
सरकारले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रूपमा एनसेललाई सम्मान गरेको छ । सरकारले शुक्रबार आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित एक कार्यक्रममा एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए । आइसिटी क्षेत्रको विकास, विस्तार र समृद्ध नेपालको अभियानमा गत आर्थिक वर्ष ०८०/८१ मा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रबाट सबैभन्दा धेरै कर बुझाएर राष्ट्रलाई पुर्याएको विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै एनसेललाई यो सम्मान प्रदान गरिएको हो ।
‘धेरै कर तिर्ने करदातामध्ये एक एनसेलले प्रत्येक वर्ष विभिन्न कर तथा शुल्क शीर्षकअन्तर्गत सरकारलाई करमा महत्वपूर्ण योगदान गर्दै आएको छ । देशको आइसिटी विकास र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिन पाउँदा हामी गर्व गर्छौँ । आइसिटीको विकासमा निरन्तर योगदान गर्दै डिजिटल नेपालको भिजनअनुसार डिजिटल भविष्यका लागि कार्य गर्न प्रतिबद्ध छौँ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदातालगायत सम्मान पाइसकेको छ । गत पुसमा पनि संस्थागततर्फ गत आर्थिक वर्ष ०८०/८१ मा सबैभन्दा बढी कर योगदान गरेकोमा एनसेल ललितपुर महानगरपालिकाबाट उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको थियो ।