
सत्ता र शासकले युवाको नवप्रवर्तक सोचलाई जहिल्यै खेलाँची ठान्छ, आफूमाथि प्रश्न उठाउँदा दमनमा उत्रिन्छ । राणा शासकले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमाजस्ता युवाको हत्या ग¥यो, तर ती होनहार युवाको ‘प्रजातान्त्रिक सोच’ थप संस्थागत भयो । त्यही जगमा अहिलेको गणतान्त्रिक नेपाल छ । तर, नागरिकका आवाज थुन्ने, भ्रष्टाचार र बेथितिमा रमाउने शैली सत्ताको नेतृत्वमा देखिएपछि त्यसवेलाका गंगालालकै उमेरका युवा पुस्ता आज खबरदारीका लागि सडकमा ओर्लिँदै छ । र, यो पुस्ता हो, सन् १९९७ देखि २०१२ सम्म जन्मिएको ‘जेन–जी’ ।
१३–२८ वर्ष उमेरभित्रको जेन–जी प्रविधिको उच्चतम प्रयोग गर्दै त्यहीँबाट ‘करिअर’ तय गर्दै छ । विश्वव्यापी यो ट्रेन्डबाट नेपालका जेन–जी अलग छैनन् । उनीहरूले राज्यप्रतिका असन्तुष्टि पनि विभिन्न सामाजिक सञ्जालमार्फत अभिव्यक्त गर्दै आएका थिए । राज्य सञ्चालकमाथि खबरदारी गर्दै आएका थिए । जब केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालका प्लाटफर्म नै बन्द गरिदियो, तब यो पुस्ता सञ्जालबाट सडकमा ओर्लिने निर्णयमा पुगेको छ । सोमबार उनीहरूको ‘भ्रष्टाचारविरुद्ध कार्यक्रम’ छ, माइतीघरमा ।
दुई युवा जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर सिडिओ छवि रिजालसँग ‘सोमबार बिहान ११ बजे माइतीघर मण्डलामा स्वतन्त्र नेपाली युवाहरूको आयोजनामा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्न लागेकाले शान्ति सुरक्षाको व्यवस्था मिलाइदिनू’ भन्दै अनुमति मागेका थिए । कार्यक्रमको संयोजक रहेका ती दुई युवा हुन्, सबल गौतम र पुरुषोत्तम यादव ।
जेन–जीबिच सुरुमा एकले अर्कोलाई आह्वान गर्दै सामाजिक सञ्जाल तथा विभिन्न प्लाटफर्ममार्फत सुरु भएको यो अभियानमा अहिले हजारौँ युवाले ऐक्यबद्धता जनाएका छन् । नेक्स जेन नेपाललगायत विभिन्न ग्रुपबाट यो अभियानका लागि युवाहरू गोलबद्ध भइरहेका छन् । कैयौँ अभिभावकले नै आफ्ना छोराछोरीलाई उक्त अभियानमा सहभागी हुन सार्वजनिक रूपमै सन्देश जारी गरेका छन् ।
‘दुई युवा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रमको पत्र लिएर अनुमति लिन आइतबार दिउँसो कार्यालयमा आउनुभएको थियो । प्रशासनले कार्यक्रम गर्न अनुमति दिएको छ,’ सिडिओ रिजालले भने, ‘शान्तिसुरक्षाका सवालमा योजना तय गर्न सुरक्षा संयन्त्रलाई निर्देशन पनि भइसकेको छ ।’
जेन–जीले प्रदर्शनलाई रचनात्मक बनाउन खोजेका छन् । सुरुमै प्रहरीलाई फूल दिने कार्यक्रम छ । सम्भव भएसम्म काठमाडौंको माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेकामा, नभए जहाँ सम्भव हुन्छ त्यही सहरमा भेला भएर अभियान सफल पार्न अपिल गरेका छन् । फेसबुकमा नेक्स जेन नेपाल नामको ग्रुप नै बनाएर ‘जेन–जी मुभमेन्ट’मा सहभागी हुन आह्वान गरिएको छ ।
