
कुनै गाउँमा सुखीराम नाम गरेका मान्छे थिए । यिनी बहुत सीधा प्राणी थिए । मान्छे सीधै हुन्छन् । बांगोटिंगो हुने त कि सरकार हो कि सरकारी सेवा हो । नामै सुखीराम भए तापनि उनको खुसीचाहिँ ठन्डाराम थियो । मात्राकै हिसाब गर्ने हो भने उसको जीवनमा सुखीको मात्रा चाउचाउको प्याकेटभित्रको फुच्चे प्याकेटमा हुने बदामजत्ति थियो । सोध्नुहोला– चाउचाउभित्र बदाम हुन्छ र ? मलाई थाहा छैन । न त चाउचाउको पुरियाको बदाम, न त उसको सुख । कहिले चाउचाउ भनेर पसलेले दालमोठ दिएर ठग्दा बदामको बियाँचाहिँ पाएको होला ।
सुखीरामलाई एउटा भाउँतो आइपर्यो । आफ्नो पुरानो मोटरसाइकलको ब्लुबुक नवीकरण गर्ने । किन्दा न त उसको मोटरसाइकल नयाँ थियो । न त ब्लुबुक नै । यो त रिन्यु, अर्थात् नवीकरण नभएर ‘रिओल्ड्यु’ अर्थात ‘पुनर्पुरानीकरण’ हुनुपर्ने । उसलाई यो नवीकरण भन्ने जिनिस नै हेराफेरीको ‘गोलमाल है भाइसाब, गोलमाल’झैँ लाग्छ । फेरि किनेदेखि नै नवीकरण नगरेकाले कसरी गर्ने, उसलाई उति मेसो मिलिरहेको थिएन ।
गर्ने कसरी ? मेसो लिन ऊ छिमेकी चतुरमानकहाँ गयो ।
चतुरमानले भने, सुखीराम भाइ, यो काम त ‘मेवादार सेवा होटेल’मा पो हुन्छ ।’
सुनेर सुखीराम चकितम् ।
सोध्यो – ‘ब्लुबुक नवीकरण होटेलमा ?’
चतुरमानले भन्यो – ‘तब होटेलमा ।’
सुखीराम झनै चकितम् ।
सोध्यो – ‘कहिलेदेखि ?’
चतुरमानले भन्यो, जहिलेदेखि थरीथरीका प्लेट आए । कालाप्लेट, राताप्लेट, सेताप्लेट आए । यति नपुगेर इम्बोस्ड प्लेट ल्याए । कहिलेदेखि सेरामिक्स, चरेसको प्लेट ल्याउँछ । यतिका प्लेट कि त भाँडा पसलमा हुन्छन्, कि त होटेलमा हुन्छन् ।
यो सरकारी होटेल । तर, होटेलै भए तापनि खानेबस्ने सुविधा छैन । बरु प्रशस्तै द्विविधा छ । कहाँ जाने ? के गर्ने ? कसलाई भन्ने ? कसलाई भेट्ने ? यहाँ तपाईंलाई खुवाउने हुन्न । बरु तपाईंले चाहिँ खुवाउनुपर्ने हुन सक्छ । ‘सेवा’ दिने र लिने काम हुन्छ । मेवा दिएर सेवा उछिट्याउने, सेवा दिने बहानामा मेवा लुड्याउँने काम हुन्छ । तपाईंका लागि एउटै मेनु छ– ‘हैरानी !’
सुखीराम मेवादार सेवा होटेलमा पुगे । होटेल ठुलो थियो । त्यो सानदार थियो कि खानदार ठम्याउन अलि गाह्रो थियो । भित्र छिर्नेबित्तिकै उनी फेरि चकित परे । यो फन्डा के को हो ? नवीकरणको कि चकितीकरणको ? पाइलैपिच्छे चकित मात्रै पारिरहेको छ ।
भित्रको दृश्य अनौठो थियो । कोही भुइँमा लडिरहेका थिए, कोही भित्तामा टाउको ठोकिरहेका थिए । कोही जोरजोरले हाँस्दै थिए । कोही रुँदै थिए । यो होटेल हो कि पागलखाना, छुट्याउन हम्मे थियो ।
उनी केही डराउँदै, केही सशंकित, केही चकित हुँदै, लाइन छिचोल्दै एउटा झ्याल पुगेर भने,‘साहुजी, मेरो ब्लुबुक नवीकरण गर्नु थियो ।’
काउन्टरको मान्छेले उनलाई घुरेर हेर्दै झिँजो पाराले भन्यो– ‘हाम्रो होटेलको ‘विशेष इम्बोस्ड थाल’ किन्नुभयो ?’
सुखीरामले भन्यो, ‘थाल ? मलाई खाना खानु छैन, काम मात्र गराउनु छ । भात म घरै खान्छु । दु:ख नगर्नुहोला !’
काउन्टरको मान्छे हाँस्यो,‘हा हा हा ! यो होटेलको नियम नै यही हो । यहाँ कुनै पनि सेवा लिनुअघि हाम्रो विशेष, अत्यन्तै आकर्षक, सानदार र अनिवार्य ’इम्बोस्ड थाल’ किन्नुपर्छ । मूल्य मात्र २५०० रुपैयाँ ।’
सुखीरामको सातो गयो । ‘२५०० को थाल ? यसको त चरेसकै थाल चारवटा आउँछ । सुनले, केले बनेको थाल हो यो ? के काम छ यो थालको ?’
