
गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार मधेशलाई सुपर ओभरमा पराजित गरेको छ । सिद्धार्थनगरमा भएको ३८औँ खेलमा पहिलो ब्याटिङ गरेको मधेशले ५० ओभरमा सात विकेट गुमाएर २४६ रन बनाएको थियो । प्रत्युत्तरमा गण्डकीले ४९.५ ओभरमा सबै विकेट गुमाएर २४६ रन बनाएपछि खेल टाई भयो ।
गण्डकीलाई जितका लागि अन्तिम बलमा दुई रन चाहिएको थियो । मधेशका विशाल पटेलले बलिङ गरेका थिए । ब्याटिङमा गण्डकीका सन्दीप पराजुली क्रिजमा थिए । गण्डकीसँग अन्तिम ओभरमा एक विकेट बाँकी थियो । विशालले वाइड फ्याँक्दा स्कोर बराबरी भइसकेको थियो । तर, जितका लागि आवश्यक एक रन लिने प्रयासमा सन्दीप रनआउट हुँदा गण्डकी अलआउट भएको भयो । यससँगै खेल टाई भएको हो । सुपर ओभरमा गण्डकीले पहिलो ब्याटिङ गर्यो । गण्डकीले एक ओभरमा २२ रन जोड्यो । २३ रनको लक्ष्य पछ्याएको मधेशले केवल नौ रन मात्र बनाउँदा गण्डकीले बाजी मारेको हो । गण्डकीका लागि सुपर ओभरमा अमृत गुरुङले पाँच बलमा तीन चौकाको सहयोगमा १३ रन बनाए । ओपनर सुदीप अर्यालले दुई बलमा एक छक्का प्रहार गरी ६ रन जोडे । मधेशका लागि रूपेश सिंहले ६ रन तथा पवन सर्राफले तीन रन बनाए ।
अर्जुनको शतकीय इनिङ्स
यसअघि नियमित ओभरमा गण्डकीका अर्जुन कुमालले शतकीय योगदान दिएका थिए । प्रधानमन्त्री कपमा उनको यो पहिलो शतक हो । उनले १०६ रन बनाउन १४० बलमा १० चौका र १ छक्का प्रहार गरेका थिए । चालू जारी प्रतियोगितामा यो चौथो शतक हो । यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले दुई शतक प्रहार गरिसकेका छन् । त्रिभुवन आर्मी क्लबका तृतराज दासले शतकीय इनिङ्स खेलेका छन् ।
गण्डकीको ब्याटिङमा अर्जुनबाहेक अन्य ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् । इनिङ्सका ३.२ ओभर र ४.४ ओभरमा गण्डकीले विकेट गुमाउँदा १२–२ को योगफल खडा गरेको थियो । त्यसपछि अर्जुनलले दिनेश बुढामगरसँग चौथो विकेटका लागि ११० रनको साझेदारी गर्दै टोलीलाई ३०.४ ओभरमा टोलीलाई १२६–४ को स्थितिमा राखे ।
यसैगरी, कप्तान विपिन खत्रीले २३ बलमा समान एक चौका र छक्का प्रहार गरी २६ रन जोडे । सुदीपले नटआउट रहँदै २३ बलमा ३४ रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरे । मधेशले गण्डकीलाई १९ अतिरिक्त रन दिएको थियो । मधेशका विशाल पटेलले चार विकेट लिए । पहिलो ब्याटिङ गरेको मधेशका ओपनर रोहन विकले ९८ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ६४ रनको योगदान दिए । मधेशको ब्याटिङमा तीन खेलाडीले अर्धशतकीय इनिङ्स खेले । हरिशंकर साहले १०२ बलमा ५१ रन तथा रूपेश सिंहले ३२ बलमा चार चौका र ३ छक्का प्रहार गरी ५१ रन बनाए ।
एपिएफले आर्मीलाई दबाब दिँदै
विभागीय टोली नेपाल एपिएफले नेपाल पुलिस र त्रिभुवन आर्मीलाई शीर्ष दुई स्थानमा दबाब दिएको छ । छैटौँ जितका साथ एपिएफ तेस्रो स्थानमा रह्यो । पुलिस र आर्मीले समान १४ अंक जोडेका छन् । रनरेटमा पुलिस शीर्ष स्थानमा छ । सिद्धार्थनगरमै भएको खेलमा एपिएफले लुम्बिनीलाई सात विकेटले हरायो । पहिलो ब्याटिङ गरेको एपिएफले आठ विकेट गुमाएर २२३ रन जोडेको थियो । प्रत्युत्तरमा एपिएफले ४१.५ ओभरमा तीन विकेटको क्षतिमा २२४ रन बनाएको थियो । अर्को खेलमा बागमतीले कर्णालीमाथि नौ विकेटको जित निकालेको छ ।