
पञ्चायतकालीन चर्चित साहित्यिक पत्रिका ‘मुक्तिमोर्चा’को टिममा सँगसँगै हुनुहुन्थ्यो मदन भण्डारी र जीवराज अश्रित । कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारलाई अघि बढाउन उहाँहरूको टिमले विद्रोह गरेपश्चात् मुक्तिमोर्चाको टिम को–अर्डिनेसनमा समाहित भयो । ०३५ मा को–अर्डिनेसन केन्द्रको राष्ट्रिय सम्मेलनबाट नेकपा (माले) गठन गरेपछि बनेको केन्द्रीय कमिटीमा मुक्तिमोर्चाको तर्फबाट जीवराज आश्रित पोलिटब्युरो सदस्य रहनुभयो भने मदन मण्डारी केन्द्रीय सदस्य बन्नुभयो । भदौ ०४६ मा सम्पन्न नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गर्यो भने जीवराज पोलिटब्युरो सदस्य हुनुभयो । माले र माक्र्सवादीको एकतापछि बनेको नेकपा (एमाले) को ०४९ मा सम्पन्न पाँचाैँ महाधिवेशनमा मदन भण्डारी पुनः महासचिव बन्नुभयो भने आश्रित संगठन विभाग प्रमुख चुनिनुभयो । कम्युनिस्ट आन्दोलनका दुई नक्षत्रले पार्टीलाई नयाँ उचाइ दिइरहेकै समयमा ३ जेठ ०५० मा दासढुंगामा उहाँहरू रहस्यमय जिप दुर्घटनामा पर्नुभयो । मुक्तिमोर्चाबाट सँगसँगै उदाएका दुई तारा दासढुंगामा सँगसँगै अस्ताउनुभयो । भौतिक शरीर नभए पनि उहाँहरूका कालजयी विचार र संगठनात्मक कुशलताको युगीन प्रभाव स्थापित छ । यसर्थ, संकटका हरेक पहेलीमा जनजनले सम्झिने नाम बनेको छ, मदन–अश्रित ।
मदनको दूरदर्शिता
०४६ मा बहुदलीय व्यवस्था स्थापनापछि मदन भण्डारीले नेपाली कांग्रेससमक्ष एउटा प्रस्ताव राख्नुभएको थियो– यो व्यवस्थाको पिलर बलियो भइसकेको छैन । कांग्रेस, कम्युनिस्टजस्ता बलिया शक्ति आधार बलियो नभएको संरचनामा कुस्ती खेल्न थाल्यौँ भने यो भत्कन सक्छ । त्यसैले व्यवस्था सुदृढीकरणका लागि केही समय सहकार्य गरौँ ।
मदनको त्यो प्रस्ताव र दूरदृष्टिलाई कांग्रेसको तत्कालीन नेतृत्वले लत्याएन मात्रै, उल्टै कम्युनिस्टविरोधी रबैया देखायो । ‘माले मसाले मण्डले एकै हुन्’ भनेर आन्दोलनका सहयात्रीमाथि दागा धर्यो । बहुदलीय व्यवस्था सुदृढीकरणमा मदन सूत्रलाई नअपनाए पनि त्यसबाट पाठ सिकेर गणतन्त्र ल्याउन र त्यसलाई जोगाउन उनीहरू एकठाउँमा उभिए । समय यस्तो आयो कि वर्तमानमा पनि उनीहरू (कांग्रेस र एमाले) सँगसँगै छन् ।
