
समुदायस्तरमै हैजा फैलिएपछि वीरगन्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ।
संक्रमणलाई ध्यानमा राखेर भदौ ११ देखि १३ गतेसम्म सामुदायिक र संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महानगरले जनाएको छ। यसअघि महानगरले आइतबार र सोमबार महानगरभित्रका सामुदायिक र निजी विद्यालयहरू सञ्चालन नगर्न आह्वान गरेको थियो।
मंगलबार एक सूचना जारी गर्दै महानगरले विद्यालय बन्द हुने अवधिसम्म सेवा क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा खटाउने निर्णय गरेको छ।
हैजा नियन्त्रणसम्बन्धी पोस्टर, पम्प्लेट तथा जनचेतनामूलक सामग्रीहरू शैक्षिक प्रशासन महाशाखाले विद्यालयहरूलाई उपलब्ध गराउने महानगरले जनाएको छ।