
आज शुक्रबार साँझ काठमाडौं उपत्यकामा तीव्रगतिको हावाहुरी चलेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण शुक्रबार दिनभर मौसमी गतिविधि अस्थिर रह्यो।
पश्चिमबाट सुरु भएको हावाहुरीसँगै केही ठाउँमा चटयाङसहितकाे प्रणाली साँझ काठमाडौंमा आइपुगेको छ। तीव्र गतिमा हावा चल्दा जनजीवन प्रभावित भएको छ। खासगरी यात्रामा रहेकाहरू प्रभावित भएका छन्। केही ठाउँमा हावाहुरीले घरका छाना उडाएको प्रारम्भिक विवरण छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशमा रहेको पानी पार्ने बादल र मेघगर्जन चट्याङ र हावाहुरीसहितको प्रणाली पूर्वतिर सरिरहेको छ। अहिले बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा पानी परिरहेको छ।
महाशाखाका अनुसार त्रिभुवन विमानस्थल क्षेत्रमा प्रतिघण्टा ५० किलोमिटर गतिले हावाहुरी चलेको छ। जसकारण आन्तरिक उडानसमेत प्रभावित बनेका छन्।