१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
Invalid date format o५:५८:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

झ्याप्पझ्याप्प जान थाल्यो बिजुली

सिंहदरबारमै मोबाइलको बत्ती बालेर ‘शिक्षा उपसमिति’को बैठक

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:५८:oo
सिंहदरबारभित्र संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको शिक्षा उपसमितिको बैठक साँझ बसिरहँदा बिजुली गएपछि मोबाइलको टर्च बालेर छलफल गर्दै सांसदहरू । शुक्रबार साँझ पटकपटक विद्युत् आपूर्ति अनियमित हुँदा सर्वसाधारणले पनि हैरानी खेपेका छन् । तस्बिर साभार : सुमना श्रेष्ठको फेसबुकबाट

फेरि झ्याझ्याप बत्ती जान थालेपछि उपभोक्ता हैरान भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पूर्वसूचनाविना नै विद्युत् आपूर्ति अनियमित गरेपछि उपभोक्ताले चर्काे विरोध गरेका छन् । बिहीबार र शुक्रबार दर्जनौँपटक बत्ती आउने–जाने भइरह्यो । बिहीबार साँझ त एकैपटक साढे दुई घण्टा लोडसेडिङ भएको थियो ।

प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुनुमा प्राविधिक कारण भनेर पन्छिन खोजे पनि उपभोक्ताले भने प्राधिकरणमा भएको नेतृत्व परिवर्तनसँग जोडेर हेर्न थालेका छन् ।  सरकारले गत ११ चैतमा मात्र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । 

शाक्यले शुक्रबार बिहान ११ बजे भारप्रेषण केन्द्र स्युचाटारमै पत्रकार भेटघाट गर्दै लोडसेडिङ नभएको दाबी गरेका थिए । तर, त्यसपछि पनि काठमाडौंलगायत देशका विभिन्न ठाउँमा पटक–पटक विद्युत् सेवा बन्द भयो ।  

अनामनगरमा किराना पसल सञ्चालन गर्दै आएकी शान्ति बिश्वकर्माले विजुली नहुँदा आफ्नो व्यापार प्रभावित भइरहेको बताइन् । ‘राति ८ बजेसम्म पसल खोल्थे । तर, बत्ती जान थालेपछि साँझ ६ बजे नै बन्द गर्नुपरेको छ,’ उनले भनिन् । 

पोखराको पृथ्वीनारायण (पिएन) क्याम्पसमा बिए एलएलबि चौथो समेस्टरमा अध्ययनरत संगिता विश्वकर्माले बत्ती जाँदा आफ्नो परीक्षाको तयारीमा असर पारेको बताइन् । ‘परीक्षा चलिरहेको छ । बत्ती जाँदा राति पढ्नै पाइँदैन,’ उनले भनिन् । 

किन गयो बिजुली ? 
प्राधिकरणका प्रवक्ता राजाभाई श्रेष्ठले बिहीबार नेपाल–भारत ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको भारत खण्ड हावाहुरीले ‘फल्ट’ (ट्रिप) भएपछि र शुक्रबार हावाहुरीका कारण विद्युत् आपुर्ति प्रभावित भएको बताए । ‘प्रशारण लाइन, वितरणलाइन र सबस्टेशनको पूर्वाधार कमजोर छ । त्यसैमाथि हावाहुरीले पनि तार चुडिने लगायतका समस्या देखिएका छन्,’ श्रेष्ठले भने, ‘त्यही भएर बत्ती जाने, आउने भइरहेको हो ।’यसबाहेक पिक आवरमा पर्याप्त विद्युत् छैन । 

ग्रिडमा आवद्ध कुनै प्रसारणलाइन फल्ट भएपछि ग्रिडमा आवद्ध भएका अन्य पावर हाउसको उत्पादन पनि स्वतः बन्द हुन्छ । त्यो अवस्था ग्रिडका सिस्टमलाई ‘रिचार्ज’ (रिस्टोर) गरेर क्रमशः पावरहाउसहरू सञ्चालन गर्दै विद्युत् आपुर्ति गर्दै जानुपर्छ । अन्तरदेशीय प्रसारण लाइन फल्ट भएपछि बिहीबार नेपालको सिस्टम स्वतः अवरुद्ध भएको थियो । सिस्टम पुनः सञ्चालन गर्न साढे दुई घण्टा समय लागेको थियो ।

