Skip This
अलैँचीको उत्पादन २५% बढ्ने आकलन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार १o:१५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अलैँचीको उत्पादन २५% बढ्ने आकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १o:१५:oo

केही वर्षदेखि लगातार उत्पादनमा गिरावट आएको अलैँची यस वर्ष भने वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा करिब २५ प्रतिशत अलैँची उत्पादन वृद्धि हुने नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । उनका अनुसार गत वर्ष नेपालमा चार हजार पाँच सय मेट्रिकटन अलैँची उत्पादन भएको थियो । यो वर्ष करिब ६ हजार मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको छ । 

सामान्यतया हरेक वर्ष असोज र कात्तिक महिनामा धेरै अलैँची बजारमा आइसक्छ । गत वर्षदेखि अलैँचीको मूल्य बढेका कारण पनि किसानले अलैँची खेतीमा मिहिनेत गर्दा उत्पादनमा वृद्धि भएको भट्टराईको भनाइ छ । ‘गत वर्ष प्रतिमन ८० हजारबाट सुरु भएर एक लाख १० हजारसम्म मूल्य पुग्यो । त्यसले किसानमा उत्साह भरिएको छ । किसानले अलैँचीमा कम्पोस्ट मल हाले, आफैँ पाइप किनेर टाढाबाट पनि पानी ल्याएर सिँचाइ गरे,’ भट्टराई भन्छन्, ‘किसानले यसपटक अलैँचीको गोडमेल पनि राम्रो गरेका छन् । मूल्य बढेपछि किसामा जागरुकता देखिएको छ । यसको परिणमस्वरूप अलैँचीको उत्पादन वृद्धि भएको छ ।’ 

उनका अनुसार आउँदो वर्षदेखि झनै अलैँचीको उत्पादन वृद्धि हुनेछ । किसानले नयाँ क्षेत्रफमा पनि अलैँचीको नयाँ बिरुवा लगाएको उनी बताउँछन् । ‘अहिले किसानले नयाँ ठाउँमा बिरुवा लगाएका छन् । विगतमा उत्पादन दिन छाडेको र मासिएको ठाउँमा पनि बिरुवा लगाएका छन् । समग्रमा अलैँची रोप्ने क्रम बढेको छ,’ उनले भने, ‘अलैँची व्यवसायी महासंघले पनि पुनः अलैँचीको बिरुवा रोप्ने कार्यक्रम गरेको छ । जसमा उन्नत जातका र क्रस बिरुवा रोप्ने अभियान चलाएको छ । कृषि संस्कारमा विकास गर्दै वैज्ञानिक प्रविधिको अवलम्ब गरेर अलैँची खेती गर्न प्रवद्र्धन गरेको छ । नयाँ बिरुवाले करिब तीन वर्षमा उत्पादन दिन्छ । तसर्थ, आउने वर्षहरूमा क्रमशः अलैँची उत्पादन बढ्ने अपेक्षा गरेका छौँ ।’ 

विगतमा १८ हजार हेक्टरमा अलैँची खेती लगाइएको थियो । यस वर्षदेखि त्यो क्षेत्र बढेर करिब २० हजार हेक्टर पुगेको निवर्तमान अध्यक्ष भट्टराईले जानकारी दिए । देशका ५२ जिल्लामा अलैँची खेती हुँदै आएको छ । अलैँची कृषक र व्यवसायीले झापाको बिर्तामोडलाई अलैँचीको राजधानी मान्दै आएका छन् भने पूर्वीनाका काँकडभिट्टाबाट अलैँचीको निर्यात हुँदै आएको छ । अलैँचीले बर्सेनि अर्बौँ रुपैयाँ विदेशी रकम नेपाल भित्र्याउँदै आएको छ । आव ०८१/८२ मा काँकडभिट्टाबाट सात अर्ब ६७ करोड ४० लाख ३७ हजार मूल्यको अलैँची निर्यात भएको थियो । 

गत वर्षको तुलनामा मूल्य घट्यो
गत वर्ष प्रतिमन एक लाख १० हजारसम्म पुगेर रोकिएको अलैँचीको मूल्य यस वर्ष केही घटेको छ । गत वर्ष एक दशकपछि सबैभन्दा धेरै मूल्य पुगेको थियो । यस वर्ष अलैँचीको गुणस्तरको आधारमा न्यून गुणस्तरको अलैँचीको मूल्य ८२ हजार प्रतिमन रहेको छ । यस्तै, मध्यमको प्रतिमन ८५ हजार र उच्च गुणस्तरको अलैँचीको मूल्य ९० हजारसम्म रहेको अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष भट्टराईले जानकारी दिए । यद्यपि, गत वर्ष पनि सिजनको सुरुवातमा यही मूल्य रहेको थियो । सिजनको अन्त्यमा मात्र एक लाख १० हजार प्रतिमन पुगेको उनी बताउँछन् । एक दशकअघि अलैँचीको मूल्य प्रतिमन एक लाख २० हजारसम्म पुगेको थियो । अलैँचीले राम्रो मूल्य पाएसँगै यसलाई ‘कालो सुन’को उपनाम दिइएको थियो ।