँदै गएपछि उनले पढाइ छोडे ।
गुरिल्ला समूहमा आबद्ध
मुहिका सन् १९६० र १९७० को दशकमा उरुग्वेको सशस्त्र गुरिल्ला टुपामारोस नेसनल लिब्रेसन मुभमेन्ट नामक सहरी गुरिल्ला समूहमा आबद्ध भए । क्युबेली क्रान्तिबाट प्रभावित भई वामपन्थीहरूले उक्त समूह गठन गरेका थिए । समूहले लुटपाट, अपहरण र आक्रमणमार्फत तत्कालीन सरकारलाई सत्ताच्यूतको प्रयास गरेको थियो । क्रान्तिको समयमा उनीमाथि ६ पटक गोली प्रहार भयो ।
उनले ‘वर्गविनाको समाज’को सपना देखे । यस उद्देश्यका लागि टुपामारोका सदस्यले बैंक डकैती, राजनीतिज्ञलाई अपहरणदेखि बम विस्फोटसम्मका हर्कत गरे । तथापि, आफूले कसैको ज्यान नलिएको उनी दाबी गर्थे । ‘हामी परिपक्व थिएनौँ, तर लक्ष्य प्राप्तिका लागि हिंसामा पनि उत्रियौँ,’ मुहिकाले एक अन्तर्वार्तामा भनेका थिए । सन् १९७१ मा गोलीबारीपछि उनलाई एक प्रहरी अधिकारीको हत्या अभियोगमा कारागार चलान गरियो । १९७३ मा भएको विद्रोहपछि उरुग्वे १२ वर्षको सैन्य तानाशाही शासनको जन्जिरमा फस्यो । मुहिकालाई पक्राउ गरियो र लगभग १५ वर्ष जेलमा राखियो । कारागार बस्दा जीवनप्रति उनको दृष्टिकोणमा धेरै परिवर्तन भयो ।
एकान्त कारागारदेखि राष्ट्रपतिसम्म
सन् १९७३ देखि १९८५ सम्म उरुग्वे सैन्य तानाशाहीको अधीनमा थियो । उक्त शासनको समाप्तिपछि एक आममाफी कानुन पारित गरियो, जसअन्तर्गत मुहिका र अन्य राजनीतिक बन्दीलाई रिहा गरियो । उनी भावी श्रीमती लुसिया टोपोलान्स्कीसँग मिलेर एउटा सानो फार्ममा सरे, जहाँ उनीहरूले गोलभेडा खेती सुरु गरे । उनीहरू राजनीतिक गतिविधिमा पनि सक्रिय भए । सोही वेला टुपामारो समूह वामपन्थी राजनीतिक दल मोभिमिएन्टो डे पार्टिसिपेसियन पपुलर (एमपिपी) नामक राजनीतिक दलमा विकसित भयो । जेलबाट रिहा भएको १० वर्षपछि मुहिका संसद् सदस्यको रूपमा निर्वाचित भए ।
जर्मनीको समाचार संस्था डियुट्सी वेलीका अनुसार उनी पहिलो दिन पसिनाले निथ्रुक्क भिजेको अवस्थामा संसद् पुगे । गेटका सुरक्षाकर्मीले उनलाई कुरियर कम्पनीको व्यक्ति मानेर सोधे, ‘के तपाईं लामो समयदेखि प्रतीक्षामा हुनुहुन्थ्यो ?’ मुहिकाले जवाफ दिए, ‘हो म यस्तै प्रतीक्षामा थिएँ ।’ उनको प्रतीक्षा पूरा भयो । सन् २००५ मा पहिलोपटक उरुग्वेले समाजवादी राष्ट्रपति निर्वाचित गर्यो, वामपन्थी गठबन्धन फ्रेन्टे एम्प्लियो (ब्रोड फ्रन्ट) का नेता तबरे भाज्क्वेजले मुहिकालाई आफ्नो कृषिमन्त्री नियुक्त गरे । पाँच वर्षपछि उनी ५२ प्रतिशत मतका साथ राष्ट्रपतिमा निर्वाचित भए ।
राजधानी मोन्टेभिडियोको पश्चिमका यी किसानले आफू कुनै दिन लोकप्रिय हुनेछु भनेर सोचेका थिएनन् । यो सायद उनको लक्ष्य पनि थिएन । उनले २०१५ मा राष्ट्रपतिको कार्यकाल समाप्त हुनुभन्दा ठिकअघि डियुट्सी वेलीसँगको एक अन्तर्वार्तामा आफ्नो रगतको हरेक थोपामा राजनीति बगेको बताएका थिए । ‘म १४ वर्षको उमेरदेखि नै राजनीतिमा छु,’ उनले भने, ‘र यदि मैले मेरो विवेक गुमाइनँ भने म निरन्तर राजनीतिमा रहनेछु ।’ हुन पनि उनी मृत्युपर्यन्त राजनीतिमा सक्रिय थिए ।