शुक्रबार राती ७ बजे चट्याङका कारण पुनः उक्त प्रसारणलाइन पुनः अवरुद्ध भयो । तर, त्यो पाँच मिनेटमै पुनः सञ्चालनमा आयो । त्यसबाहेकको समयमा उक्त प्रसारण लाइनमा कुनै समस्या आएको थिएन । तर, शुक्रबार पनि दिउँसो र राती काठमाडौं सहित मुलुकका बिभिन्न ठाउँ विद्युत् जाने समस्या भने देखिएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पछिल्लो समय देखिएको खराव मौसमका कारण विद्युत् आपुर्ति प्रभावित भएको बताए । ‘विद्युत्को उत्पादन र माग जुन रुपमा बढ्यो । त्यसलाई आवश्यक पर्ने गरि प्रसारणलाइन लगायतका पुर्वाधार भने बन्न सकेनन् । हाम्रो जडित क्षमता ३५ सय मेगावाट हुदाँ प्रसारणपुर्वाधारको क्षमता भने २४ सय मेगावाट हारहारी छ । पुर्वाधार अभावका कारणका सञ्चालनमा भएका अधिकांश पुर्वाधार उच्च क्षमतामै सञ्चालन भएका छन्,’ पत्रकार भेटघाटमा उनले भने, ‘त्यो अवस्थामा अलकिति विद्युत् आपुर्ति तलमाथि हुदाँ समस्या भइहाल्छ । त्यसलााई सन्तुलनमा ल्याउनुपर्छ । त्यसमाथि पछिल्लो समय हावाहुरी आउने, चट्यान पर्ने जस्ता प्राकृतिक घटना भएका छन् । त्यसले प्रसारण पुर्वाधारलाई नमज्जाले प्रभावित बनाएको छ । त्यसले विद्युत् जाने समस्या आएको हो । मौसम सामान्य हुन साथ यस्तो अफ्ठ्रो परिस्थीति आउँदैन । यद्यपि, यसको दीर्घकालिन समाधान गर्नुपर्छ । त्यसको लागि समय लाग्छ ।’

प्राधिकरणको ‘मिस म्यानेजमेन्ट’ !
खराब मौसमलगायत प्राकृतिक प्रकोपका कारण नेपालको ग्रिड प्रणालीमा विगतमा पनि यस्ता समस्या आउने गरेका थिए । ग्रिडमा आबद्ध कुनै प्रसारणलाइन फल्ट भएपछि ग्रिडमा आबद्ध भएका अन्य पावरहाउसको उत्पादन पनि स्वतः बन्द हुन्छ । त्यो अवस्थामा ग्रिडका सिस्टमलाई ‘रिचार्ज’ (रिस्टोर) गरेर क्रमशः पावरहाउसहरू सञ्चालन गर्दै विद्युत् आपूर्ति गर्दै जानुपर्छ । तर, विगतमा यसरी विद्युत् आपूर्ति रोकिँदा तत्काल समाधान खोजिने गरेकामा यसपटक ‘मिस म्यानेजमेन्ट’का कारण धेरै समय अन्धकार भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । ‘विगतमा पनि यस्तो समस्या आउने गरेको थियो । त्यसवेला १५ देखि ३० मिनेटमा पूरा प्रणाली पुनः सञ्चालनमा आइसक्थ्यो । तर, यसपालि साढे दुई घण्टासम्म विद्युत् आपूर्ति बन्द भयो,’ एक अधिकारीले भने, ‘यसमा विद्युत् आपूर्तिमा पर्याप्त व्यवस्थापन नपुगेको देखियो । त्यो लाइन अवरुद्ध भए पनि अन्य प्रसारणलाइनबाट विद्युत् आयात गर्न सकिन्थ्यो । त्यो पनि भएन ।’ 

प्राधिकरणमा हितेन्द्र आए लगत्तै जथाभावी रुपमा प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूको सरुवा गरियो । त्यसक्रममा भार प्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषलाई अन्यत्रै सरुवा गरि उक्त स्थानमा रञ्जु पाण्डेलाई राखियो ।  देशभरको विद्युत् आपुर्तिको व्यवस्थापन भार प्रेषण केन्द्रबाट हुन्छ । त्यही ठाउँमा नयाँ व्यक्ति ल्याउदाँ समयमै विद्युत् व्यवस्थापन गर्न चुनौती भइरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । 

हितेन्द्रले भने मिसम्यानेजमेन्ट नभइ प्राविधिक समस्या नै भएको दाबी गरे । ‘म आएपछि ४–५ जनाको मात्रै सरुवा भएको हो । प्राधिकरणमा राइट म्यान राइट प्यालेस कै अवस्थामा छ  । अहिले यो समस्या आउनुमा व्यवस्थापनको कुनै समस्या होइन,’ उनले भने, ‘विसुद्ध प्राविधिक समस्या हो । बिगतका बर्षहरूमा पनि यो समयमा यस्तो हुने गरेको थियो ।’

सिंहदरवारमै मोबाइलको बत्ति बालेर ‘शिक्षा उपसमिति’ को बैठक
शुक्रबार मुलुककै प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबारमा समेत विद्युत् ट्रिपिङको मारमा पर्यो । शुक्रबार साँझ सिंहदरवारमा शिक्षा उपसमितिको बैठक बसेको थियो । बैठक बसेकै बेला बिजुली गएपछि मोवाइलको बत्ति बालेर बैठक अघि बढाइएको थियो । पुर्व शिक्षामन्त्री समेत रहेकी सांसद् सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत ‘फोनको बतिमा शिक्षा उपसमिति अहिले’ भन्दै छोटो प्रतिक्रिया दिएकी छिन् । उनले शुक्रबार साँझ पौने आठ बजे तिर फेसबुकमा उक्त पोस्ट राखेकि थिइन ।