१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २२ सोमबार १९:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नीति तथा कार्यक्रममा सोबिताका आठ संशोधन : पार्टटाइम जागिरलाई २० घण्टामा सीमित नगर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार १९:४४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले संसदमा प्रस्तुत गरेको आगामी आव ०८२/०८३ को नीति तथा कार्यक्रममा ८ वटा विषयमा संशोधन प्रस्ताव दर्ता गराएकी छन्। सोमबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसद गौतमले आफ्ना संशोधन प्रस्तुत गरेकी हुन्। 

गौतमले राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रम, पूर्वाधार निर्माणमा सामग्री अभाव हुन नदिने गरी नदीजन्य स्रोत परिचालन, नदी बेसिन गुरुयोजना, विद्यार्थीलाई पार्ट टाइम जागिर, आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रममा संशोधन राखेकी छिन्। पर्यटन नीतिअन्तर्गत राष्ट्रिय पर्यटकीय पदमार्ग तथा गन्तव्य संरक्षण ऐन, एकीकृत पर्यटन पूर्वाधार मास्टर प्लान, हिमाल र हिमताल संरक्षण तथा जलवायु प्रतिरोधी व्यवस्थापन नीति अवलम्बन र उच्च हिमाली क्षेत्रमा प्लास्टिक निषेध क्षेत्र घोषणा गर्नुपर्ने उनको सुझाव छ।

सांसद गौतमले नीति तथा कार्यक्रमको बुँदा ६७ मा उल्लेखित विद्यार्थीलाई पार्ट टाइम जबसँग जोड्ने विषयको स्वागत गर्दै २० घण्टामा सीमित नगर्न सुझाव दिएकी छिन्। ‘मैले संसदमा उठाउदै आएको स्टुडेन्टलाई पार्टटाइम जबसँग जोड्नुपर्छ भन्ने विषय आएको छ। तर मेरो विनम्रताका साथ अनुरोध छ, पार्टटाइम जबलाई २० घण्टामा सीमित नगरियोस्,’ उनले भनिन्, ‘कम्तीमा दिनको ४ घण्टा विद्यार्थीले काम गर्न सक्छन्। कति घण्टा भन्ने पाबन्दी नलगाई यो कार्यान्वयन होस् र काम वापतको ज्याला हप्तै पिच्छे प्रति घण्टाको हिसाबले दिने व्यवस्था होस्।’

गौतमले यो नीति कार्यान्वयन गर्न विद्यार्थीलाई पार्टटाइम जब दिने संस्थालाई केही कर छुट दिई प्रोत्साहन गर्ने नीति लिन पनि सुझाएकी छिन्।

सांसद गौतमले नीति तथा कार्यक्रम बजेटको तीन महिनाअघि नै संसदमा प्रस्तुत गरेर पर्याप्त छलफल गराउनुपर्नेमा बजेटको मुखमा कर्मकाण्डीरुपमा प्रस्तुत गरेकोमा असन्तुष्टि जनाइन् । नीति तथा कार्यक्रममा छलफल गरिरहँदा बजेट तयार भइसकेको भन्दै गौतमले सांसदहरुले राखेका संशोधन र सदनको छलफलले कहाँ स्थान पाउँछ भनेर प्रश्न गरिन्। उनले कर्मकाण्डीरुपमा गरिएको छलफल समयको बर्बादीमात्रै भएको पनि टिप्पणी गरिन्।

छलफलमा भाग लिँदै सांसद गौतमले चालु आर्थिक वर्षका नीति तथा कार्यक्रम कति पूरा भए भनेर पनि सरकारलाई प्रश्न गरिन्। आगामी वर्षदेखि अघिल्लो आबको नीति तथा कार्यक्रमको प्रगति विवरणसहित नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने उनको सुझाव छ।

छलफलमा सांसद गौतमले काठमाडौँ क्षेत्र नम्बर २ का मुख्य सडकहरुलाई राष्ट्रिय राजमार्गमा समावेश गर्न पनि माग गरिन्। ‘चावहिलदेखि संखरापुर हुँदै भोटेचौर र बाहुनेपाटीसम्मको सडक विस्तार भइसकेको छ। यो मार्ग मध्य पहाडी लोकमार्गसँग जोडिने भएको हुँदा पर्यटकीय दृष्टिले पनि निकै रणनीतिक रहेको छ। यो मार्गलाई राष्ट्रिय राजमार्गमा समेटी, उच्च प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरियोस्,’ उनले भनिन्।

सांसद गौतमले तिनकुनेमा अन्डरपास बनाउने कार्यको सरकारसँग प्रगति विवरण पनि माग गरिन्।