‘भ्रष्टाचारलगायत देशमा व्याप्त सम्पूर्ण बेथितिविरुद्ध राष्ट्रियस्तरको कार्यक्रम आयोजना हुँदै छ, यस कार्यक्रममार्फत जात, धर्म, वर्ग, पार्टीभन्दा माथि उठी राष्ट्रिय एकताका आधारमा भ्रष्टाचार र बेथितिविरुद्धको आवाज बुलन्द गरिनेछ,’ उक्त फेसबुक ग्रुपमा राखिएको विज्ञप्तिमा उल्लेख छ, ‘भ्रष्टाचारविरुद्धको संघर्ष केवल युवाहरूको मात्र नभई सम्पूर्ण नेपाली जनताको साझा अभियान हो, एकता, सत्य र न्याय नै नयाँ नेपालको मार्गदर्शक सिद्धान्त हुन्, यस ऐतिहासिक अभियानमा सम्पूर्ण युवाहरू तथा आमनागरिकहरूको सक्रिय उपस्थितिका लागि हार्दिक अपिल गर्दछौँ ।’
जेन–जी युवा सत्तामा हुनेहरूको रवैयाबाट हैरान छन् । राज्यको तालाचाबी बोकेकाहरूले भ्रष्टाचार गरेका र सुशासनको धज्जी उडाएका त थिए नै, हुँदाहुँदै नागरिकको मुखसमेत थुन्न थालेपछि उनीहरू आक्रोशित बनेका हुन् ।‘अहिले सामाजिक सञ्जाल बन्द छ, यसमा हाम्रो बढी आपत्ति हो । भ्रष्टाचार र माथिल्लो पदमा राजनीतिक नियुक्ति हुनुहुँदैन भन्ने मुद्दा पनि हामीले उठाएका छौँ,’ जेन–जीको एउटा समूहको अगुवाइ गरिरहेकी रक्षा बम भन्छिन्, ‘समूह–समूह मिलेर युवाहरू एकै ठाउँमा जुट्न लागेका छौँ ।’
काठमाडौंका ज्ञान मार्कले पनि सोमबारको प्रदर्शनमा हरेक युवा स्वस्फूर्त सहभागी हुन लागेको बताए । ‘यो आन्दोलनमा हरेक व्यक्ति आफैँमा अगुवा हो, यो विशेषगरी आगोको झिल्का हो, बिस्तारै बढ्दै जान्छ,’ उनले भने, ‘एकजनाले यस्तो गरौँ न भनेर टिकटकबाट आह्वान गर्नुभएको थियो, बिस्तारै यो बढ्दै गयो, अझ सामाजिक सञ्जाल बन्द गरेपछि यसको तयारी तीव्र रूपमा भयो, थपिँदै–थपिँदै देशैभरका युवाहरू प्रदर्शनमा सहभागी हुँदै हुनुहुन्छ, म पनि त्यसैको एउटा प्रतिनिधि हुँ ।’
उनले भ्रष्टाचार, दण्डहीनता, ढिलासुस्ती, हैरानीविरुद्ध सडकमा आउन लागेको बताए । पछिल्लो समय केही युवाले नेपालमै बसेर सामाजिक सञ्जालबाटै कमाउने गरेकोमा त्यसलाई बन्द गरेर उनीहरूको रोजीरोटी खोसिएको पनि उनको गुनासो छ । जेन–जी प्रदर्शनका अर्का अगुवाकर्ता आदित्य मिश्रले निकै शान्त र शिष्ट शैलीमा युवाहरूले सडकबाटै आफ्ना माग राख्ने बताए । ‘हामी शान्तिपूर्वक युवाका माग राख्छौँ, रचनात्मक रूपमा प्रस्तुत हुन्छौँ । कसैले गाउनुहुन्छ, कसैले नारा लगाउनुहुन्छ,’ उनले भने, ‘प्रदर्शनमा धेरैजसो विद्यार्थी पनि आउँदै हुनुहुन्छ, समूह–समूहमा मिलेर आउँदै हुनुहुन्छ, सबैका कारणले यो कार्यक्रम व्यवस्थित बन्ने हो ।’
प्रदर्शनको तयारी गरिरहेका अर्का युवा भूषण आचार्यले सोमबार २० हजारभन्दा धेरै जेन–जी सडकमा उत्रिने अनुमान गरिएको बताए । उक्त प्रदर्शनले युवाको जोस, जाँगर र आशा के हो भनेर देखाउने उनको भनाइ छ । ‘हामी संख्या त ठ्याक्कै यति नै भन्न सक्दैनौँ, तर अनुमानित २० हजारभन्दा बढी नै युवाहरू आउनुहुन्छ,’ उनले भने । काठमाडौंबाहेक पोखरा, चितवन, वीरगन्ज, भैरहवा, विराटनगर र झापामा पनि बिहान ९ बजेदेखि नै प्रदर्शन हुने उनले बताए ।
महँगो पर्न सक्छ जेन–जीमाथिको हेपाइ
