
आशुतोष शर्माले ३१ बलमा ६६ रनको आक्रामक इनिङ्स खेलेपछि सोमबार दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ । आइपिएल इतिहासमा दिल्लीले पहिलोपटक दुई रनमाथिको लक्ष्य सफलतापूर्वक पार गरेको हो । पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर दुई सय ९ रन जोडेको थियो । प्रत्युत्तरमा दिल्लीले १९.३ ओभरमा नौ विकेटको क्षतिमा २११ रन जोड्दै सनसनी जित निकालेको हो ।
आशुतोषले समान पाँच चौका र छक्का प्रहार गरेका थिए । लक्ष्य पछ्याएको इनिङ्समा दिल्लीले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । त्यसपछि कप्तान अक्षर पटेलले २२ रन, स्टुबासले २२ बलमा ३४ रन र विप्राज निगमले १५ बलमा ३९ रन जोडेपछि दिल्लीले जितको आधार बनायो । निगमले पाँच चौका र दुई छक्का प्रहार गरे । आशुतोष र निगमले सातौँ विकेटका लागि २२ बलमा ५५ रनको साझेदार गरेका थिए ।
यसअघि पहिलो ब्याटिङ गरेको लखनउका लागि मिचले मार्स र निकोलास पुरनले आक्रामक खेल देखाए । लखनउले पहिलो विकेट ४६ रनमा गुमाएको थियो । त्यसपछि पुरन र मार्सले दोस्रो विकेटका लागि ४२ बलमा ८२ रनको साझेदारी गरेका थिए । मार्सले ३६ बलमा समान ६ चौका र छक्का प्रहार गरी ७२ रन बटुले । निकोलासले ३० बलमा ६ चौका र ७ छक्का प्रहार गरी ७५ रनको योगदान दिए ।
मार्सले केवल २१ बलमा अर्धशतकीय इनिङ्स खेलेका थिए । दुवैले १९ बलमा ५० रनको साझेदारी गरेका थिए । लखनउले १२.४ ओभरमा १५० रन पुरा गरेको थियो । १९.५ ओभरमा लखनउले दुई सय रन जोडेको थियो । सो ब्याटिङ इनिङ्समा डेभिड मिलरले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरी २७ रन जोडे ।