Skip This
ओलीलाई फेरि पनि अध्यक्ष बन्न बाटो खुला
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 08 September, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o६:२९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ओलीलाई फेरि पनि अध्यक्ष बन्न बाटो खुला

‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्षे उमेरहदको सीमा र दुई कार्यकाल मात्र कार्यकारी पदमा उम्मेदवार बन्न पाउने’ दुवै व्यवस्था हटाएपछि ७४ वर्षीय केपी ओलीलाई फेरि पनि एमाले अध्यक्ष बन्न सक्ने बाटो खुला

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२९:oo

दोस्रो कार्यकालका लागि पार्टी नेतृत्व सम्मालिरहेका ७४ वर्षीय केपी ओलीले फेरि पनि एमाले अध्यक्ष बन्न सक्ने गरी पार्टी विधान पारित गराएका छन् । आइतबार सकिएको एमालेको दोस्रो विधान महाधिवेशनले ७० वर्षे उमेरहद र कार्यकारी पदको कार्यकालको पूर्ववत् व्यवस्था हटाएपछि ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला भएको हो । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोक्न ओलीले उनको सदस्यता नवीकरण नै रोकेका छन् । 

तीन दिनसम्म ललितपुरको गोदावरीमा चलेको महाधिवेशनले विधानमा रहेको ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्षे उमेरहदको सीमा र दुई कार्यकाल मात्र कार्यकारी पदमा उम्मेदवार बन्न पाउने दुवै व्यवस्था’ हटाएको छ । योसँगै यसै वर्ष हुने महाधिवेशनबाट तेस्रोपटक नेतृत्वमा आउन ओलीका लागि विधानले नै सुविधा दिएको छ । तेस्रोपटक अध्यक्ष भए मात्र पनि ओलीले ७९ वर्षसम्म पार्टी नेतृत्व सम्हाल्नेछन् । जबकि एमालेभित्र एउटा पंक्ति नेतृत्व हस्तान्तरणको पक्षमा छ । 

पूर्वराष्ट्रपति विद्यासहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, युवराज ज्ञवाली, सचिव गोकर्ण विष्ट, स्थायी समिति सदस्य कर्ण थापालगायत उल्लेख्य प्रतिनिधिहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्रको मुद्दा उठाएर नेतृत्व हस्तान्तरणको मुद्दा मुखर बनाउन खोजेका थिए । उनीहरूले उठाएको पूर्वराष्ट्रपति विद्याको सदस्यता नवीकरणमा रोक, उमेरहदलगायतका मुद्दामा पनि उल्लेख्य प्रतिनिधिहरूले साथ दिएपछि अध्यक्ष ओलीले महाधिवेशन हलमा पार्टीलाई मिलाएर लैजाने प्रतिबद्धता जनाएका छन् । 

१० वटा समूहको नेतृत्व गरेका सबै टोलीनेताहरूले पूर्वराष्ट्रपति विद्याको सदस्यता नवीकरण रोक्न नहुने पक्षमा हलमा आएका सुझाव प्रस्तुत गरेपछि अध्यक्ष ओलीले त्यसलाई अस्वीकारको सट्टा सर्वसम्मत प्रतिवेदन पारितका लागि मध्यमार्गी बाटो अपनाए । उनले विद्याको विषय पार्टीको एजेन्डा बनेको भन्दै हलमा आएका सुझावलाई ख्याल गरेर उनीसँग आफूले अलग्गै संवाद गर्ने र त्यस आधारमा केन्द्रीय सचिवालय बैठक र केन्द्रीय कमिटी बैठक राखेर सदस्यतासम्बन्धी पूर्वनिर्णयमाथि छलफल चलाउने प्रतिबद्धता जनाए । 

महाधिवेशनमा सुदूरपश्चिम समूहबाट पार्टीका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैसी, कर्णाली प्रदेश समूहबाट प्रदेश अध्यक्ष गुलावजंग शाह, लुम्बिनी प्रदेश समूहबाट प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, गण्डकी प्रदेश समूहबाट प्रदेशका का.वा. अध्यक्ष मीनप्रसाद गुरुङ, बागमती प्रदेश समूहबाट प्रदेश अध्यक्ष कैलाश ढुंगेल, मधेश प्रदेश समूहबाट प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, कोशी प्रदेश समूहबाट प्रदेश अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय निकाय, विभाग र केन्द्रीय कार्यालय समूहबाट केन्द्रीय लेखा आयोगका सचिव शिव अधिकारी, सल्लाहकार तथा आयोजक समूहबाट केन्द्रीय सदस्य चूडामणि जंगली र उपत्यका, जनसंगठन, सम्पर्क कमिटी तथा प्रवास कमिटी समूहका तर्फबाट भक्त गुरुङले आ–आफ्ना समूहका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । 

अधिकांश टोलीनेताले विद्याको पक्षमा आएका सुझावलाई पनि हलमा प्रस्तुत गरेका थिए । समूहगत प्रस्तुतिपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा उठेका जिज्ञासा, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदनमाथिका सुझाव र जिज्ञासाबारे जवाफ दिएका थिए । त्यसक्रममा ओलीले पार्टीले मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज)को जगमा नेपाली विशेषताको समाजवादको कार्यक्रम अघि सारेको बताए । ओलीले नेपाली विशेषताको समाजवाद जबजको विकल्प नभई जबजको जगमा नै अघि बढ्ने पनि प्रस्ट्याए । उनले जबजको जगमा नेपाली विशेषताको समाजवादमा पुग्ने बाटो ‘समृद्ध नेपाल, सुखी नेपाली गन्तव्य’ हुने जिकिर गरे ।

