Skip This
गृहमन्त्री लेखकसँग कांग्रेस कार्यकर्ताको गुनासो– सरकारमा कांग्रेस निम्छरो भयो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
२o८२ बैशाख ३० मंगलबार २o:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

गृहमन्त्री लेखकसँग कांग्रेस कार्यकर्ताको गुनासो– सरकारमा कांग्रेस निम्छरो भयो

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार २o:५५:oo

गृहमन्त्री रमेश लेखकलाई मोरङका कांग्रेसका नेता-कार्यकर्ताहरूले सरकारमा कांग्रेसको उपस्थिति कमजोर भएको गुनासो गरेका छन्। 

भोलि विराटनगरमा हुने प्रदेश सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका गृहमन्त्री लेखकलाई पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता-कार्यकर्ताहरूले सरकारमा कांग्रेसको भूमिका निम्छरो भएको गुनासो गरेका हुन्। 

नेता–कार्यकर्ताहरूले संघीय मात्र नभएर प्रदेश सरकारसमेत पार्टी जनभावना अनुकूल सञ्चालन हुन नसकेको बताए। कांग्रेस मोरङका कार्यबाहक अध्यक्ष भक्तिनाथ माझीले कांग्रेस र एमालेको संयुक्त सरकार भएर पनि कांग्रेस समर्थक, नेता-कार्यकर्ताको कामकाज सहज रूपमा नहुने, तर एमाले सर्मथकहरूको काम खुरुखुरु हुने गरेको बताए। माझीले भने, ‘निम्छरो भएर सरकारमा बसिरहनुभन्दा प्रतिपक्षमै बसिरहँदा राम्रो हुन्छ।’   

कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले कांग्रेसका राज्यमन्त्रीलाई पार्टीले फिर्ता बोलाउनुपर्नेमा सोझै प्रधानमन्त्रीले बर्खास्त गरेर सत्तासाझेदार मात्र नभएर देशकै ठुलो पार्टीको अवमूल्यन गरेको गुनासो गरे। सचिव घिमिरेले प्रश्न गरे, ‘कांग्रेसका मन्त्रीलाई पार्टीले फिर्ता बोलाउने कि प्रधानमन्त्रीले बर्खास्त गर्ने ?’

कांग्रेस जिल्ला कार्यालय मोरङको पोखरियामा भएको भेटघाटमा पालिका अध्यक्षहरूले पनि गृहमन्त्री लेखकसमक्ष विभिन्न गुनसो पोखेका थिए।   

स्थानीय नेता-कार्यकर्ताहरूको आक्रोशपूर्ण गुनासो सुनेपछि गृहमन्त्री लेखकले अहिलेको सरकारमा कमीकमजोरी भएको स्विकार्दै यस्तो अवस्था आउनुमा संविधानलाई दोष दिए। उनले भने, ‘संवैधानिक व्यवस्थाअनुसार कुनै एउटा पार्टीको बहुमत आउँदैन, त्यसैले संयुक्त सरकार चलाउनुको विकल्प छैन।’ 

उनले संविधानमा भएको व्यवस्थाले नै महिला राष्ट्रपति, सभामुख हुनुका साथै समावेशी सिद्धान्तअनुसार सबै तह तप्काको राज्यमा प्रतिनिधित्व हुन पाउने व्यवस्था राम्रो भए पनि एउटा पार्टीको बहुमत नआउने निर्वाचन प्रणाली राम्रो छैन, यसलाई संशोधन गरेर जानुपर्ने बताए।

उनले समझदारी कामय नगरी आ–आफ्नै पाराले सरकार सञ्चालन भए कांग्रेस–एमाले गठबन्धन सरकार दुई तीन महिनाभित्र ढल्ने बताए। उनले कांग्रेस सरकारमा भएको अनुभूति नभएको विषय विचारणीय हो भन्दै अब अनुभूति हुने गरी मन्त्रालयको कामकाज अघि बढाउने प्रतिबद्धता जनाए।