
विकल पौडेल भ्रष्टाचारका तीन मुद्दामा दोषी ठहर
कुन मुद्दामा कति सजाय ?
सुरक्षण मुद्रणसम्बन्धी उपकरण खरिदमा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ भ्रष्टाचार भएको ठहर अदालतले गरेको छ । यसमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र आपूर्तिकर्ता अकबर हुसेनलाई दोषी ठहर गर्दै सजाय सुनाइएको हो ।
विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले आइतबार उपकरण खरिदमा सरकारलाई ४० करोड ७५ लाख रुपैयाँभन्दा बढी नोक्सानी पुर्याएको अभियोगमा सजाय तोकेको हो । संक्षिप्त फैसलामा उल्लेख भएअनुसार कसुरको प्रकृति, पदीय हैसियत तथा कसुरमा संलग्नतासमेत विचार गरी विकललाई एक वर्ष ६ महिना कैद र कार्यकारी निर्देशकको पदीय हैसियतले थप ६ महिना कैद तोकिएको छ । साथै पौडेलले बिगोको दामासाहीले हुन आउने १३ करोड ५८ लाख रुपैयाँ जरिवाना बुझाउनुपर्नेछ । उक्त रकम असुलउपरसमेत हुने फैसलामा छ । हाल कारागारमा रहेका पौडेल यसअघि भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर भइसकेका छन् ।
आपूर्तिकर्ता म्याक्स इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुसेनलाई एक वर्ष ६ महिना कैद सजाय र १३ करोड ५८ लाख रुपैयाँभन्दा बढी जरिवाना र बिगो असुलउपरको फैसला भएको छ । म्याक्स इन्टरनेसनललाई पनि १३ करोड ५८ लाख जरिवाना र बिगो असुलउपरको फैसला भएको छ ।
अपराध पीडित संरक्षण ऐनअनुसार तीनैजना प्रतिवादीबाट जनही ५४ लाख ३४ हजार रुपैयाँ क्षतिपूर्ति शूल्कबापत राहत कोषमा दाखिला गर्नुपर्ने फैसला भएको छ । यस मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका लेखा अधिकृत खड्गबहादुर थापा र शाखा अधिकृत हरिबल्लभ घिमिरेले सफाइ पाएका छन् । उनीहरू खरिद प्रक्रियामा सामेल भए पनि निर्णायक भूमिका नरहेको तथा पदीय दायित्वबमोजिमको कार्य गरेकाले सफाइ दिइएको फैसलामा छ ।
व्यापारीबाट स्पेसिफिकेसन मगाएर खरिद
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष ३० वैशाखमा यो मुद्दा दायर गरेको थियो । मुद्रण केन्द्रका लागि आवश्यक सफ्टवेयर र उपकरण खरिद गर्दा केही विशेष कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी सीमित व्यक्तिलाई फाइदा पुर्याएको उजुरी अख्तियारमा परेपछि यसमाथि छानबिन भएको थियो ।
दुईवटा छुट्टाछुट्टै कार्यक्रमका लागि सञ्चार मन्त्रालयबाट बजेट आउनु र गुरुयोजनाअनुरूप खरिद प्रक्रिया अगाडि बढाउनुलाई अन्यथा मान्न नमिल्ने फैसलामा छ । ‘तर, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक निज प्रतिवादी विकल पौडेलले समग्र खरिद प्रक्रियाका प्रायः सबै चरणमा आफैँ सक्रियता लिई माथि उल्लिखित दुई छुट्टाछुट्टै शीर्षकअन्तर्गतको बजेटलाई एउटै प्याकेज बनाई खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रमभन्दा बाहिर गई पेपर बेस्ड र कार्ड बेस्ड प्रिन्टिङ मेसिन खरिदका लागि विनियोजित बजेट एकै शीर्षकभित्र पारी दुईवटा पेपर बेस्ड मेसिन खरिद गरेको देखिन आउँछ,’ संक्षिप्त फैसलामा उल्लेख छ ।
