मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
२o८२ असोज २ बिहीबार २o:o१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

पोखरा आइपुगे हिमाली क्षेत्रका भेडा च्याङ्ग्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार २o:o१:oo

दसैँ तथा तिहारलाई लक्षित गरी हिमाली क्षेत्रबाट भेडा च्याङ्ग्राहरु पोखरा ल्याउने क्रम सुरु भएको छ। हाल पोखरामा ८–१० हुल भेडा च्याङ्ग्रा आइसकेका छन्।

प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, बझाङ, बाजुरालगायतका जिल्लासँगै छिमेकी देश चीनका व्यापारीहरुले पनि पोखरासम्म भेडा च्याङ्ग्रा ल्याउने गर्छन्। यस वर्षको दसैँ नजिकिएसँगै व्यापारीहरुले बिक्रीका लागि भेडा च्याङ्ग्रा पोखरा ल्याएका हुन्। हिमाली क्षेत्रको जडिबुटि खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदाजनक हुने भन्दै प्रायः उपभोक्ताहरुले भेडाच्याङ्ग्रा रोज्छन्। पोखरा ल्याइएका प्रति गोटा च्याङ्ग्रालाई व्यापारीले हाल ४५ देखि ५० हजारसम्म मूल्य बताएका छन्।

जोमसोमको घिलिङदेखि १४० च्याङ्ग्रा बिक्रीका लागि पोखरा ल्याएका पोखरा– २५ हेम्जाका व्यापारी सुकबहादुर तामाङले आफूहरुले प्रति गोटा ३८ देखि ४० हजार तिरेर तीन–चार वटा गोठबाट खरिद गरेकाले  पोखरा ल्याउँदा ४५ देखि ४८ हजारसम्ममा बिक्री गरेको बताए। खरिद गरिएको एक गोटाको नेट मासु २० देखि २२ किलो बस्ने उनले बताए। गत वर्षको तुलनामा यस वर्ष ग्राहकलाई प्रति गोटा चार–पाँच हजार मूल्य कम पर्ने उनले बताए। यस वर्ष १२ हजार हराहारीमा भेडा च्याङ्ग्राहरु पोखरा ल्याइने उनले बताए। उनका अनुसार भेडा च्याङ्ग्रा खरिदका लागि पोखरासँगै काठमाडौं र बुटबलका व्यापारीहरु पनि मुस्ताङ पुगेका छन्।

अर्का व्यापारी पोखरा हेम्जाका ऋषिराम पौडेलले उपल्लो मुस्ताङबाट १६० च्याङ्ग्रा ल्याएका छन्। ४५ हजारमा खरिद गरेर ल्याएको च्याङ्ग्रा पोखरा ल्याइपुर्याउदा प्रति गोटा ५० हजारसम्म परेको उनले बताए। बिक्री गर्दा च्याङ्ग्राको आकार र तौल हेरेर ४५ देखि ५० हजारसम्म लिने उनको भनाइ छ। उनले भने गत वर्षको तुलनामा यस वर्ष तीन– चार हजार मूल्य बढी तिरेकाले यस वर्ष मूल्य केही बढ्ने बताए।

मुस्ताङस्थित चिनियाँ नाका खुले पनि भेडाच्याङ्ग्रा नआएका कारण मुस्ताङमा नै मूल्य बढी परेको व्यापारीको भनाइ छ। यसअघि मुस्ताङबाट चार–पाँच दिन लगाएर म्याग्दी ल्याएर त्यहाँबाट गाडीमा ल्याउने गरेकोमा यस वर्षदेखि मुस्ताङबाट सिधै गाडीमा राखेर नौदेखि १० घण्टाको विचमा पोखरा ल्याइपुर्याएको व्यापारीको भनाइ छ।

व्यापारीहरुले पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलसँगै १ र २५ मा पर्ने पोखरा–बाग्लुङ राजमार्गको सडक किनारमा राखेर बिक्री वितरण गर्छन्। यस वर्ष सबैतिरबाट गरी पोखरामा करिव १५ हजार बढी भेडा च्याङ्ग्रा आउने व्यापारीहरुको अनुमान छ।

विशेष गरीे पोखरामा फूलपातीको दिन भेडा च्याङ्ग्रा बढी विक्री हुने गरेको छ। पोखराको पुरानो टुँडिखेलमा भेडा च्याङ्ग्राहरु बिक्रिका लागि राखिन्छ। त्यहाँ ठुलो मेलासमेत लाग्ने गर्छ। पोखरामा आएकामध्ये दुई तिहाई च्याङ्ग्रा स्थानीयस्तरमै बिक्रि हुने र बाँकी काठमाडौं, धादिङ, तनहँु, स्याङ्जा, चितवन, बुटबल, धरान, पाल्पालगायत देशका विभिन्न जिल्लाहरुमा लैजाने गरिन्छ।