मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २३ सोमबार o६:४५:oo
Read Time : < 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

सम्पादकीय टिप्पणी : सत्ताले सडकमा उत्रिन विवश बनाएको जेन–जी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार o६:४५:oo

१३ देखि २८ वर्ष उमेर समूहको अर्थात् ‘जेन–जी’ पुस्ता स्वस्फूर्त रूपमा आज सडकमा उत्रिँदै छ । संविधानप्रदत्त नागरिकको हक नै कुण्ठित गर्ने शासकहरूको दुष्प्रयास तथा सत्ता र शक्तिको आडमा हुँदै आएको भ्रटाचारको विरोध र सुशासनको पक्षमा यो पुस्ताले उठाएको जबर्जस्त आवाज स्वागतयोग्य छ । कम्तीमा सामाजिक सञ्जालमा सीमित सत्ताको मनोमानीविरुद्धको आक्रोशलाई सडकमा उतार्न सरकारले नै विवश बनाएको हो ।

जेन–जी पुस्तासहितका नागरिकले शासकका गतिविधिलाई नियमित खबरदारी गरिरहेका थिए । सामाजिक सञ्जाल त्यसको सबैभन्दा बलियो माध्यम थियो । तर, रचनात्मक आलोचनासमेत सुन्नै नसक्ने अहंकार पलाइसकेको सरकारले संविधानले नै ग्यारेन्टी गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हकमाथि नै कुठाराघात गर्ने गरी सामाजिक सञ्जाल नै बन्द गर्‍यो ।

बेरोजगारीले आक्रान्त भएर अन्तर्राष्ट्रिय विमानस्थलमा आँसु चुहाउँदै देश छाड्न विवश लाखौँ युवाका दर्दनाक पीडा छुट्टै छन् । देशमै भएका सयौँ युवा सामाजिक सञ्जालकै माध्यमबाट स्वरोजगार पनि भएका थिए । तर, सत्ताको हर्कतले उनीहरूको आवाज थुन्ने मात्रै होइन, मुखको माड पनि खोस्यो । त्यसका विरुद्ध पनि जेन–जी पुस्ताले धावा बोलेको छ । नागरिकलाई रैती ठानिरहेका शासकविरुद्ध जेन–जी पुस्ताको यो विद्रोह संयमित र शालीन बनोस् ।