
विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा नाटक ‘एक चिहान’ मञ्चन हुनेछ। साहित्यकार हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित मनोसामाजिक उपन्यास ११ भदौ बुधबारदेखि मञ्चन हुने भएको हो।
माध्यमिक शिक्षा परिषद्ले अनिवार्य नेपाली पाठ्यक्रममा समावेश गरेको सो उपन्यासलाई अध्ययन÷अध्यापनमा सहजता आउने गरी मञ्चन गर्न लागिएको आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले बताए।
विराटनगर आसपासका विद्यार्थी तथा नव–कलाकारहरुको खोजी गर्दै नाट्य अभिनय कार्यशालासहित पूर्वाभ्यास गरिएको नाटकलाई भदौ महिनाभर नियमित प्रदर्शन गर्ने योजना रहेको नाटक संयोजक देवेन्द्र यादवले जानकारी दिए।
यादवका अनुसार प्रजातन्त्र प्राप्तिपछि विस्तारै मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक सम्मिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य, रुढीवादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वाभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ। समय फेरिए पनि भोगाई र अवस्थामा भएको समानताले नाटकलाई व्यापक बनाउँदै करिब सात दशकअघिको नेपाली समाजका विविध घटनाक्रम तथा निम्न वर्गीय नेपालीहरुले भोग्नुपरेको समस्याहरुलाई यथार्थपरक रुपमा नाटकमा प्रस्तुत गरिएको छ।
विद्यार्थीहरुको सहजताका लागि समाजले नारीलाई हेर्ने दृष्टिकोण, जातीय विभेदजस्ता विषयवस्तुमा व्यंग्यात्मक शैलीमा नाटक एक चिहानको कथावस्तुमा प्रस्तुत गरिएको छ।
नाटकमा अष्टनारानको भुमिकामा महेश पासवान, लतमायाको भुमिकामा संगीता यादव, शिवनारानको भुमिकामा उद्धव सापकोटा, हाकुमायाको भुमिकामा दिक्षा चौधरी, पुननारनको भुमिकामा गौरव खतिवडा, सिन्तलीको भुमिकामा उपासना राई, हर्षनारानको भुमिकामा शिवराज भुजेल, रामबहादुको भुमिकामा भरत कार्की, डाक्टर गोदत्तप्रसादको भुमिकामा प्रदीप दाहाल, रञ्जनादेवीको भुमिकामा अमिशा वाग्ले, रत्नमानको भुमिकामा सागर घिमिरे, सूरमान सुब्बाको भुमिकामा निशान चौहान राई र नानीथंकुको भुमिकामा दिव्याङ्का खड्काको अभिनय रहनेछ। केहि कलाकारहरुले दोहोरो पात्रको अभिनय गरेको समेत नाटकमा देखिनेछ।
सास्थम कलेज विराटनगरको प्रवद्र्धन तथा बगैंचा र विराट किचनको सहयोगमा प्रदर्शन हुने नाटकमा आवरण चित्रको रुपमा कलाकार राजन काफ्लेको चित्रकला, कवि रमेशचन्द्र अधिकारीको पाश्र्व आवाज, भरत कार्कीको प्रकाश र विकास पराजुलीको मञ्च परिकल्पना रहेको छ। नाटकको परिकल्पना तथा निर्देशन दिपेश भण्डारीले गरेका छन्।