Skip This
आइएमई ग्रुपको लगानी रहेको इला होटेल सञ्चालनमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format ११:५९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई ग्रुपको लगानी रहेको इला होटेल सञ्चालनमा

संस्कृति, पर्यटन तथा हवाई नीति छिट्टै परिमार्जन गर्छौँ : मन्त्री पाण्डे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई नीति छिट्टै परिमार्जन गर्ने बताएका छन् । सोमबार आइएमई ग्रुपको लगानी रहेको इला होटेल उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । ‘यी नीति परिमार्जन भएपछि यस क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास लिएको छु,’ मन्त्री पाण्डेले भने । उद्घाटनसँगै नवलपुरको गैँडाकोट नगरपालिका– १, मौलाकालीमा इला होटेल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

त्यस्तै, मन्त्री पाण्डेले संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकासमा र रोजगारी सिर्जनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको साझेदारीको उत्कृष्ट नमुनाका रूपमा मौलाकालीका केबुलकार तथा पर्यटन पूर्वाधार रहेको बताए । यस मोडेललाई मुलुकका विभिन्न स्थानमा बन्ने अन्य पर्यटकीय संरचनाले अनुसरण गर्नुपर्ने उनको भनाइ थियो । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा मौलाकालीका केबुलकार लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधारको विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाएमा थप लगानी गर्ने बताए । ‘उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठुलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहहरूले प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने । 

लगानीको वातावरण बनाउने काम सबै तहका सरकारको रहेको र लगानीको मौखिक आह्वान नभई निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार मानेर ठोस र व्यावहारिक नीतिमार्फत अर्थपूर्ण सहजीकरण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ । ‘मौखिक रूपमा गरिने आह्वानहरूले मात्र पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यावहारिक नीतिमार्फत अर्थपूर्ण रूपमा सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘सबै स्थानीय तहहरूले दीर्घकाललाई लक्षित गरी पर्यटकीय संरचना बनाउन जरुरी छ । लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलियतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ ।’ पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिने बताउँदै पर्यटन पूर्वाधारको लगानीले तत्काल प्रतिफल दिनेसमेत उनको धारणा थियो । 

‘हामीले पर्यटन पूर्वाधारमा लगानी गर्ने हो भने पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजस्व उठाउन सकिन्छ । पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुन्छ,’ उनले भने ।

गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गैंडाकोटमा ठूलाठूला पर्यटन पूर्वाधार बनेकामा खुसी व्यक्त गर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफूहरू तयार रहेको बताए । त्यस्तै, पूर्वमेयर छत्रराज पौडेलले पर्यटन पूर्वाधारको विकासले स्थानीयस्तरमा आर्थिक गतिविधि बढेको उल्लेख गर्दै यस्ता थप पूर्वाधार विकासमा राज्य तथा निजीको ध्यानाकर्षण समेत गराए ।