
बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ५ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खे (बजेट अधिवेशन) ५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बजेट अधिवेशन ५ गते ११ बजेका लागि बोलाउने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय भएको छ । सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति कार्यक्रममाथि छलफल गर्न प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भएको उनले बताए ।
उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको बर्खे अधिवेशन आह्वान गर्नेछन् । यसअघि प्रदेश सभाको हिउँदे अधिवेशन बैठक चैत २० गते अन्त्य गरिएको थियो । सत्तापक्ष र प्रतिपक्ष दलहरूबिचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठकसमेत बस्न नसकेपछि सरकारले प्रदेश सभाको अधिवेशन नै अन्त्य गरेको थियो ।
प्रदेश सभाको बैठक गत माघ २६ गतेदेखि बस्न सकेको छैन भने प्रदेश सभामा विचाराधीन चारवटा विधेयकका प्रतिवेदनसमेत होल्ड भएका छन् ।