नेपाली समाजको वर्ग विश्लेषण गर्दै ओलीले भने, ‘नेपाली विशेषताको समाजवाद जबजको जगमा अगाडि बढ्न भनिएको हो । त्यसका लागि समृद्ध नेपाल, सुखी नेपालीलाई गन्तव्यका रूपमा अघि सारिएको हो । यसको अर्थ मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र जबजलाई छोडेको होइन, सिर्जनात्मक प्रयोग गरिएको हो ।’

उनले पार्टी निर्माणको काम गर्दा बिग्रेका मानिसहरूसँग एकता खोज्दै हिँड्नु आवश्यक नरहेको भन्दै सही नीति र विचारलाई जनतामा पुर्‍याएर पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिने विश्वास व्यक्त गरे । उपाध्यक्ष पौडेलले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवादबाट एमाले ‘डिरेल’ भयो भनी भ्रम सिर्जना गर्न प्रायोजित प्रचार गरिएको भन्दै त्यो निन्दनीय भएको बताए । 

महासचिव पोखरेलले जबजले दिशानिर्देश गरेबमोजिम पार्टी निर्माणमा लोकतान्त्रीकरणको अगुवाइ पार्टी अध्यक्ष ओलीले गरेको दाबी गर्दै पार्टी निर्माणको केन्द्रविन्दु मिसन २०८४ हुनुपर्ने र आगामी निर्वाचनमा एकल बहुमत दिलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने अभिभारामा जोड दिए । 

विधान महाधिवेशनले डा. विजय सुब्बा अध्यक्ष रहेको केन्द्रीय निर्वाचन आयोग सर्वसम्मत निर्वाचित गरेको छ । २५ सदस्यीय निर्वाचन आयोगमा सानुराज पोखरेल उपाध्यक्ष, कुन्साङ लामा सचिव र सदस्यहरूमा समीर नेपाल, टंकप्रसाद उपे्रती, चन्द्रलाल क्याप्छाकी मगर, कृष्णकुमारी गुरुङ, काशीचन्द्र बराल, डा. हरिप्रसाद भण्डारी, सूर्यबहादुर शाही, भूराज राई, भरत पोखरेल, हिराचन्द्र केसी, लोकबहादुर थापा, केशव आचार्य, दमन तामाङ, झविलाल पोखरेल, नर्मदा भण्डारी, विमला विक, अर्चना गहतराज, शर्मिला गुरुङ, नारायणी शर्मा, रचनाराज उपाध्याय, हेमकला गैरे र विनादेवी शाह छन् ।

अब के गर्छ विद्या समूह ?
अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणको विषय नउठाउन निर्देशन दिए पनि महाधिवेशनमा उल्लेख्य प्रतिनिधि त्यही मुद्दामा उभिएपछि विद्या समूह उत्साहित बनेको छ । महाधिवेशन हलमा प्रतिनिधिहरूले प्रकट गरेको उल्लेख्य मतसँगै अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यासँग पुनः अलग्गै संवाद गरेर पार्टीका बैठकबाटै सदस्यतासम्बन्धी मुद्दा हल गर्ने प्रतिबद्धता जनाएका छन् । यससँगै विद्या पक्षधर नेताहरू ओलीलाई शंकाको लाभ दिँदै संगठित रूपमा राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्ने योजनामा छन् । 

विनोद ढकाल, विद्या पक्षका नेता
पूर्वराष्ट्रपतिको सदस्यताका विषयमा हलमा प्रतिनिधिले सुझाव राखेका छन् । ती चासो र सरोकार सम्बोधन हुने गरी उहाँसँग संवाद र छलफल गरी केन्द्रीय कमिटी र सचिवालयको बैठकबाटै टुंगो लगाउने पार्टी अध्यक्षको प्रतिबद्धता आएको छ । यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ । उहाँ प्रतिबद्धताअनुसार अगाडि बढ्दा एमालेलाई एकताबद्ध रूपमा लैजान सकिन्छ । सार्वभौम प्रतिनिधिहरूको सुझाव समेटेर अगाडि बढ्नुको विकल्प पनि छैन 

प्रा. कृष्ण पोखरेल, विश्लेषक
विद्यासहित उनको पक्षमा खुल्ने नेता–कार्यकर्तालाई ओलीले पार्टीमा उचित स्थान र भूमिका पक्कै दिँदैनन् । यी सबै बुझेरै उनी पक्षधर नेता–कार्यकर्ता अगाडि बढेको हुनुपर्छ । अहिले जति प्रतिनिधि भण्डारीको पक्षमा खुले, त्यो उल्लेख्य पंक्ति नै मान्नुपर्छ । अब राष्ट्रिय महाधिवेशनका लागि नयाँ प्रतिनिधि चुनिने हो । त्यसैले ओलीले चाहँदैमा, माथिबाट सिटी फुक्दैमा तल प्रतिनिधि छानिने होइनन् । युवा र अखिलमा जसरी चुनाव भएरै प्रतिनिधि आउने हो । त्यसैले विद्या पक्षका लागि राष्ट्रिय महाधिवेशन एउटा ठुलो अवसर छ ।