मदनको दूरदर्शिताको एक होइन, धेरै कोणबाट प्रमाणित भएको छ । चाहे त्यो ०४७ को संविधानमा राखेको आलोचनाका २७ बुँदा होस्, चाहे राष्ट्रियताको मुद्दामा होस् वा जनजीविकाको सवालमा नै किन नहोस्, मदनको अब्बलता हरठाउँमा देखिएको छ । नेपालको वाम लोकतान्त्रिक आन्दोलनलाई विचारबाट दिशाानिर्देश गर्ने सवालमा उहाँको नेतृत्वदायी भूमिका अद्वितीय छ । भिडसँगै लतारिने वा प्रियतावादी बन्नेभन्दा पनि भिडलाई सही मार्गमा हिँडाउन सक्ने विशेष क्षमता उहाँमा थियो । जस्तो कि मदनले जनताको बहुदलीय जनावादको रोडम्याप बनाउँदै गर्दा एकातर्फ केही कम्युनिस्ट घटकले त्यसलाई वर्ग समन्वयवादी विसर्जनको बाटो भनेर आक्षेप लगाएका थिए भने अर्कोतर्फ पुँजीवादपन्थीले ‘कम्युनिस्टहरू लोकतन्त्रवादी हुनै सक्दैनन्’ भनेर गोयवल्स शैलीमा उछितो काढिरहेका थिए । त्यस्ता आरोप र कुप्रचारलाई मदन भण्डारीले डटेर सामना गर्नुभयो । उहाँको जति बढी आलेचना हुँदै थियो, त्योभन्दा तीव्र गतिमा जनताबिच मदनको विचार स्थापित हुँदै गयो ।
विचार मात्रै होइन, राष्ट्रियता, जनजीविका र संगठनका सम्बन्धमा पनि मदनका विश्लेषण तेज तरार ठहरिएका छन् । प्रतिस्पर्धामा श्रेष्ठता, पहलकदमीबाट नेतृत्व विकास, परिवर्तनशीलता, पार्टी र समाजको लोकतान्त्रीकरण, देशको समृद्धि पथजस्ता मदनका ‘कि वर्डस्’ नेपाली समाज र राजनीतिका अभिन्न अंग बनेका छन् । टनकपुर परियोजनासम्बन्धी सम्झौताबारे ०४९ चैत्र २४ मा प्रतिनिधिसभा बैठकमा उहाँले ‘२.९ हेक्टर जमिन त के ! एक इन्ज जमिन कसैलाई दिने छुट न सरकारलाई छ, न त संसद्लाई नै छ’ भनी सरकार र संसद् दुवैलाई खबरदारी गर्नुभएको छ । यस्तो खबरदारी उहाँले राष्ट्रका ज्वलन्त मुद्दाहरूमा जीवनपर्यन्त गर्नुभयो । मदन भण्डारी भन्नुहुन्थ्यो, ‘सिद्धान्तको निम्ति जीवन होइन, जीवनको निम्ति सिद्धान्त हुनुपर्छ ।’ अर्थात्, सिद्धान्तले जीवनलाई पछ्याउनुपर्छ र जीवनलाई बाटो देखाउनुपर्छ । मदनको व्याख्यामा जनजीविका हराएको कागजी सिद्धान्त जीवन्त सिद्धान्त हुनै सक्दैन भन्ने थियो । पार्टी, समाज र राज्यको लोकतान्त्रीकरणमा मदन कुनै एक पार्टीको मात्र नभई सबैको पथ प्रदर्शक बन्नुभयो ।
आश्रितको संगठनात्मक कुशलता
कम्युनिस्ट पार्टीका लागि अपरिहार्य भनी पुष्पलालले औँल्याएका तीन ‘स’मध्येका अरू दुई ‘स’ (सिद्धान्त र संर्घष) को मेरुदण्ड मानिने संगठनको मामलामा जीवराज आश्रित कसैसँग तुलना हुन नसक्ने नाम हो । पार्टी पद्धति र अनुशासनमा चट्टानी अडान राख्ने स्वभावका आश्रितले पार्टीका निर्णय निर्देशनको अक्षरशः कार्यान्वयनमा सदैव जोड दिनुभयो । व्यवहारमा मिजासिलो तर पार्टी