जीवनको अधिकांश समय सामान्य जीवनयापन गरे । उनी भन्ने गर्थे, ‘मसँग जे छ, त्यसैमा रमाउँछु ।’ राष्ट्रपति हुँदा उनको औसत आम्दानी ७७५ डलर थियो, जुन उरुग्वेका औसत नागरिकको बराबर हो । ‘मलाई विश्वकै गरिब राष्ट्रपति भन्ने गरिन्छ, तर गरिब अनुभूति गर्दिनँ । गरिब त्यस्ता व्यक्ति हुन्, जो जीवनमा धेरै अभाव महसुस गर्छन्,’ उनी भन्ने गर्थे ।
गरिब र धनीकै सबालमा जी २० सम्मेलनमा उनले निकै सारगर्भित भनाइ राखेका थिए । ‘गरिबीमा जकडिएको ठुलो समूहको उद्धारका लागि हामी जतिवेला पनि दिगो विकासको कुरा गर्छौँ । तर, हामीले के योजना बनाइरहेका छौँ ? जर्मनीको जस्तै समान अनुपातमा हरेक भारतीयको घरमा कार भयो भने पृथ्वीको हालत कस्तो होला ? त्यसपछि हामीले सास फेर्ने अक्सिजन कति बाँकी होला ?’ उनले भनेका थिए । उनी युवा पुस्ताले राजनीति गर्नुपर्ने धारणा राख्थे । ‘समस्या यो हो कि संसार वृद्ध मानिसले चलाउँछन्, जसले आफू जवान छँदा कस्तो थिए भनेर बिर्सन्छन्,’ मुहिकाले सन् २०२४ मा समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्तामा भनेका थिए ।
सादगी जीवनका पर्याय
राज्यको सर्वोच्च पदमा रहँदा मुहिका इमानदारिताको नमुना बने । उनी प्रायः क्याबिनेट बैठकमा चप्पल र पुरानो ट्राउजर लगाएर देखा पर्थे । उनले कहिल्यै टाई लगाएनन् । औपचारिक कार्यक्रममा पनि विनाटाई पुग्थे । तर, सन् २०१४ मा उनले ह्वाइट हाउसमा अतिथि बनेर जाँदा भने थ्री पिस लगाए, जुन छोटो थियो । आयोजक तथा तत्कालीन राष्ट्रपति बाराक ओबामाले उनलाई ‘असाधारण विश्वसनीयता’ भएको वर्णन गरे । प्रख्यात उरुग्वेली पत्रकार एडुआर्डो ग्यालेनोले एकपटक मुहिकाबारे भनेका थिए, ‘उनी एक साधारण मानिस हुन् । मानिसले उनीभित्र आफूलाई चिन्छन् ।’ आफू सर्वसाधारण नागरिकसरह बाँचेको उनी बताउँथे । ‘म विश्वास गर्छु कि राजनीतिज्ञले आफ्ना बहुसंख्यक मानिसजस्तै बाँच्नुपर्छ,’ तीन वर्षअघि उनले अलजजिरालाई भनेका थिए ।
विनम्र शैलीका कारण मुहिका अन्य धेरै ल्याटिन अमेरिकी राष्ट्र प्रमुखभन्दा फरक थिए । उनी निडर र खरा व्यक्ति थिए । आफ्नो राष्ट्रिय टोली विश्वकपबाट बाहिरिएपछि फिफा अधिकारीलाई ‘पुरानो कुकुरको झुण्ड’ भने । सर्वत्र आलोचनापछि उनले माफी मागे । सन् २०१५ मा राष्ट्रपतित्वको अन्त्यपछि मुहिकाले अर्को वर्ष क्युबामा कोलम्बियाली सरकार र उक्त देशको फार्क छापामारबिचको शान्ति वार्तामा मध्यस्थता गरे । क्यान्सरबाट मृत्यु हुनु केही समयअघिसम्म राजनीतिक बहसमा योगदान दिइरहे ।
(एजेन्सीको सहयोगमा)