हरेक पुस्ताको जीवनशैली, सोच्ने तरिका र दृष्टिकोण कुनै न कुनै रूपमा भिन्न हुन्छ । तर, पुरानो पुस्ताका कतिपयले जेन–जीलाई सामाजिक सञ्जालमा मात्रै कराउने, देशप्रति चिन्ता नभएको, कृत्रिमतामा रमाइरहेको भनेर हेप्ने गरेका छन् । यो पुस्ता देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, आविष्कारलगायत क्षेत्रका सवालमा कति संवेदनशील छ भन्ने एउटा सन्देश हुन सक्छ सोमबारको प्रदर्शन । किनभने पहिलोपटक संगठित भएर सडकमा आउँदै छ जेन–जी ।
त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र विभागका प्राध्यापक दीपेश घिमिरे जेन–जी मुख्यतः भ्रष्टाचार र भ्रष्टाचारले सिर्जित असमानतामा असन्तुष्ट रहेको विश्लेषण गर्छन् । ‘यो पुस्ताले अझै पनि असमानता सहिरहेको छ ।
आजको युवाको अवस्था अन्योल छ, तर सार्वजनिक ओहोदामा पुगेका व्यक्ति र उनका छोराछोरीले राज्यको पद ओगट्दै विलासी जीवन बिताइरहेका छन्, आमनागरिकको दैनिकी कष्टपूर्ण छ,’ उनले भने, ‘त्यस्तै, यो पुस्तालाई भगौडाको संज्ञा दिइएको छ, देशको बारेमा मतलब छैन भनिएको छ । जेन–जी नेपाल बस्नै चाहँदैन भन्ने भाष्य खडा गरिएको छ । तर, उनीहरू राज्यप्रति जिम्मेवार र बलियो खम्बा हुन् । त्यसैको सन्देश दिन उनीहरू सडकमा उत्रिँदै छन् । यो पुस्तालाई राज्यले हेर्ने नजर र गर्ने व्यवहार ठिक भएन ।’
जेन–जीले ‘नेपो बेबी अभियान’ पनि चलाउँदै आएका छन् । यो अभियानमार्फत राजनीतिक परिवारवाद, करको दुरुपयोग र नेताको सन्तानको विलासी जीवनशैलीमाथि प्रश्न उठाइएको छ ।
एमालेबाहेक अधिकांश ठुला दल तथा नेताको समर्थन, कलाकारको पनि साथ
सामाजिक सञ्जाल बन्द गर्ने केपी ओली सरकारको कदमविरुद्ध नै जेन–जीले प्रदर्शन गर्न लागेकाले एमाले यसप्रति असन्तुष्ट छ । एमालेका केही नेताले त जेन–जीमाथि आपत्तिजनक अभिव्यक्ति नै दिएका छन् । प्रमुख सत्तारूढ कांग्रेसको संस्थापन पक्ष यसबारे मौन छ । अन्य ठुला दल र नेता तथा कलाकारहरूले भने जेन–जीको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको प्रदर्शन स्वाभाविक रहेको भन्दै बल प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका छन् । भ्रष्टाचारविरुद्ध माओवादी आन्दोलन जारी रहेको पनि उनले बताएका छन् । ‘सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ । सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् । भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन जारी रहेको स्पष्ट छ ।’
नक्खु कारागारमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेले पनि निजी सचिवालयमार्फत जेन–जीको कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै ‘भोलिको दिन इतिहासको नयाँ सुरुवात हुने’ बताएका छन् । ‘प्रिय जेन–जी, भोलिबाट तपाईंहरू सडकमा ओर्लिँदै हुनुहुन्छ । तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ ।
