मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 06 September, 2025
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलअघि अभ्यास गर्दै नेपाली खेलाडी । तस्बिर सौजन्य : एन्फा
रमेश सुवेदी काठमाडाैं
Invalid date format ११:१o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दुई वर्षपछि आज दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:१o:oo
  • ०८० मंसिरमा यमनविरुद्धको खेलपछि शनिबार दशरथ रंगशालामा घरेलु समर्थकमाझ बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपाल

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले दुई वर्षपछि शनिबार दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्दै छ । फिफाको आधिकारिक मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालले बंगलादेशविरुद्ध पहिलो खेल खेल्न लागेको हो । एसियाली फुटबल महासंघ (एएफसी)ले रंगशालामा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नमिल्ने भनी ‘अयोग्य’ भनेको छ ।

नेपालले दशरथ रंगशालामा अन्तिमपटक यमनविरुद्ध ०८० को मंसिरमा प्रतिस्पर्धा गरेको थियो । यो दुई वर्षभित्र नेपालले खेलेका १२ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विदेशी भूमिमा खेल्यो । यो अवधिमा दशरथ रंगशालामा दुई महत्वपूर्ण खेल नै दशरथ रंगशालामा हुनुपर्ने थियो । तर, एएफसीले अयोग्य घोषणा गर्दा नेपालको खेल तटस्थ भूमिमा भयो । ‘फिफाको विन्डो’मा हुन लागेको खेललाई नेपाल र बंगलादेशले एसियन कप छनोटको तयारीका रूपमा लिएका छन् ।

एसियन कप छनोटअन्तर्गत तेस्रो चरणमा नेपालले आगामी अक्टोबरमा भियतनाम र मलेसियासँग खेल्दै छ । बंगलादेशले हङकङ र भारतसँग खेल्ने तालिका छ । नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले दशरथ रंगशालामा खेल्न पाउँदा खुसीको सीमा नरहेको बताउँदै बंगलादेशलाई कमजोर नआँक्ने बताए । ‘घरेलु मैदानमा खेल्न पाउँदा एकदमै खुसी छु । बंगलादेशको टोली बलियो छ । यो खेल खेल्न निकै उत्साहित छु,’ किरणले भने, ‘टोलीसँग पर्याप्त प्रशिक्षण गर्न नपाउँदा दु:ख लागेको छ ।’ उनी बंगलादेशबाटै मैत्रीपूर्ण खेलकै लागि यसै साता स्वदेश फर्किएका हुन् । किरण यस सिजन बंगलादेशको पुलिसमा आबद्ध छन् । 

नेपालका मुख्य प्रशिक्षक म्याट रोसको योे पाँचौँ अन्तर्राष्ट्रिय खेल हो । उनको मुख्य प्रशिक्षणमा नेपालको पहिलो खेल मलेसियाविरुद्ध थियो । यस खेलमा नेपाल २–० ले पराजित भयो । नेपालले अर्काे खेलमा हङकङकलाई गोलरहित बराबरीमा रोकेको थियो । एसियन कपको छनोटमै नेपाल लाओससँग २–१ ले पहिलोपटक पराजित भएको थियो । 

अञ्जनलाई रेकर्ड बनाउने अवसर
नेपालले पछिल्लोपटक बंगलादेशसँग तीन वर्षअघि खेलेको थियो । असोज ०७९ मा नेपालले बंगलादेशविरुद्ध ३–१ को जित निकालेको थियो । सो खेलमा स्ट्राइकर अञ्जन विष्टले ह्याट्रिक गरेका थिए । उनको यो करिअरकै पहिलो ह्याट्रिक थियो । दशरथ रंगशालामै अञ्जन राष्ट्रिय टोलीमा नयाँ रेकर्ड बनाउने अभियानमा छन् । दुई दशकअघि हरि खड्का र नीराजन रायमाझीले राष्ट्रिय टोलीबाट कीर्तिमानी १३ गोल गरेका थिए । यी दुवै खेलाडीसँगै अञ्जनले पनि १३ गोल नै गरेका छन् । एक गोल गरे उनी नेपालका लागि सर्वाधिक १४ अन्तर्राष्ट्रिय गोल गर्ने पहिलो खेलाडी बन्नेछन् । 

बंगलादेशविरुद्ध दुई नयाँ अनुहार 
मुख्य प्रशिक्षक रोसले बंगलोदशविरुद्ध दुई खेलाडीलाई मौका दिएका छन् । अट्याकिङ मिडफिल्डरद्वय आदित्य शाक्य र अमित लामा पहिलोपटक राष्ट्रिय टोलीमा समावेश भएका छन् । यसअघि नेपाली टोलीमा रहे पनि डेब्यु गर्न नपाएका कुशल देउवा पनि छन् । समीर तामाङ र भरत खवासले मौका पाएका छन् । भरतले बंगलादेशविरुद्धको पहिलो खेलमै अन्तर्राष्ट्रिय सन्न्यास घोषणा गर्नेछन् । लाओसविरुद्ध डेब्यु गरेका कृतिशरत्न छुन्जू, आयुष घलान र सुमित श्रेष्ठ यो खेलमा हुनेछैनन् । उनीहरू एएफसी यू–२३ एसियन कप छनोटका लागि ताजकिस्तानमा छन् । नेपाली टोलीमा कप्तान किरणसँगै गोलरक्षक दीप कार्की र टिकेन्द्र थापा छन् । अभिषेक लिम्बू, आदित्य शाक्य, अमित लामा, अनन्त तामाङ, अन्जन विष्ट, अरिक विष्ट, दिनेश हेन्जन, जिलेस्पीजंग कार्की, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, रन्दीप पौडेल, रोहन कार्की, रोहित चन्द, समीर तामाङ, सिर्जन राज, सुभाष ठकुरी बम, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् । 

हाम्जाविनाको बंगलादेश
इंग्लिस प्रिमियर लिग खेलिरहेको हाम्जा चौधरीविना काठमाडौं आएको बंगलादेशले नेपाललाई कमजोर नलिने जनाएको छ । कप्तान जमल भुयालले नेपालका पछिल्ला खेल हेरेको बताएका छन् । ‘नेपालले विगतभन्दा निकै राम्रो गरिरहेको छ । हामीले सिंगापुरविरुद्धको खेल हेर्‍यौँ । सो खेलमा नेपाल निकै राम्रो थियो,’ उनले भने, ‘नेपालसँग खेल्न बंगलादेशलाई सधैँ चुनौती हुने गर्छ ।’ बंगलादेशका प्रशिक्षक हाबियर क्याब्रेराले पनि नेपाली टिम राम्रो भएको बताए ।