पद्धति र अनुशासनको मामलामा अत्यन्तै कठोर आश्रितसँग आफ्ना लागि कुनै काम नगर्ने र आफैँलाई समेत छुट नदिने कार्यशैली थियो । कम्युनिस्ट चरित्रबाट च्यूत भएका/हुन खोज्ने व्यक्ति/प्रवृत्तिविरुद्ध उहाँ निर्मम तवरले प्रस्तुत हुनुहुन्थ्यो । उहाँसँग छोटो समय एउटै कमिटीमा रहनुभएका तथा वर्तमानमा नेकपा (एमाले)का संगठन विभाग प्रमुख काशिनाथ अधिकारी उहाँलाई सम्झदै भन्नुहुन्छ– ‘विचार र व्यवहारको बिचमा तादम्य मिलेको दृष्टान्त योग्य पात्र हो, उहाँ । एक हिसाबले भन्दा संगठनको मामलामा उहाँ टावरिङ फिगर हुनुहुन्थ्यो ।’
मदन–आश्रितको खोजी
मदन र आश्रितजस्ता दूरद्रष्टा र संगठकले पसिना सिञ्चेको भूमि र बनाएको पार्टी यतिवेला इतिहासकै सबैभन्दा कठिन मोडमा छ । चौतर्फी अराजकता हाबी छ । अर्को अर्थमा भन्नुपर्दा वर्तमान सन्दर्भ राजनीतिक र सांगठनिक दुवै हिसाबले सबैभन्दा बढी प्रश्न उठेको समय बनेको छ । संगठकभन्दा पनि फलोअर्स प्रभावी भएर लोकप्रियतावादले लतारेको कालखण्ड हो, यो । देश र समाजका लागि जीवन होमेकाहरूको त्याग र समर्पण अर्थहीन बनाउन उद्यत् अविवेकी प्रवृत्तिले प्रश्रय पाएको दूषित घडी पनि हो यो । जस्तो कि, संसद्मा बोल्ने सांसद तथ्यमा बोल्दैनन् । उनीहरूलाई सिकाउनेहरूले नै सभ्य, शिष्ट र शालीन तर्क गर्दैनन् । एउटै व्यक्तिले सत्तामा हुँदा र नहुँदा ठिक विपरीत अभिव्यक्ति दिन्छन् । उनीहरूको आलोचना गर्नेहरू समालोचनात्मक टिप्पणी गर्नेभन्दा पनि कुण्ठा र छाडापनको कुलतले ग्रसित छन् । परिणामतः सामाजिक सञ्जाल हेर्न र सुन्नै नसक्ने गरी विषाक्त छ । यस्तो अवस्था समाजमा लामो समय रहने हो भने त्यसले कस्तो असर गर्ला ? कसैले हेक्का राखेको देखिँदैन ।
पार्टीहरूभित्रको कुरा गर्ने हो भने राजनीतिक र सांगठनिक संकट क्रमशः बढ्दो छ । राजनीतिमाथि अराजनीति हाबी छ । विधि र अनुशासनमा चल्नुपर्नेहरू भौतिक आक्रमणमै उत्रिएका दृश्य छरपस्ट देखिन थालेका छन् । सहकार्यलाई षड्यन्त्रले विस्थापित गरेको छ । एकताभन्दा अनेकता चाहनेहरूकै बोलावाला छ । दृष्टिकोणभन्दा द्रव्य प्राथमिकता क्रममा अगाडि देखिएको छ । क्षमता र योग्यताभन्दा चाकडी र चाप्लुसीको अंकभार माथि परेको छ । काम गर्नेभन्दा कान फुक्नेहरूकै रजगज चल्न थालेको छ । पहलकदमी पातलिँदै छ । प्राविधिक तवरले नेतृत्व हत्याउने गलत परिपाटी हुर्कंदो छ । प्रतिस्पर्धामा श्रेष्ठताको मूल मर्म नै ओझेलमा पारिएको