
चालू आर्थिक वर्षको ११ महिनामा २० वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह तीन खर्ब ७६ अर्ब २९ करोड रुपैयाँले बढेको छ । त्यसमा जेठ महिनामा मात्रै ३६ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह बढेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको हो ।
गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह ४५ खर्ब ७० अर्ब ९१ करोड थियो । चालू आवको जेठ मसान्तसम्म आउँदा त्यो ८.२३ प्रतिशतले बढेर ४९ खर्ब ४७ अर्ब २० करोड पुगेको छ । गत वैशाख मसान्तसम्म भने वाणिज्य बैंकहरूले ४९ खर्ब १० अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालू आवमा १२.५ प्रतिशतले कर्जा बढ्ने प्रक्षेपण गरेको छ । तर, चालू आव सकिन एक महिना मात्रै बाँकी रहँदा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.२३ प्रतिशतमा सीमित रहेको छ ।
आर्थिक वर्षान्तका कारण बैंकहरूले असार महिनामा त्यति धेरै कर्जा प्रवाह गर्दैनन् । यो समयमा कर्जा प्रवाहभन्दा असुलीमा बढी ध्यान दिइन्छ । सोहीअनुसार यो वर्ष पनि लक्ष्यअनुसार कर्जा प्रवाह नहुने देखिन्छ ।
कर्जा प्रवाहमा वाणिज्य बैंकहरूको हिस्सा करिब ९० प्रतिशत छ । तर, वाणिज्य बैंकहरूको कर्जा प्रवाह लक्ष्यअनुसार नभएको तथ्यांकले पुष्टि गरेको छ । यद्यपि, गत आवको तुलनामा भने कर्जा प्रवाह सन्तोषजनक मान्नुपर्ने बैंकरहरू बताउँछन् । आर्थिक शिथिलताका कारण विगत दुई वर्षयता कर्जा प्रवाह न्यून छ । ब्याजदर घटाउँदा पनि बैंकमा पैसा थ्रुपिएको अवस्था छ ।
चालू आवको पहिलो महिना साउनमा दुई अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको थियो । यसैगरी, भदौमा ५३ अर्ब रुपैयाँ र असोजमा ५६ अर्ब रुपैयाँले बढेको कर्जा प्रवाह कात्तिकमा दुई अर्ब रुपैयाँले घटेको थियो । त्यसपछि मंसिरमा ४२ अर्ब रुपैयाँ, पुसमा ९४ अर्ब रुपैयाँ, माघमा १२ अर्ब रुपैयाँ, फागुनमा २३ अर्ब र चैतमा ६५ अर्ब रुपैयाँ बढेको कर्जा प्रवाह वैशाखमा भने चार अर्ब रुपैयाँले घटेको थियो । गत जेठमा भने त्यो ३६ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको हो ।
पाँच खर्ब बढ्यो निक्षेप
समीक्षा अवधिमा वाणिज्य बैंकहरूमा भएको निक्षेप पाँच खर्ब तीन अर्ब ३९ करोड रुपैयाँले बढेको छ । गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरूमा ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ निक्षेप थियो । जेठ मसान्तसम्म आउँदा त्यो ८.७५ प्रतिशते बढेर ६२ खर्ब ५८ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
बढ्दो रेमिट्यान्सका कारण पछिल्लो समय बैंकहरूमा निक्षेप बढेको छ । चालू आवको जेठमा मात्रै एक खर्ब १५ अर्ब रुपैयाँले निक्षेप बढेको छ । उच्च रेमिट्यान्स आप्रवाहसँग आर्थिक वर्षान्तका कारण सरकारले खर्च पनि बढाएको छ । त्यसले गर्दा जेठमा निक्षेप संकलन उच्च देखिएको हो ।
चालू आवको पहिलो महिना साउनमा ३९ अर्ब रुपैयाँले निक्षेप घटेको थियो । त्यसपछि भदौमा ७३ अर्ब रुपैयाँ र असोजमा एक खर्ब ३३ अर्ब रुपैयाँले निक्षेप बढ्दा कात्तिकमा १९ अर्ब रुपैयाँले घटेको थियो । त्यसपछि मंसिरमा ३३ अर्ब, पुसमा ५१ अर्ब रुपैयाँ, माघमा नौ अर्ब रुपैयाँ र फागुनमा ४० अर्ब रुपैयाँले निक्षेप बढेको थियो । त्यसपछि चैतमा ८३ अर्ब रुपैयाँ, जेठमा २३ अर्ब रुपैयाँ र जेठमा एक खर्ब १५ अर्ब रुपैयाँले निक्षेप बढेको देखिन्छ ।