यसरी एकै प्रकारको दुईवटा मेसिन खरिद गर्नु, मेसिनको स्पेसिफिकेसन तयार पार्ने, लागत अनुमान तयार गर्ने, बोलपत्रसम्बन्धी कागजात तयार गर्ने, कागजातहरू स्वीकृत गर्ने, प्रि–बिड मिटिङ राखी संशोधन गर्ने र बोलपत्र मूल्यांकन समितिको संयोजक भई र प्राविधिक मूल्यांकन उपसमिति गठन गरी संयोजकमा आफैँ बस्नेजस्ता कार्य सार्वजनिक खरिदको स्थापित मूल्य–मान्यताविपरीत रहेको निष्कर्ष विशेषको छ । कार्यकारी निर्देशक पौडेल बदनियतपूर्वक आफैँ खरिद प्रक्रियामा सहभागी भएको र उनमा इमानदारी, जवाफदेहिता र कानुनको परिपालना नदेखिएको विशेषको संक्षिप्त फैसलामा छ ।
फैसलामा भनिएको छ, ‘...उपसमितिको संयोजकमा आफैँ बसी प्रतिवेदन दिई सो प्रतिवेदनउपर निर्णय लिने तथा ठेक्का सम्झौता गर्ने एवं बोलपत्र मूल्यांकनको विषयमा पुनरावलोकनका लागि परेका निवेदनमा समेत आफैँले जवाफ दिने र सार्वजनिक खरिद गर्दा विषयसम्बद्ध प्राविधिक जनशक्तिको सहभागितामा समेत अनावश्यक हस्तक्षेप गरी अवलम्बन गर्नुपर्ने कानुनी प्रक्रिया एवं सार्वजनिक खरिदका स्थापित मूल्य–मान्यताविपरीत कार्यहरू गरेको देखिन्छ ।’
खरिद कार्यमा अतिरिक्त रूपमा गठन गर्नुपर्ने इकाइ पनि गठन भएको थिएन । खरिद माग संकलन सम्भाव्यता अध्ययन, विस्तृत अध्ययन तथा अन्य कार्य पनि नगरिएको ठहर विशेषको छ । पौडेलले दुईवटा छुट्टाछुट्टै उपकरण खरिद गर्नुपर्नेमा बदनियतपूर्वक एउटा खरिद कार्यमा दुवै शीर्षकको बजेट खर्च गरेको भन्दै भुक्तानी भएअनुसारको सजाय सुनाइएको हो ।
यसैगरी म्याक्स इन्टरनेसनलका सञ्चालक हुसेनले खरिद कार्यको प्रारम्भदेखि नै पौडेलसँग मिलेमतो गरेको विशेषको ठहर छ । उनले आफू र श्रीमतीका नाममा रहेको कम्पनीबाट स्पेसिफिकेसन र दरभाउ उपलब्ध गराएको तथा आफ्नो कम्पनीबाट उक्त खरिद कार्य गराउन सम्पूर्ण कार्य गरेको संक्षिप्त फैसलामा छ । व्यवसायी हुसेन सत्तानिकट भएर आइटीका ठुला ठेक्का हत्याउँदै आएका छन् । आइटीकै व्यापारबाट उनले कमलादीमा आइटी प्लाजासमेत स्थापना गरेका छन् ।
गैरकानुनी सम्पत्तिसहित तीन मुद्दा विचाराधीन
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध तीन मुद्दा भने अदालतमा विचाराधीन छन् । अख्तियारले गत वर्ष ९ जेठमा गैरकानुनी रूपमा आर्जित सम्पत्ति आफू र आफ्ना परिवारका नाममा राखेको दाबीसहित मुद्दा दायर गरेको थियो । उनको अवैध सम्पत्ति ६२ करोड रुपैयाँ रहेको दाबी अभियोगपत्रमा छ । त्यस्तै, उनीमाथि गत वर्ष १४ असोजमा राजस्व अनुसन्धान विभागले पनि मुद्दा चलाएको थियो । विदेशी विनियम अपचलन कसुरमा पौडेलका साथै पत्नी एलिना बस्नेतलाई प्रतिवादी बनाई एक अर्ब ८३ करोड रुपैयाँभन्दा बढी जरिवाना र सजाय मागदाबीसहित मुद्दा चलाएको हो । उनले राष्ट्र बैंकको अनुमतिविना नै विदेशी बैंकमा खाता खोलेको र कारोबार गरेको भेटिएपछि मुद्दा चलाइएको थियो ।
पौडेलले भ्रष्टाचारबाट आर्जित सम्पत्ति हुन्डीबाट अमेरिका पठाएको भेटिएको थियो । जसपछि केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा चलाएको हो । एक करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम पठाएको भन्दै बिगोको तीन गुणा जरिवाना तथा सजाय माग्दै गत वर्ष ७ असोजमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको हो । अख्तियारले गत वर्ष उनलाई करिब तीन महिना हिरासतमा राखेर अनुसन्धान गरेको थियो । जसक्रममा उनको सिंगापुरको बैंकमा समेत पैसा भेटिएको थियो । दुबई र अमेरिकामा समेत उनले सम्पत्ति लुकाएको सूचना पाएपछि ती देशले अनुसन्धानमा सहयोग नगरेको अख्तियारका अधिकारी बताउँछन् ।