शासकहरूले तपाईंहरूलाई विधि र विवेक त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे,’ उनले भनेका छन्, ‘सत्ता र शक्तिको नसामा चुर, अनि घमन्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरूलाई थाहा छैन, तपाईंहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ । भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो ।’ लामिछानेले प्रदर्शनमा घुसपैठ हुन सक्ने र उत्तेजित पार्न सक्ने भन्दै विवेक प्रयोग गर्न तथा सचेत हुन पनि सुझाएका छन् । ‘घुसपैठ हुन सक्छ, सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईंकै हातबाट लेखिँदै छ,’ उनले भनेका छन्, ‘नक्खु जेलको कालकोठरीबाट म तपाईंहरूप्रति शुभेच्छा, सद्भाव र ऐक्यबद्धता प्रकट गर्दछु ।’
कांग्रेस नेता शेखर कोइरालाले जेन–जी युवा सरकारविरुद्ध सडकमा उत्रनु सरकारमा बसेका र उनीहरूबिचको सोचाइको अन्तरका कारण भएको बताएका छन् । उनले जेन–जीको आवाज सुनेर परिवर्तनका लागि तयार हुनुपर्ने पनि बताएका छन् । कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूको आवाज सुन्ने हिम्मत गरौँ र आफूलाई परिवर्तन गरौँ । नत्र पछि पछुताउनुको विकल्प पनि बाँकी रहन्न ।’
काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहले पनि जेन–जीको र्यालीमा समर्थन जनाएका छन् । उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङले पनि जेन–जीको प्रदर्शनलाई समर्थन जनाएका छन् । ‘सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा जेन–जी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछौँ,’ उनले भने, ‘उज्यालो नेपाल बत्तीको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो ।’
त्यस्तै, चर्चित कलाकारहरू पनि जेन–जी प्रदर्शनको समर्थनमा उभिएका छन् । युवा पुस्तामा लोकप्रिय नायक अनमोल केसीले फेसबुकमा लेखेका छन्, ‘हामी नेपाली नागरिक चुप लागेर बस्दैनौँ, सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठुलो आवाजमा उठ्छौँ । हाम्रो अधिकार कोही रोक्न सक्दैन, हाम्रो आवाज दबिँदैन ।’ गायक प्रकाश सपुतले २५ र २६ वर्षका (जेन–जी) भाइहरू क्रमशः सुनील र सचिनलाई आन्दोलनमा सहभागी हुन सार्वजनिक अपिल गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘...भोलि तिमीहरू जानू, तिमीहरू केही बोल्नैपर्दैन, तिमीहरूको अनुहारमा प्रस्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै थोक बोलिसकेको हुनेछ । आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो, तिम्रो पुस्ताको नयाँ स्वरूपको आन्दोलन हेर्न म निकै उत्साहित छु...।’
अभिनेता दयाहाङ राईले जेन–जी समूहले सार्वजनिक गरेको सूचना फेसबुकमा सेयर गरेका छन् । गायिका रचना रिमालले जेन–जीको खबरदारीलाई महाअभियान भन्दै सहभागी हुन अपिल गरेकी छिन् । आपूm देशबाहिर रहेकाले अभियानमा सहभागी हुन नसकेको उनले सामाजिक सञ्जालमार्पmत जनाएकी छिन् । गीतकार लोकराज अधिकारीले छोरीलाई आन्दोलनमा पठाउने भन्दै सामाजिक सञ्जालमा तस्बिर सेयर गरेका छन् । जेन–जीले प्रदर्शन घोषणा गरेपछि चर्चित सांगीतिक ब्यान्ड नेपथ्यले ‘गाउँगाउँबाट उठ...’ गीतको क्लिप आफ्नो फेसबुक पेजमा राखेर प्रदर्शनलाई सांकेतिक समर्थन गरेको छ ।
नेताका छोराछोरीबारे जेन–जीको ‘नेपो बेबी अभियान’
