१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत ५ मंगलबार o८:५२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप : उत्कृष्ट लयमा स्पिनर ललित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार o८:५२:oo

नेपाल पुलिस क्लबका स्पिनर ललितनारायण राजवंशीले प्रधानमन्त्री एकदिवसीय (पिएम) कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ललितले लगातार तीन खेलमा पाँचभन्दा बढी विकेट लिएपछि पुलिसले पिएम कपमा शतप्रतिशत नतिजा निकालेको छ । प्रतियोगिताको सोमबार २१औँ खेलमा पुलिसले सुदूरपश्चिमलाई ६१ रनले हराएको छ । प्रतिस्पर्धामा ललितले १५ रन खर्चेर सुदूरपश्चिमका पाँच खेलाडीलाई आउट पारे । यसअघि उनले मधेशविरुद्ध २८–५ र एपिएफसँगको खेलमा १८–६ को प्रदर्शन गरेका थिए । उनले पाँच खेलमा २१ विकेट लिएका छन्

सुदूरपश्चिमविरुद्धको जितसँगै पुलिसले शीर्ष स्थान बलियो बनाएको छ । पुलिसले पाँचै खेलमा जित निकालेर १० अंक जोडेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मीले पाँच खेलमा जित हात पारी १० अंक जोडेको छ । रनरेटमा पुलिस शीर्ष स्थानमा रहेको हो । लुम्बिनी प्रदेश आठ अंकका साथ तेस्रो र ६ अंक जोडेको नेपाल एपिएफ चौथो स्थानमा झरेको छ । 

पुलिसको मध्यम योगफल
सिद्धार्थनगर रंगशालामा पहिलो ब्याटिङ गरेको पुलिस अस्वाभाविक रूपमा ४७ ओभरमा १६० रनमा अलआउट भयो । १६१ रन रक्षा गर्ने क्रममा पुलिसले सुदूरपश्चिमलाई २८.३ ओभरमा ९९ रनमा समेट्यो । सुदूरपश्चिमविरुद्ध ललितले सात ओभर बलिङ गरेका थिए । उनले प्रतिओभर २.१६ इकोनोमी फ्याँके । यसैगरी, सागर ढकालले ६.३ ओभरमा २१ रन दिएर दुई तथा करण केसीले १७ रनमा एक विकेट लिएपछि पुलिसले मध्यम योगफल रक्षा गरेको हो । सुदूरपश्चिमको ब्याटिङमा मिलन बोहराले २३ रन तथा शेर मल्लले सर्वाधिक ३२ रन जोडेका थिए । आठजना खेलाडीले दोहोरो रन नै बनाएनन् । 

यसअघि ब्याटिङ गरेको पुलिसविरुद्ध सुदूरपश्चिमका सूर्य श्रेष्ठले घातक बलिङ गरेका थिए । उनले १० ओभरमा ४३ रन खर्चेर महŒवपूर्ण चार विकेट हात पारेका थिए । यसैगरी, भोजराज भट्टले ३२ रनमा तीन तथा सेर मल्लले २२ रनमा दुई विकेट हात पार्दा पुलिसको बलियो ब्याटिङ कमजोर बन्यो । पुलिसका लागि आरिफ सेखले ६४ बलमा ४० रन तथा कप्तान दीपेन्द्रसिंह ऐरीले ४७ बलमा ४२ रन बनाए । 

आर्मीको लगातार पाँचौँ जित
पुलिसलाई शीर्ष स्थानमा दबाब राख्ने क्रममा आर्मीले भैरहवामा भएको खेलमा एपिएफलाई तीन विकेटले हराएको छ । पहिलो ब्याटिङ गरेको एपिएफले ४२.३ ओभरमा सबै विकेटको क्षतिमा १४१ रन बनाएको थियो । प्रत्युत्तरमा आर्मीले ४२.५ ओभरमा सात विकेट गुमाएर १४५ रन जोड्यो । आर्मीको यो लगातार पाँचौँ जित हो । आर्मीको जितमा सोमपाल कामीले अलराउन्ड प्रदर्शन गरेका थिए । उनले बलिङमा ३४ रन खर्चेर तीन विकेट र ब्याटिङमा ५१ बल सामना गरी २२ रन बनाए । आर्मीको ब्याटिङमा सन्दीप जोराले ९१ बलमा ६५ रन बनाएका थिए । आर्मीका लागि कुशल मल्लले ५९ बलमा ३१ रन तथा विवेक यादवले २९ बलमा २६ रन बटुले ।