१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २२ सोमबार
  • Monday, 05 May, 2025
मात्तिया फेरारासी
२o८२ बैशाख २२ सोमबार ११:o३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के जियोर्जिया मेलोनी युरोपेली नेता बन्न सक्छिन् ?

Read Time : > 2 मिनेट
मात्तिया फेरारासी
नयाँ पत्रिका
२o८२ बैशाख २२ सोमबार ११:o३:oo

अहिले मेलोनीको वास्तविक शक्ति उनले कहिल्यै विश्वास नगरेका युरोपेली संस्था अर्थात् युरोपियन युनियनमै आधारित छ 

डाेनाल्ड ट्रम्पको ह्वाइटहाउसमा पुनरागमनसँगै इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी युरोपियन युनियन र अमेरिकाबिचको सम्बन्धमा अनपेक्षित, तर प्रभावशाली नेतृका रूपमा उभिएकी छिन् । एक उग्र दक्षिणपन्थी पार्टीकी नेतृ मेलोनी अहिले स्पष्ट रूपमा युरोपियन युनियनका पक्षमा उभिएकी छिन् र इटलीले ट्रम्प र युरोपबिच रोज्नुपर्ने सोचलाई ‘केटाकेटीपन’ ठान्छिन् ।

ट्रम्पले भन्सार वृद्धिको योजना सार्वजनिक गरेपछि मेलोनी उनलाई भेट्न ह्वाइटहाउस पुग्ने पहिलो युरोपेली नेतृ बनिन् । त्यसपछिका दिनमा उनले रोममा उपराष्ट्रपति जेडी भान्सलाई भेटिन्, जसले युरोपबारे आलोचनात्मक धारणा व्यक्त गरेका थिए । यद्यपि, मेलोनीका वैचारिक झुकाव ट्रम्प प्रशासनसँग मेल खाने खालका छन्, तर उनले आफ्नो कूटनीतिक युरोपेली आयोगसँग समन्वयमा गरिएको बताएर युरोपियन युनियनको व्यापार नीतिमा आफूले भूमिका खेलिरहेको देखाउन खोजेकी छिन् । उनी ट्रम्प र आयोग अध्यक्ष भोन डेर लेयेनबिचको सम्भावित वार्ताको पुल बन्ने प्रयासमा छिन् । मेलोनीले अमेरिकाबाट थप तरल प्राकृतिक ग्यास आयात गर्ने र इटालीको रक्षा बजेट बढाउने वाचा गरेकी छिन् । मेलोनी अहिले केवल राष्ट्रिय नेतृ होइनन्, अहिले उनी युरोपेली टोलीको बलियो खेलाडीका रूपमा प्रस्तुत हुँदै छिन् । ‘मेलोनीले ट्रम्पसँग सम्बन्ध राख्दा सबैभन्दा पहिले ब्रसेल्स (युरोपियन युनियनको मुख्यालय)लाई फोन गरेर निर्णय प्रक्रियामा सामेल गर्छिन्,’ एक वरिष्ठ इटलियन अधिकारीले गत नोभेम्बरमा ट्रम्प निर्वाचित भएलगत्तै मसँग भनेका थिए । यसले मेलोनीको संस्थागत सोच उनका लोकप्रियतावादी प्रवृत्तिमा हाबी हुने देखिन्छ, र अहिलेसम्म त्यस्तै भएको पनि छ ।

तर, यस्तो परिणाम निश्चित भने थिएन । सिद्धान्ततः मेलोनी ट्रम्पले युरोपियन युनियनलाई ‘दयनीय संस्था’ भन्दै अमेरिकी हितविरुद्ध काम गर्ने निकायका रूपमा व्याख्या गरेको विषयसँग असहमत छैनन् । उनी उपराष्ट्रपति भान्सको ‘धोकेबाजहरूको अड्डा’सँग गरिएको युरोपियन युनियनको चित्रणलाई लिएर पनि असहमत छैनन् । भान्सको म्युनिख भाषणपछि मेलोनीले ‘मैले यही कुरा वर्षौँदेखि भन्दै आएकी छु, अर्थात् युरोप केही हदसम्म आफैँ रनभुल्लमा छ,’ समेत भनेकी थिइन् । वार्ताको नेतृत्व गर्ने समय आउने वेला युरोपियन युनियनका शक्तिशाली निर्णयकर्ताले मेलोनीमाथि विश्वास गर्छन् कि गर्दैनन् भन्ने प्रश्न उठ्छ । यसक्रममा मेलोनीका एक सल्लाहकारले ‘यहाँ ठुलो विडम्बना के छ भने दशकौँसम्म जर्मनी र फ्रान्स युरोपियन युनियनका अनौपचारिक प्रतिनिधि बनेर व्यवहार गर्थे, कसैले आपत्ति जनाएन,’ भनेका छन् । ‘तर, जब इटलीले त्यही भूमिका लिने कोसिस गर्छ, त्यो अचानक समस्या हुन्छ जबकि इटलीकी नेतृ वस्तुगत रूपमा ह्वाइट हाउससँग संवाद गर्न सबैभन्दा अनुकूल स्थानमा छिन्’ सल्लाहकार थप्छन् ।

