
सहरदेखि टाढाको एकान्त गाउँमा प्रशस्त जमिन र सुन्दर घरका मालिक एक सम्पन्न किसान बस्थे । तैपनि, उनी आफ्नो घर र जमिनदेखि खुसी थिएनन् । एक दिन उनले आफ्नो घरजग्गा बेचेर कुनै राम्रो स्थानमा आफ्नो सपनाको घर बनाउने निश्चय गरे ।
अर्को दिन उनले एक परिचित रियल स्टेट एन्जेन्टलाई बोलाएर भने– म यो ठाउँ जसरी पनि छोड्न चाहन्छु । यसो कोही ग्राहक खोजिदिनुपर्यो । एजेन्टले सोधे– किन ? के भयो र यहाँ ? किसानले दिक्क हुँदै भने– के मात्र भएन भन्नु र खोइ ? यो कच्ची धुले सडक हेर । यो सानो झरना हेर । यसले गर्दा पूरै घुमेर यात्रा गर्नुपर्छ । यी सानासाना पहाडमा पशुचौपायालाई चराउन सकस हुन्छ । यो बगैँचा हेर न, आधा दिन त यसैको सरसफाइमा बित्छ ।
यस्तो बेकारको सम्पत्ति च्यापेर के काम ? एजेन्टले पूरै घुमेर जमिन र घर राम्ररी हेरेर भने– ठिक छ, कोही ग्राहक भेटेपछि म लिएर आउँछु । केही दिनपछि किसान बिहानको पत्रिकामा कुनै राम्रो जमिन र घरको विज्ञापन छ कि भनेर खोज्दै थिए । नभन्दै उनले आफूले सोचेजस्तै जमिन र घरको आकर्षक विज्ञापन देखे ।
विज्ञापन पढेर उनले मनमनै भने– आहा ! यस्तो ठाउँमा बस्न पाए क्या आनन्द हुँदो हो । विज्ञापनमा भनिएको थियो– सुन्दर, शान्त र मनोरम स्थानमा सपनाको घर लिनुहोस् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण, झरना र पहाडहरूको बिचमा सहरको भिडभाड र कोलाहलदेखि थोरै टाढाको घर किन्नुहोस् र बाँकी जीवन आरामले बिताउनुहोस् ।
किसानले पटक–पटक दोहोर्याएर विज्ञापन पढे । उनको सपनाको जमिन र घर यस्तै थियो । उनी यस्तै स्थानमा बस्न चाहन्थे । उनी यो जमिन जसरी पनि किन्न चाहन्थे ।
तर, जतिपटक उनले दोहोर्याएर विज्ञापन पढे, त्यति नै पटक त्यो कतै आफ्नै जमिनको विज्ञापन त होइन भन्ने आशंका उनमा बढ्दै गयो । उनले यथार्थ बुझ्न दिइएको नम्बरमा फोन गरे । नभन्दै त्यो उनैको जमिनको विज्ञापन थियो ।
तब किसानलाई आफूले चाहेजस्तो सपनाको घर त आफ्नै पो रहेछ भन्ने महसुस भयो । उनले आफ्नो घर नबेच्ने निर्णयसाथ एजेन्टलाई विज्ञापन हटाउन अनुरोध गरे ।