Read Time : > 1 मिनेट
२o८o बैशाख ११ सोमबार १o:५o:oo
बच्चालाई ज्वरो आउनेबित्तिकै अभिभावक आत्तिएर अस्पताल लगिहाल्ने गरेको पाइन्छ । तर, कुन अवस्थामा अस्पताल लैजाने र कुन अवस्थामा नलाने भन्ने जान्न आवश्यक छ । खासगरी, बालबालिका भाइरल ज्वरोबाट धेरै नै प्रभावित हुने गर्छन् ।
उनीहरूमा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, टाइफाइड, जन्डिस, निमोनिया आदि विभिन्न रोगको संक्रमण हुने गर्छ ।भाइरसबाट हुने रुघाखोकी एक व्यक्तिबाट अर्कोमा एकदमै छिटो सर्ने गर्छ । घरमा कसैमा रुघाखोकी लागेमा बच्चाहरू छिटै प्रभावित हुने गर्छन्, जसले गर्दा ज्वरो आउन सक्छ । त्यसकारण ज्वरो आउँदा केही सतर्कताका विधिहरू अपनाएर सुरक्षित हुन सकिन्छ ।
के गर्ने, के नगर्ने ?
- बच्चालाई १०२, १०३ डिग्रीसम्म ज्वरो आयो भने पानीपट्टी लगाएर घरमै ज्वरो घटाउन सकिन्छ । यति गर्दा पनि ज्वरो कम भएन भने नजिकको अस्पताल लैजाने ।
- घरमा अनिवार्य ज्वरो नाप्ने यन्त्र र सिटामोल राख्नुपर्छ । ज्वरो आएमा तत्काल पारासिटामोल खुवाउने ।
- कतिपय बच्चा धेरै ज्वरो आउँदा बेहोस हुने सम्भावना हुन्छ । तर, ज्वरोमा तापक्रम ९९ डिग्रीभन्दा कम छ भने आत्तिनुपर्दैन ।
- बच्चाले पानी कम पिउँछन् । पर्याप्त पानी पिउन लगाउनुपर्छ ।
- पारासिटामोल सिरप खुवाएर पनि ज्वरो घटाउन सकिन्छ । नत्र ज्वरोको कारण पत्ता लगाएर मात्रै अरू औषधि दिइन्छ ।
- आत्तिएको खण्डमा बच्चा लड्ने तथा खाटबाट खसेर चोटपटक लाग्ने सम्भावना हुन्छ । यस्तो वेला होसियार हुनुपर्छ ।
- बच्चालाई उत्तानो पारेर राख्दा थुक वा अरू केही सर्किने सम्भावना हुन्छ, जुन अत्यन्तै खतरनाक हुन सक्छ । त्यसैले बच्चालाई ज्वरो आएको वेलामा देब्रेतिर फर्काएर सुताउनुपर्छ ।
- मनतातो पानी वा चिसो पानीमा नरम कपडा भिजाएर टाउको र पाइतालामा राखिदिनुपर्छ । यसो गर्दा तापक्रम घट्छ ।
- बच्चालाई आमाको दूध प्रशस्तै खुवाउनुपर्छ । बालबालिकालाई पनि झोलिलो खानेकुरा खुवाउँदा ज्वरो कम हुँदै जान्छ ।
- ज्वरोसँगै बच्चालाई बान्ता र पखाला लागेको छ भने त्यस्तो वेला जबर्जस्ती खाना खुवाउनुहुँदैन । झोलिलो कुरा र पानी पिउन दिनुपर्छ ।
- चिसो खानेकुरा खुवाउनुहुँदैन । जंकफुड दिनुहुँदैन ।
- घरमै बनाएको फलफूलको जुस, घरमै बनाएको अन्य खानेकुरा खुवाउँदा बच्चाको प्रतिरोधी क्षमता बढाउन राहत पुग्छ । अरू नर्मल खानेकुरा खुवाउँदा राम्रो हुन्छ ।
उपचार
बच्चालाई सामान्यतः ज्वरो आएको पहिलो २४ घन्टा निगरानीमा राखेर हेर्नुपर्ने हुन्छ । कतिपयमा सामान्य ज्वरो वा भाइरल संक्रमण भइरहेको हुन्छ । कतिपयमा काम्ने वा बेहोस हुने अवस्था पनि आउँछ । त्यसैले बच्चा काम्न छाडे पनि निको भयो भनेर ढुक्क हुनुहुँदैन ।
एकपटक चिकित्सकलाई देखाउनु उपयुक्त हुन्छ । कुनै गम्भीर स्वास्थ्य समस्याका कारण ज्वरो आएको पनि हुन सक्छ । त्यसकारण सामान्य ज्वरो हो भनेर मात्रै बस्नुहुँदैन । ज्वरोको कारण चिकित्सकले मात्र पत्ता लगाउन सक्छन् । समस्या देखिएमा चिकित्सकले रगत परीक्षण, रगतको कल्चर, पिसाबको परीक्षण र छातीको एक्स–रेलगायत परीक्षण गर्न सल्लाह दिन सक्छन् ।