
जहाजको सम्पूर्ण परीक्षण तथा मर्मतसम्भारलाई एयरक्राफ्ट भाषामा सी–चेक भनिन्छ । सौर्य एयरलाइन्सको जहाज सी–चेककै लागि बुधबार पोखरा लगिँदै थियो । कम्पनीका अध्यक्ष दीपक पोखरेलका अनुसार क्यानको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ह्यांगरमा सी–चेक गर्न एप्रुभल लिएकाले जहाज पोखरा पठाइएको हो । प्रत्येक दुई वर्षमा सी–चेक गर्नुपर्ने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल बताउँछन् । उनका अनुसार सौर्यले जहाज बिग्रिएर मर्मत गर्न नभई नियमित रूपमा गरिने सम्पूर्ण परीक्षणका लागि पोखरा पठाएको थियो ।
‘दुर्घटनामा परेको जहाजको अझै ११९ घण्टा फ्लाइङ आवर थियो, त्यसपछि सी–चेक गर्दा पनि हुन्थ्यो,’ भुलले भने, ‘जहाजको सम्पूर्ण परीक्षणका लागि २५ दिन समय लाग्छ, अहिले अफसिजन छ, दसैँ–तिहारको व्यस्त सिजनमा जहाज ग्राउन्डेड गरेर सी–चेक गर्नुभन्दा कम्पनीले पहिल्यै सी–चेक गर्न अनुमति मागेको थियो ।’ दुर्घटनामा परेको जहाज पछिल्लोपटक २६ अप्रिल २०२४ मा चेकजाँच र मर्मत गरिएको क्यानले जनाएको छ । एयरलाइन्सको एयरवर्थिनेस सर्टिफिकेट (उडान योग्यताको प्रमाणपत्र)समेत अप्रिल २०२५ सम्म एक्टिभ रहेको उनको भनाइ छ । त्यसैले छानबिन तथा अनुसन्धानविना जहाजमाथि कैफियत देखाइहाल्न नमिल्ने उनले बताए ।
यसअघि सौर्य एयरलाइन्सले विदेशमा लगेर जहाजको सी–चेक गर्दै आएको थियो । तर, स्वदेशमै सी–चेक गराउँदा खर्च पनि कम लाग्ने भएकाले आफ्नै प्राविधिक र विदेशी प्राविधिक झिकाएर यहीँ गर्न थालेको थियो । जहाज मर्मतसम्भारका लागि त्रिभुवन विमानस्थलमा बुद्ध एयर, नेपाल वायुसेवा निगम र आर्मीको आफ्नै ह्यांगर छन् । नियामक निकाय क्यानको ह्यांगर भने पोखरा र नेपालगन्जमा छन् । आफ्नै ह्यांगर नहुने वायुसेवा कम्पनीले त्यहीँ लगेर मर्मतसम्भार गर्छन् । आफ्नै ह्यांगर नभएको सौर्यले पनि क्यानसँग एप्रुभल लिएर जहाज सी–चेकका लागि पोखरा लैजान लागेको थियो ।
सौर्यसँग अब एउटा मात्र जहाज, उडान अनिश्चितकालका लागि रद्द
सौर्यसँग जेट इन्जिन बम्बार्डियर सिआरजे– २०० सिरिजका तीन जहाज थिए । एउटा लामो समयदेखि ग्राउन्डेड छ, जसका कतिपय पार्टपुर्जा झिकेर अन्य जहाजको मर्मतमा प्रयोग गरिएको छ । नियमित उडानमा रहेको एउटा जहाज बुधबारको दुर्घटनामा ध्वस्त भयो । अब नियमित उडानका लागि एउटा मात्र जहाज छ ।
कम्पनीका अध्यक्ष दीपक पोखरेलका अनुसार तीनवटा एटिआर जहाज ल्याउने योजना छ । यसका लागि पर्यटन मन्त्रालयबाट स्वीकृति पाइसकेको छ । दुर्घटनासँगै सौर्यले आफ्ना नियमित उडान अनिश्चितकालका लागि रद्द गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस एयरलाइन्सका सम्पूर्ण उडानहरू अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि रद्द गरिएको छ ।’ सौर्यले दैनिक विराटनगर तीन र भद्रपुरमा तीन उडान गर्दै आएको थियो । यी उडान नियमित गर्न कम्तीमा दुई जहाज आवश्यक पर्छ । त्यस्तै, दुर्घटनामा जहाजसँगै उच्च व्यवस्थापक, पाइलट र ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी गुमाएकाले जनशक्तिको अभाव खड्किने देखिन्छ ।