१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार १o:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मन्त्रीको नाम सिफारिसलाई लिएर नागरिक उन्मुक्तिभित्र चर्कियो विवाद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १o:५५:oo

सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीबाट मन्त्रीमा कसलाई सिफारिस गर्ने भन्ने विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र विवाद चर्किएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबिच विवाद बढेपछि मन्त्रीको नाम सिफारिसमा सकस देखिएको छ । 

नागरिक उन्मुक्तिको भागमा परेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीका लागि दुवै पक्षले आफूनिकटको नाम सिफारिस गरेका छन् । अध्यक्ष श्रेष्ठले प्रदेश सांसद कैलाश चौधरीलाई मन्त्रीमा सिफारिस गर्न संसदीय दललाई सिफारिससहित निर्देशनात्मक पत्र बुधबार पठाएकी थिइन् । 

मुख्यमन्त्री कमलबहादुर शाहलाई समेत उनले पार्टीबाट कैलाशलाई मन्त्री बनाउन सिफारिस गरिएको पत्र पठाएकी थिइन् । तर, प्रदेश संसदीय दलले भने अध्यक्ष श्रेष्ठको निर्देशनविपरीत सांसद रामेश्वर चौधरीलाई अघि सारेको छ । संसदीय दलमा अध्यक्ष श्रेष्ठ पक्ष अल्पमत र रेशम पक्ष बहुमतमा छ । अध्यक्ष श्रेष्ठले कैलाशलाई मन्त्री बनाउन निर्देशनात्मक पत्र पठाएपछि बुधबार बसेको संसदीय दलको बैठकले दलका नेता घनश्याम चौधरीलाई मन्त्रीमा सिफारिस गर्ने निर्णय गरेको थियो । तर, प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिसमेत रहेका चौधरीको साटो रामेश्वरलाई अघि सार्ने निर्णय बिहीबार गरेको छ । रामेश्वर रेशमनिकट र कैलाश रञ्जितानिकट हुन् । 

गत ३० वैशाखमा बसेको संसदीय दलको बैठकले मन्त्रीको नाम दिन वा नाम सिफारिस गर्ने जिम्मा संसदीय दललाई दिन पार्टी केन्द्रलाई आग्रह गर्ने निर्णय गरेको थियो । संसदीय दलको पत्रका आधारमा अध्यक्ष श्रेष्ठले कैलाशको नाम सिफारिस गरेकी थिइन् । ‘गत मंगलबार बसेको दलको बैठकले मन्त्री कसलाई बनाउने भनेर पार्टी केन्द्रसँग नाम माग्ने निर्णय गरेको थियो । दलको पत्रका आधारमा अध्यक्षले मलाई सिफारिस गर्नुभएको हो,’ कैलाशले भने, ‘पार्टी नेतृत्वसँग निर्देशन पनि माग्ने र अध्यक्षले नाम पठाएपछि त्यसलाई नमान्नु गद्दारी हो ।’ उनले बुधबार र बिहीबार बसेको भनिएको दलको बैठकबारे आफूलाई जानकारी नदिइएको बताए ।

मन्त्रीको नाम सिफारिसको विषयको विवादले अध्यक्ष श्रेष्ठ र संरक्षक रेशमबिच पुनः द्वन्द्व सुरु भएको देखिएको छ । रञ्जितानिकट एक नेताका अनुसार उनीहरूबिच लुम्बिनीमा रेशमनिकट र सुदूरपश्चिममा रञ्जितानिकटलाई मन्त्री बनाउने सहमति थियो । ‘दुवै पक्षबिच ब्यालेन्स हुने गरी लुम्बिनीमा रेशमनिकट राजकुमार चौधरी र सुदूरपश्चिममा रञ्जितानिकट कैलाशको नाम सिफारिस गरिएको हो,’ उनले भने, ‘तर, रेशम पक्षले आफूखुसी गर्न खोज्यो ।’