
सरकारले नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)को तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको छ । यससँगै उनीहरूको तलब बढ्ने भएको छ । यसअघि उनीहरूले बढुवा हुँदा पनि खाइपाइ आएकोभन्दा कम तलब पाउँदै आएका थिए ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ग्रेड समायोजन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको तलबमान र ग्रेड समायोजन गर्ने ।’ ग्रेड समायोजनका लागि गत १७ साउनमै सर्वाेच्च अदालतले परमादेश दिएको थियो । त्यसको करिब १० महिनापछि बल्ल कार्यान्वयन भएको छ ।
तह र फुली बढ्दा पनि वरिष्ठ सइहरूको तलब घटेको थियो । बढुवा हुँदा उनीहरूको तलब दुई सय ६२ रुपैयाँ घटेको थियो ।
कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबिच वरिष्ठ सइ पद थपेको थियो । वरिष्ठ सइको एक हजार चार सय १८ जनाको दरबन्दी छ । बढुवा गरे पनि त्यसअनुसार तलबमान र ग्रेड समायोजनमा ढिलाइ भएको थियो । बढुवा भएको करिब तीन वर्षपछि यो समस्या समाधान भएको छ ।
गत साउनमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले यससम्बन्धी परमादेश दिएको थियो । वरिष्ठ सइको आधारभूत तलब ४० हजार नौ सय ९८ रुपैयाँ छ । उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले तीन हजार सात सय ३२ मात्र पाउने गरेका छन् । तर, सइको तलब भने ४३ हजार नौ सय ९४ रुपैयाँसम्म छ । वरिष्ठ सइले अधिकतम दुई ग्रेड मात्र पाउने प्रावधान राख्दा यस्तो समस्या सिर्जना भएको हो ।