वर्षायाममा धेरै पानी पर्ने भएकाले हल्का कपडा लगाउनु राम्रो हुन्छ । कटन र मलमलका कपडा निकै हल्का हुन्छन् र पानीले भिजिहाले पनि चाँडै सुक्छन् । बजारमा कटनका हाफपाइन्ट, वानपिस, कुर्थीलगायत धेरै स्टाइलिस कपडा पाइन्छन् ।
पानी नपरेका वेला गर्मी अत्यधिक हुने भएकाले पनि यस्ता कपडा यो मौसममा राम्रो हुन्छ । कटनको कपडा निकै हल्का हुन्छ र यसमा हावा मज्जाले छिर्छ । जसकारण, शीतल महसुस गराउँछ ।
खादीको कपडा पनि यस मौसममा निकै राम्रो हुन्छ । यो कपडा चाँडै खुम्चँदैन, हल्का र हावा छिर्ने खालको हुन्छ । त्यस्तै, चाँडै सुक्छ । कार्यस्थल वा घुमघाममा जाँदा पनि यसबाट बनेका कपडा लगाउन सकिन्छ ।
डेनिमका कपडा यस सिजनमा नलगाउनु राम्रो हुन्छ । किनकि, भिजिसकेपछि सुक्न समय लाग्छ । जतिखेर पनि पानी पर्न सक्ने भएकाले लामो–लामो ड्रेस नलगाउने, प्रि–क्वार्टर, क्वार्टर, हाफपाइन्ट लगाउने गर्दा राम्रो हुन्छ ।
यस मौसममा पसिना धेरै बग्ने भएकाले धेरै टाइट कपडा लगाउँदा असहज महसुस हुन सक्छ । त्यसैले हल्का ओभरसाइज कपडा लगाउनु राम्रो हुन्छ । अहिले बजारमा पनि ओभरसाइज वानपिसहरू धेरै चलेको पाइन्छ । टिनएजरलाई यस्तो निकै सुहाउँछ ।