
यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीनपटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान गर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीनपटक सेवा दिने रेसुंगा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए ।
नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुनः सुरु गरेको हो । रेसुंगा–काठमाडौंका लागि सात हजार ८० र काठमाडौंं–रेसुंगा सात हजार दुई सय ८० भाडादर कायम छ ।
मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुन सकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए । निगमको १८ सिट क्षमताको जहाजले बिहान ६:१० बजे काठमाडौंबाट रेसुंगा र बिहान ७:१५ बजे रेसुंगाबाट काठमाडौंका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।