‘यो चरेसको होइन, हरेसको थाल हो । जो यहाँ आएर यसको लफडा सुन्छ, हरेस खाएर जान्छ ।’ काउन्टरको मान्छेले उत्साहित हुँदै भन्यो, ‘यो थालले हाम्रो होटेलको इज्जत बढाउँछ । जब बाहिरबाट विदेशी पाहुनाहरू आउँछन्, उनीहरूले देख्छन् कि यहाँका ग्राहकहरू कति महँगो थालमा खान्छन्... सरी, सेवा लिन्छन् ! यसले राष्ट्रिय गौरव बढाउँछ ।’
सुखीरामले सोध्यो – नकिन्दा के हुन्छ ?
काउन्टरेले भन्यो – ‘सेवा हुन्न ।’
सुखीरामले भन्यो,‘तर नलगाए जरिवाना त छैन भन्थे नि ?’
काउन्टरले मुसुक्क हाँस्दै भन्यो,‘हो नि ! हामी जरिवाना ठटाउने काम गर्दैनौँ । हामी त सेवा नै दिँदैनौँ ।’
‘कुरा एउटै त हो, होइन र ?’
‘एउटै कुरा गर्न त अल्छी लाग्छ हामीलाई’ काउन्टरेले खैनी पट्पट् हातले पड्काउँदै मुखमा बुजो हाल्दै भन्यो, ‘दुइटा कुरा कसले गरोस् !’
सुखीरामले २५०० रुपैयाँ तिरेर त्यो नचाहिएको थाल किने । अनि खुसी हुँदै भने,‘ल अब त मेरो काम गरिदिनुस् ।’
काउन्टरेले लामो आङ तान्दै हाइ गर्दै भन्यो, ‘काम त हुन्थ्यो । तर, एउटा समस्या छ ।’
सुखीरामले सोध्यो,‘कस्तो समस्या ?’
काउन्टरेले भन्यो,‘हाम्रो होटेलको मुख्य भान्से ‘सर्भर बहादुर’ आज बिहानदेखि ध्यानमा बसेको छ ।’
सुखीराम फेरि चकित पर्यो, ‘ध्यानमा ? कहिले उठ्छ त ऊ ?’
‘त्यो त कसलाई के थाहा ? ऊ मुडी छ । कहिले हप्ताभरि सुत्छ, कहिले एकैछिनमा उठ्छ । उसलाई उठाउने एउटै तरिका छ ।’
‘के हो त्यो तरिका ?’ सुखीरामले उत्सुक हुँदै सोधे ।त्यही वेला एउटा चंखे मान्छे उनको छेउमा आयो । र कानमा स्याउँस्याउँ गर्दै भन्यो,‘भान्सेलाई ‘विशेष प्रसाद’
चढाउनुपर्छ । म पुजारी हुँ, मेरो साथमा आउनुस् । अलिकति ‘दक्षिणा’चाहिँ लाग्छ । म तुरुन्तै प्रसाद चढाएर भान्सेलाई उठाइदिन्छु ।’
सुखीरामको दिमाग तात्यो । एकछिन कन्चटभित्र चिट्चिट् गर्यो र फन्न घुम्यो । उनले चिच्याएर सोधे,‘यो कस्तो होटेल हो ? सेवा लिन आउँदा अनावश्यक थाल किन्नुपर्ने, भान्से ध्यानमा बसेको हुने, अनि उसलाई उठाउन पुजारीलाई दक्षिणा दिनुपर्ने ?’
त्यही वेला होटेलको म्यानेजर आइपुग्यो र सुखीरामको काँधमा हात राख्दै भन्यो,‘हे भाइ, तपाईंले हाम्रो होटेलको मर्म नै बुझ्नुभएन ।’
‘के मर्म छ तपाईंको होटलको ?’ सुखीरामले झोक्किँदै सोधे ।
म्यानेजरले आश्रमका १०३ महाराज इम्बोस्डानन्द बाबाजी पारामा भन्यो,‘हेर्नुस्, हाम्रो यो होटेल सेवा दिनका लागि खोलिएकै होइन । यो त नागरिकलाई ‘जीवनदर्शन’ सिकाउने एउटा गुरुकुल हो ।’
– लामो लाइनले तपाईंलाई ‘धैर्य’ सिकाउँछ ।
– यो झ्याल र त्यो झ्यालको दौडले तपाईलाई व्यायाम हुन्छ । तपाईंको ‘शारीरिक स्वास्थ्य’ राम्रो बनाउँछ ।
– ‘सर्भर बहादुर’को ध्यानले तपाईंलाई ‘अनिश्चिततामा बाँच्न’ सिकाउँछ ।
– पुजारी (दलाल)को ‘दक्षिणा’ले तपाईंलाई ‘समस्यामुक्त हुने कला’ सिकाउँछ ।
– र, यो ‘इम्बोस्ड थालले तपाईंलाई आफूसँग भएको पैसा अनावश्यक ठाउँमा खर्च गरेर पनि कसरी खुसी रहने भन्ने महान् ‘वित्तीय ज्ञान’ दिन्छ ।’
यो सुनेर सुखीरामको मुख हेर्न लायकको भयो । उसले त्यो २५०० सय रुपैयाँको थाल हातमा लियो, त्यसलाई एकपटक रिसले हेर्यो, र होटेलबाट बाहिर निस्कियो ।