राजनीतिक परिवारवाद र नेताको सन्तानको विलासी जीवनशैलीमाथि प्रश्न उठाउँदै जेन–जीले ‘नेपो बेबी अभियान’ पनि चलाइरहेको छ । बा–आमा तथा आफ्ना व्यक्ति सत्तामा पुग्दा छोराछोरीले समेत गलत कार्य गरेको, शक्तिको दुरुपयोग गरेको र युवालाई देशमा बस्न निरुत्साहित पारेको जेन–जी पुस्ताको आरोप छ । शीर्ष नेताका छोराछोरीले विभिन्न व्यापारिक लाभ लिएको र गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आइरहेको छ ।
‘नेताका छोराछोरीहरूले दुःख नगरी मोज गरिरहेका छन्, जनताका छोराछोरी रोजगारी खोज्न विदेश जानुपरेको छ, नेता र उनीहरूका सन्तानले पनि दुःख गरेर जिउन सिक्नुपर्छ,’ सोमबारको प्रदर्शनमा सहभागी हुने तयारी गरेका एक जेन–जी युवाले भने, ‘यो देशमा धेरै असमानता र भारदार प्रथा बढ्दो छ ।’
जेन–जीको प्रदर्शनमा गएर लाभ लिने दुर्गा प्रसाईंको दाउ, युवाहरूले भेटेरै नआउन भने
१५ चैतमा दुई युवाको ज्यान जाने गरी भएको तीनकुनेस्थित राजावादी आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईंले सोमबार जेन–जीको प्रदर्शनमा उपस्थित भएर लाभ लिने दाउ गरेका थिए । तर, उनको उपस्थितिले प्रदर्शन गिजोलिन सक्ने भन्दै युवाहरूले नै उनलाई भेटेरै र फोनसमेत गरेर नआउन भनेका छन् । प्रसाईंले युवाहरूको प्रदर्शन हुने थाहा पाएपछि आफू पनि सहभागी हुने बताएका थिए ।
प्रदर्शनमा उपस्थित नहुन युवाले भनेपछि प्रसाईंले फेसबुकबाट शुभकामना दिएका छन् । ‘...भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ । त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो,’ उनले लेखेका छन्, ‘भ्रष्टाचारविरुद्धको हाम्रो आन्दोलन शान्तिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दै, मैले उपस्थित सबैलाई बिदा गरेँ । चैत १५ गतेजस्तो दमन नहोस्, विशेषतः २८ वर्षमुनिका भाइबहिनीमाथि भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
नक्खु कारागारबाट रवि लामिछानेले ऐक्यबद्धता जनाउँदै भने–यो देशको इतिहास तपाईंहरूकै हातबाट लेखिँदै छ
प्रिय जेन–जी, सत्ता र शक्तिको नसामा चुर, अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न शासकहरूलाई थाहा छैन, तपाईंहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ । भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुन सक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईंको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईंकै हातबाट लेखिँदै छ । नक्खु जेलको कालकोठरीबाट म तपाईंहरूप्रति शुभेच्छा, सद्भाव र ऐक्यबद्धता प्रकट गर्दछु ।
बालेनले भने– मेरो भरपूर समर्थन छ
भोलि (सोमबार)को र्याली स्पष्ट स्वस्फूर्त रूपमा जेन–जीको हो, उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जसका लागि म पनि बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्न मन छ । भोलि यो स्वस्फूर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला, म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपूर समर्थन छ । प्रिय जेन–जी भन्नुस्– तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?