Skip This
जेनजीकाे प्रदर्शन : इटहरीमा दुई युवाको मृत्यु, अनिश्चितकालीन कर्फ्यु जारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार २१:५९:oo
Read Time : > 1 मिनेट
समाचार

जेनजीकाे प्रदर्शन : इटहरीमा दुई युवाको मृत्यु, अनिश्चितकालीन कर्फ्यु जारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार २१:५९:oo

जेनजी पुस्ताको प्रदर्शनको क्रममा इटहरीमा दुईजनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर मृत्यु हुनेमा इटहरी–१६ का २३ वर्षीय अभिशेष श्रेष्ठ र एकजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरी निरीक्षक प्रकाश पराजुलीले जानकारी दिए । उनका अनुसार दुबैजनालाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचारको क्रममा मृत्यु भएको चिकित्सकले घोषणा गरेका हुन् ।

सोमबा बिहान ११ बजेदेखि इटहरी उपमहानगरपालिकाको गेट अगाडिबाट जेनजीको प्रदर्शन सुरु भएको थियो । केहीबेरमा प्रहरीले लाठ्ठी चार्ज, अश्रु ग्याँस र हवाइ फायर गरेर प्रदर्शनलाई तितरबितर बनाएको थियो । प्रहरीको हस्तक्षेपपछि आक्रोशित बनेका जेनजी प्रदर्शनकारी दिउँसो करिब २ बजे नगरपालिका परिसरमा पसेर कब्जा गरेका थिए । केही समय नाराबाजी गरेको उक्त समूहले करिब साढे तीन बजे मेयरको कार्यकक्ष र विभिन्न शाखाको कागजपत्र र फर्निचर तोडफोड गरेका थिए ।

कागजपत्र बाहिर निकालेर फ्यालेको उक्त समुहले कार्यालयको भवनमा आगजनी गरेको थियो । फर्निचर र अन्य सामाग्री निकालेर पूर्वपश्चिम राजमार्गमा फालेपछि अवरुद्ध बनेको थियो । नगरपरिसरमा रहेका केही मोटरसाइकल, साइकल, गेट, डिजिटल बोर्ड समेत तोडफोड र आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । ‘घटनामा इटहरी प्रहरीका डिएसपी लक्ष्मी भण्डारीसहित १३ जना सुरक्षाकर्मी घाइते भएका छन्,’ प्रहरी निरीक्षक पराजुलीले भने, ‘पाँचजना प्रदर्शनकारी घाइते भएकोमा एकजना डिस्चार्ज भएका छन्, चारजनाको उपचार भइरहेको छ ।’ प्रदर्शनको क्रममा १३ जना पक्राउ परेको उनले बताए ।

अनिश्चितकालीन कर्फ्यु 
दिनभर इटहरी तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले स्थानीय प्रशासन ऐन, ०२८ को दफा ६ (क) बमोजिम सोमबार दिउँसो साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि इटहरी उपमहानगरपालिकाभित्र कर्फ्यु आदेश जारी गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा हस्ताक्षरित आदेशअनुसार अर्को सूचना नभएसम्मका लागि उत्तरतर्फ नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोक, पूर्वमा मिलन चोकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथै पेट्रोल पम्प, पुष्पलाल चोकहुँदै बसपार्क क्षेत्रभित्र, पश्चिममा कलंकी मोडदेखि जनता बस्तीभित्र कर्फ्यु आदेश जारी भएको हो ।