छ । लोकतान्त्रिक प्रक्रियामा सामेल हुने तर परिणाम स्विकार्न नसक्ने अलोकतान्त्रिक चरित्रको सिकार स्वयं पार्टीहरू नै भइहेका छन् । पार्टीहरूमा संगठक कम छन्, भएकाहरू पनि उत्पीडनमा छन् । पार्टीहरू गुट अर्थात् स्वार्थ समूहरूका महासंघजस्ता देखिएका छन् । उनीहरूभित्र समूहिकताभन्दा पनि आदेश नै संगठनात्मक प्रणाली बन्ने हो कि ! भन्ने जोखिम बढेको छ । पार्टीका संस्थागत निर्णय बोक्नेहरू ‘झोले’ र सार्वजनिक विरोध गर्नेहरू साहसी भनेर चित्रित हुन थालेका छन् । संगठनलाई सामाजिक सञ्जालको नेटवर्क र त्यसको दुरुपयोगले निष्प्रभावीजस्तै बनाइदिएको छ । अराजकताको मात्रा जति बढ्छ, प्रियतावादको रेटिङ त्यति नै बढ्दै गएको छ । पछिल्लो समय अराजकता र प्रियतावाद पर्यायवाचीजस्तै देखिन थालेका छन् । निचोडमा भन्नुपर्दा सिद्धान्त र व्यवहारमा आनको तान फरक देखिएको छ । यस्तो दुरुह अवस्थालाई सजिलै पार लगाउन सक्ने पात्रको रूपमा मदन–अश्रितलाई सम्झने पंक्ति विद्यमानमा सानो छैन ।
‘सिद्धान्तको रंग खैरो र व्यवहारको रंग हरियो हुन्छ’ भनेर मदनले सदैव व्यवहारको महत्वलाई विशेष जोड दिनुहुन्थ्यो । व्यक्तिको इमानदारिता अवसर पाएको वेलामा नै जाँचिन्छ र जनताले हरसमय नेता र कार्यकर्ताको परीक्षण गरिरहेन हुँदा पार्टीपंक्ति यसप्रति सचेत हुनुपर्नेमा मदनले विशेष जोड दिनुहुन्थ्यो । संगठनात्मक मामलामा मदन जति पोख्त हुनुहुन्थ्यो, आश्रित अझ बढी ‘साउन्ड’ हुनुहुन्थ्यो । मुक्तिमोर्चाले जोडिदिएको मदन–आश्रितको राजनीतिक–सांगठनिक जोडीले करिब एक दशक मात्रै पार्टी हाँकेको भए पनि त्यसको प्रभाव दशकौँ रहने देखिन्छ । सिद्धान्तनिष्ठ बन्न आफैँमा जति कठिन छ, व्यवहारवादी बन्न त्योभन्दा कैयौँ गुणा कठिन छ । क्रान्तिकारी बन्न जति कठिन छ, त्यसलाई टिकाइरहन त्योभन्दा झन् कठिन छ । यो कठिन यात्राका लाल जोडी मदन–आश्रित सुकर्मका कारण युगौँयुग बाँचिरहनुहुनेछ ।
निष्कर्षमा भन्न सकिन्छ, देशमा उत्कर्षमा पुगेको अराजकताले मदनको जस्तै दूरदृष्टि खोजेको छ भने पार्टीभित्र हुर्कंदो संगठनात्मक आराजकताले आश्रितजस्तै कुशल संगठक चाहेको छ । यस्ता जननेता र कुशल संगठकको हरेक पार्टीमा खाँचो छ । राजनीतिमा हस्तक्षेपकारी भुमिकासहित उदाउँदै गरेको जेनजी र विटा पुस्तासँग यी दुवै क्षमताको मिश्रण भएको रोल मोडेल समयले मागेको छ । के नयाँ युगमा नयाँ पुस्ताले त्यो उचाइबाट पहलकदमी लिन सक्छ त !