Skip This
प्रदेश युवा सम्मेलन : राज्यको हरेक क्षेत्रमा युवा  सहभागिता बढाउन जोड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format o८:४५:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रदेश युवा सम्मेलन : राज्यको हरेक क्षेत्रमा युवा  सहभागिता बढाउन जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४५:oo

बागमती प्रदेशको राजधानी हेटौँडामा जारी तेस्रो संस्करणको प्रदेश युवा सम्मेलनको दोस्रो दिन ‘नीति, नेतृत्व र युवा सहभागिता’ तथा ‘शिक्षा, सीप र सिर्जना’ दुई विषयमा प्यानल छलफल भएको छ । आइतबार सुरु भएको सम्मेलनको सोमबारको सत्रमा युवासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दामा विचार आदानप्रदान गरिएको थियो ।
सोमबारको पहिलो सत्रअन्तर्गत पत्रकार दिलभूषण पाठकको सहजीकरणमा भएको छलफलमा कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य जीवन परियार, सत्तारूढ दलका प्रमुख सचेतक महेश बर्तौला र माओवादीका युवा नेता पूर्णबहादुर घर्ती प्यानलिस्टको रूपमा सहभागी थिए । छलफलमा नेतृत्व हस्तान्तरण, नीतिगत सहभागिता र युवाको राजनीतिक भूमिकामाथि छलफल भएको थियो ।

नेता परियारले सामाजिक र राजनीतिक परिवर्तनमा युवाको भूमिका निर्णायक रहेको उल्लेख गर्दै युवाले राजनीतिप्रति घृणा होइन, सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिए । उनले हरेक सामाजिक तथा राजनीतिक परिवर्तनमा युवाको निर्णायक भूमिका रहँदै आएको स्मरण गराउँदै, नयाँ पुस्ताले देशको परिवर्तनका आधारमा राजनीतिलाई बुझ्नुपर्ने धारणा राखे ।

यसैगरी, सोमबारको दोस्रो सत्रमा ‘शिक्षा, सीप र सिर्जना’ विषयमा प्यानल छलफल भएको थियो । बागमती प्रदेश सांसद सुष्पा भुजेल, मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष अनन्त पौडेल र शिक्षाविद् अनन्त कश्यप घिमिरे प्यानलिस्टका रूपमा छलफलमा सहभागी भएका थिए । सांसद भुजेलले १८ देखि ३५ वर्ष उमेर समूहका ६० प्रतिशत युवामा सीपको अभाव रहेको बताउँदै शिक्षालाई सिर्जनशीलतासँग जोड्न नसकिएकोमा चिन्ता व्यक्त गरिन् । क्याम्पस अध्यक्ष पौडेलले युवा पलायनको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै, नीति–निर्माताहरूले यसको विश्लेषण गरी समाधानको बाटो खोल्नुपर्नेमा जोड दिए ।

छलफलमा सहभागी युवाहरूले डाक्टरजस्ता पेसाकर्मी पनि आन्दोलनमा जानुपर्ने अवस्थाले शिक्षा प्रणालीमाथि प्रश्न उठाएको गुनासो गरे । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा जारी सम्मेलनले सिर्जनशीलता, उद्यमशीलता र युवा सहभागिता प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ । सम्मेलन मंगलबारसम्म चल्नेछ ।

सत्तारूढ दलका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको युवामैत्री नीतिकै कारण आफू र आपूmजस्ता थुप्रै युवाले नेतृत्वको जिम्मेवारी पाएको तर्क गरे । आफूजस्ता युवालाई संसद प्रवेशको अवसर दिएको उनको भनाइ थियो । उनले अहिलेको अवस्थामा युवालक्षित उद्यमशीलता, नेतृत्व विकास र समावेशी सहभागिताका कार्यक्रमलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए । 

माओवादीका युवा नेता घर्तीले उमेर नभई विचार, पद्धति र क्षमता नै नेतृत्वको मापदण्ड हुनुपर्ने बताए । समावेशी दृष्टिकोणबाट युवामैत्री कार्यक्रमको सशक्त कार्यान्वयन, नेतृत्व विकास, सीप अभिवृद्धि तथा अवसर सिर्जना गर्न राज्यका तीनै तहबिच समन्वयात्मक प्रयासको आवश्यकता रहेको उनको भनाइ थियो । छलफलमा सहभागी युवाहरूले प्रभावकारी युवा नीति कार्यान्वयनको अभाव, महिला, दलित र युवाको न्यून प्रतिनिधित्व तथा पुस्तान्तरणको खाँचोजस्ता विषय उठाएका थिए ।