मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Monday, 08 September, 2025
२o८२ भदौ २२ आइतबार ११:५५:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्यासँगै आक्रमणका घटना पनि बढ्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार ११:५५:oo

दुई महिनामा जितपुरसिमराका तीनजनाले बाघको आक्रमणबाट गुमाए ज्यान

पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पथलैया–अमलेखगन्ज सडकखण्डमा पछिल्लो समय बाघ आक्रमणका कारण स्थानीय आतंकित बनेका छन् । दुई महिनाको अवधिमा मात्रै बाघको आक्रमणमा परेर जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ र २२ का तीनजनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका– २१ का ५५ वर्षीय चन्द्रबहादुर बोलाङ, वडा नम्बर २२ का ४७ वर्षीय कृष्णकुमार शर्मा र ३८ वर्षीय रमेश कार्की छन् । स्थानीयवासीका अनुसार बोलाङ र शर्मा घाँसदाउरा गर्न जंगल गएका वेला बाघको आक्रमणमा परेका थिए । कार्की भने रातिको समयमा ३ नम्बर पुलनजिकै सडकछेउमा मृत भेटिएका थिए ।

जितपुरसिमरा उपमहानगरपालिका– २१ का वडाध्यक्ष सुवास श्रेष्ठले केही महिनादेखि गाउँमा बाघको त्रास बढेको जनाउँदै साँझ–बिहान बाहिर निस्कनसमेत स्थानीय डराउने अवस्था आएको बताए । ‘सामान्य कामकाजका लागि पनि मानिसहरू जंगल पस्न सक्दैनन्, साँझ–बिहान खेतबारी वा बाटोमा हिँड्दासमेत ठुलो जोखिम भएको छ,’ उनले भने, ‘निकुञ्जमा बाघको संख्या बढ्नु सकारात्मक हो, तर बाघसँग सम्बन्धित मानवीय घटना हुँदा प्रशासनले चाल्नुपर्ने आवश्यक कदम कमजोर देखिएका छन् । सुरक्षा व्यवस्थामा निकुञ्जले कुनै ठोस काम गरेको पाइँदैन, सायद त्यही कारणले स्थानीय निकुञ्ज प्रशासनप्रति आक्रोशित छन् ।’

स्थानीयवासीले पटक–पटक निकुञ्जनजिकका बस्तीमा सुरक्षा व्यवस्था कडा गर्न माग गरेका छन् । निकुञ्जको बाघ, हात्ती तथा अन्य जंगली जनावरको गतिविधिका कारण निजगढ नगरपालिका र कोल्हबी नगरपालिका पनि प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । निजगढ नगरपालिकाका ११ र १३ नम्बर वडा पूर्ण रूपमा जोखिममा छन्, जहाँ बाघ तथा अन्य जंगली जनावरले बस्तीछेउको खेतबारी र सडक क्षेत्रमा प्रवेश गर्ने घटना बढेका छन् ।

कोल्हबी नगरपालिकामा पनि जंगली जनावरको क्रियाकलाप बढ्दै गएको छ । स्थानीयका अनुसार बाघ तथा हात्ती खेतबारी, घरछेउको बाटो र नदीछेउमा नियमित रूपमा देखिन थालेका छन्, जसले दैनिक जीवन प्रभावित भएको छ । बालबालिका, महिला र वृद्धवृद्धा साँझ–बिहान घरबाहिर निस्कन डराउने गरेका छन् । 

स्थानीयवासीले निकुञ्ज प्रशासनसँग सुरक्षा मापदण्ड कडा गर्न, निगरानी वृद्धि गर्न र जंगली जनावरको गतिविधि नियन्त्रण गर्न बारम्बार आग्रह गरे पनि पर्याप्त कदम नउठाइएको भन्दै आक्रोश पोखेका छन् । निकुञ्जमा बाघको संख्या बढेसँगै मानिससँग जम्काभेट हुने सम्भावना पनि बढेको छ, जसले गर्दा दुर्घटना निम्त्याइरहेको उनीहरूको भनाइ छ ।

निकुञ्ज प्रशासनले भने पथलैया–अमलेखगन्ज सडकखण्डमा सवारीसाधन नरोक्न सूचना जारी गरेको छ । साथै, बाघको गतिविधि नियन्त्रित गर्न र निगरानी बढाउन सडकछेउमा क्यामेरा जडान गर्ने तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए । ‘बाघले मान्छे देख्नेबित्तिकै आक्रमण गर्ने होइन, तर जम्काभेट हुँदा आक्रमण हुन्छ । त्यसैले मानिसले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ,’ खतिवडाले भने । उनका अनुसार साँझपख जंगलतिर नजाने, समूहमा मात्र घुम्ने र घाँस–दाउरा गर्ने कामलाई सीमित गर्नेजस्ता व्यावहारिक सावधानी आवश्यक छ ।

पर्सा राष्ट्रिय निकुञ्जमा हाल ४१ वटा बाघ रहेको आधिकारिक तथ्यांक छ । संरक्षण प्रयासका कारण निकुञ्जमा बाघको संख्या निरन्तर बढ्दै गएको छ । निकुञ्ज प्रशासनले आगामी गणनामा बाघको संख्या ५० नाघ्ने अनुमान गरेको छ । विशेषज्ञहरूको भनाइमा बाघ संरक्षणका कारण संख्या बढ्नु सकारात्मक भए पनि मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । बाघले आफ्नो वासस्थान फैलाउँदा मानवीय गतिविधिसँग ठोक्किन थालेको छ, जसको असर ग्रामीण बस्तीले झेल्नुपरेको छ ।

निकुञ्जआसपासका बासिन्दाले बाघसँग सहअस्तित्वको चुनौती व्यहोर्दै आएका छन् । एकातिर बाघ संरक्षण आवश्यक छ भने अर्काेतर्फ स्थानीयको जीवन सुरक्षित बनाउने चुनौती पनि छ । बाघको आक्रमणमा परी ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र गाउँमा सुरक्षा व्यवस्था कडा गर्न स्थानीयले सरकार र निकुञ्ज प्रशासनसँग माग गरेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका– २१ का वडाध्यक्ष सुवास श्रेष्ठ भन्छन्–
सामान्य कामकाजका लागि पनि मानिसहरू जंगल पस्न सक्दैनन्, साँझ–बिहान खेतबारी वा बाटोमा हिँड्दासमेत ठुलो जोखिम भएको छ । निकुञ्जमा बाघको संख्या बढ्नु सकारात्मक हो, तर बाघसँग सम्बन्धित मानवीय घटना हुँदा प्रशासनले चाल्नुपर्ने आवश्यक कदम कमजोर देखिएका छन् । सुरक्षा व्यवस्थामा निकुञ्जले कुनै ठोस काम गरेको पाइँदैन, सायद त्यही कारणले स्थानीय निकुञ्ज प्रशासनप्रति आक्रोशित छन् ।