मेलोनी एक नाजुक सन्तुलनमा हिँडिरहेकी छिन् । अमेरिकन कन्जर्भेटिभ पोलिटिकल एक्सन कन्फरेन्सकी नियमित पाहुना उनी ट्रम्पको उद्घाटन समारोहमा आमन्त्रित हुने एक मात्र युरोपेली नेतृ थिइन् । उनले ट्रम्पले शपथग्रहण गर्नु केही दिनअघि फ्लोरिडाको मार–अ–लागो पुगेर इटलीले अमेरिकी न्याय विभागको आग्रहमा गिरफ्तार भएका एक इरानी इन्जिनियरको रिहाइ गराउन ट्रम्पमाथि दबाब दिएकी थिइन् । किनभने इरानी इन्जिनियरको गिरफ्तारीको बदलामा एक इटालियन पत्रकारलाई इरानको जेलमा राखिएको थियो र अन्ततः दुवै बन्दीको साटासाट भयो ।

ट्रम्पले मेलोनीलाई ‘विश्वलाई अलिक ठिक पार्न सक्ने व्यक्ति’ भनेर प्रशंसा गरेका छन् र उनका सल्लाहकारले ट्रम्पसम्बद्ध सञ्जालमा बलियो सम्बन्ध बनाएका छन् । मेलोनीको एलन मस्कसँगको सम्बन्ध यति आत्मीय छ कि मस्कले एकपटक उनीहरूबिच प्रेमसम्बन्धको अफवाहको खण्डन गर्नु परेको थियो । मेलोनी इटालीको पहिलो उग्र–फासिस्ट नेतृ हुन् । केही वर्षअघिसम्म उनको पार्टी ब्रदर्स अफ इटालीले ब्रसेल्सका प्रशासकको कडा आलोचना गर्थ्यो र खुला रूपमा युरोजोन (युरोपियन युनियनको मुद्रा क्षेत्र) विघटनको वकालत गर्थ्यो । 

तर, सन् २०२२ मा मेलोनी सत्तामा आएदेखि परिस्थिति पूर्ण रूपमा परिवर्तन भएको छ । उनले युरोपियन युनियनप्रतिको आफ्नो कठोर धारणामा सुधार गरेकी छिन् र युरोपेली आयोगप्रति अपनाएको कडा भाषा त्यागेकी छिन् । युक्रेनप्रति उनको दृढ समर्थनले अन्य युरोपेली सरकारसँग उनको विश्वसनीयता बढेको छ र युरोप समर्थक नेताले समेत मेलोनीलाई भरपर्दो नेतृका रूपमा स्विकारेका छन् । प्रधानमन्त्रीका रूपमा दुई वर्षभन्दा बढी समय बिताउँदा मेलोनी एक समय युरोपियन युनियनका लागि खतरा मानिएकी थिइन्, तर अहिले उनी अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त युरोपेली नेतृ बनेकी छिन् (यद्यपि, धेरैले यो मान्यता अनिच्छापूर्वक दिएको भन्छन्) । उनले हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको शैली उल्ट्याएकी छिन्, अर्थात् ओर्बान बारम्बार राष्ट्रिय फाइदाका लागि युरोपियन युनियनका परियोजना अवरुद्ध गर्छन्, तर मेलोनीले त्यसका विपरीतको बाटो लिएकी छिन् ।

मेलोनीसँग युरोपियन युनियनसँग सहकार्य गर्नुका पछाडी व्यावहारिक कारण छन् । इटलीले अझै ‘नेक्स्ट जेनेरेसन’ कोषबाट ८१ अर्ब डलर पाउन बाँकी नै छ । उनले अल्बानियामा आप्रवासी राख्ने योजना लागू गर्न आयोगको समर्थनसमेत पाइन् र आफ्ना सहयोगी राफाएले फित्तोलाई आयोगको उपाध्यक्ष बनाइन् । ब्रसेल्ससँग उनको सम्बन्ध यति बलियो भइसकेको छ कि उनी राष्ट्रवादका नाममा त्यसलाई तोड्न सक्दिनन् । अहिले उनले युरोपप्रति निष्ठावान् नेतृको भूमिका खेलेर राजनीतिक फाइदा लिएकी छिन् । उनको वास्तविक शक्ति अब उनले कहिल्यै विश्वास नगरेका युरोपेली संस्थामै आधारित छ न कि अस्थायी लोकप्रियतावादी अमेरिकी नेतामा ।

(फेरारासी इटालीको दैनिकका लेखक हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट