Skip This
मिर्चैयामा चुनढुंगा बोकेको टिपरकाे ठक्करबाट एक वृद्धको ज्यान गयाे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o९:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिर्चैयामा चुनढुंगा बोकेको टिपरकाे ठक्करबाट एक वृद्धको ज्यान गयाे

बैकल्पिक सडकको माग गर्दै फूलबरिया सडकखण्ड अबरुद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o४:oo

मिर्चैया–कटारी सडकअन्तर्गत सिराहाको मिर्चैया नगरपालिका- ७, फूलबरियाखण्डमा मंगलबार बिहान चुनढुंगा बोकेको टिपरले ठक्कर दिँदा स्थानीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा फूलबरिया गाउँका ६५ वर्षीय महेन्द्र महरा रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

मिर्चैया प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राज पुरीका अनुसार उदयपुरबाट चुनढुंगा बोकेर आउँदै गरेको बा. प्र ०१–००४ क २९५३ नम्बरको टिपरले मंगलबार बिहान करिब पौने ६ बजेतिर महरालाई ठक्कर दिएको थियो । मानिसलाई ठक्कर दिएको टिपर असन्तुलित भएर पल्टिँदा महराको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक पुरीका अनुसार मिर्चैयाबाट गएको प्रहरीले घटनास्थल सिल गरी मुचुल्का उठाउनेसहित आवश्यक अनुसन्धान गरेको छ । ठक्करपश्चात् फरार रहेका टिपरचालकको खोजी भइरहेको उनले बताए ।

वैकल्पिक सडकको माग गर्दै फूलबरिया खण्ड अवरुद्ध
स्थानीय बासिन्दा र मृतकका आफन्तले ट्राफिक प्रहरीसँगको सेटिङमा क्षमताभन्दा बढी चुनढुंगा बोकेर तीव्र गतिमा गुड्ने टिपरको कारणले पटक–पटक दुर्घटना भई स्थानीयले ज्यान गुमाउनुपरेको भन्दै टिपरको लागि वैकल्पिक सडकको माग गर्दै मिर्चैया–कटारी सडकको फूलबरिया खण्ड अवरुद्ध गरेका छन् ।

वैकल्पिक सडक निर्माण थालनीसहित तत्काल चुनढुंगा बोक्ने टिपरहरूको भारवहन क्षमता र गति नियन्त्रणका लागि पहल नगरेसम्म शव नबुझ्ने भन्दै स्थानीयले सडकमा टायर बालेर बाटो नै अवरुद्ध गरेको घटनास्थलमा रहेका पत्रकार रामनारायण ठाकुरले जानकारी दिए । उनका अनुसार मिर्चैयामा रहेका सौर्या सिमेन्ट र मारुती सिमेन्ट उद्योगमा दैनिक सयौँ टिपर तीव्र गतिमा भारवहन क्षमताभन्दा बढी चुनढुंगा बोकेर गुड्दा पटक–पटक दुर्घटना हुने गरेको छ ।

प्रचलित व्यवस्थाअनुसार ६ चक्के ट्रक र टिपरले १० टनभन्दा बढी सामग्री बोक्न बन्देज भए पनि १० टनभन्दा बढी चुनढुंगा बोकेका सयौँ टिपर विनाअवरोध सञ्चालन हुँदै आएको स्थानीयको गुनासो छ । तीव्र गतिमा चल्ने ट्रक र टिपरका कारण पटक–पटक सडक दुर्घटना हुँदा जनधनको क्षति हुने, टिपरबाट खस्ने ढुंगाले लागेरसमेत मानिस घाइते हुन सक्ने जोखिम बढ्दासमेत ट्राफिक प्रहरी मौन बस्ने गरेको स्थानीयको आरोप छ ।