
ललितपुर क्विन्सले थाइल्यान्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई आबद्ध गरेको छ । पोखरामा अर्को सातादेखि सञ्चालन हुने दोस्रो एभरेस्ट महिला भलिबल लिगमा सहभागिता जनाउन ललितपुरले आफ्नो तेस्रो विदेशी खेलाडीका रूपमा दारिनलाई अनुबन्ध गरेको छ । यसअघि ललितपुरले थाइल्यान्डकै वारन्या स्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको थियो ।
लिगका लागि काठमाडौंले सुरुवातमै तीनजना विदेशी खेलाडीको कोटा पूरा गरेको थियो । ३० वर्षकी दारिनसँग थाइल्यान्ड, दक्षिण कोरिया, चाइनिज ताइपेईजस्ता देशमा खेलेको अनुभव छ । उनी सम्मिलित थाइल्यान्डको राष्ट्रिय महिला भलिबल टोलीले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियन खेलकुद प्रतियोगितामा कांस्य पदक जितेको थियो ।
दारिनको आगमनसँगै टोली थप बलियो भएको ललितपुरले जनाएको छ । गत वर्षको संस्करणमा थाइल्यान्डका साथीहरूको प्रतिस्पर्धा हेरेका कारण नेपाल हुने लिगबारे आफूलाई राम्रोसँग जानकारी भएको उनले बताइन् । ‘गत वर्षको लिगमा साथीहरू खेलेको भएर हेरेकी थिएँ । यहाँको लिगबारे राम्रोसँग थाहा छ,’ दारिनले सोसल मिडियामा भनिन् । उनले करिअरमा विभिन्न विदेशी फ्रेन्चाइज टोलीमा आबद्ध हुँदै धेरै उपाधि जितेकी छिन् । यसपटक नेपालमा आएर उपाधि जित्ने योजना रहेको उनले सुनाइन् । ललितपुरको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेकी छिन् ।
ललितपुरले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरेको थियो । रूपसे होलिडेजले ललितपुरको मुख्य प्रायोजन गरेको छ । यसअघि पोखरा निन्जाजले सर्बियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमानलाई अनुबन्धन गरेको थियो । पोखराले पहिलो विदेशी खेलाडीका रूपमा केकमानलाई घोषणा गरेको थियो । केकमानसँग टर्की, फ्रान्स, ग्रिस, पोल्यान्ड, जर्मन बुन्डेसलिगा, रोमानियालगायतका शीर्ष लिगमा खेलेको अनुभव छ । उनले सर्बियाको यू–२० र यू–२१ राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरिसकेकी छिन् ।
पोखराको मार्कीमा प्रगति नाथ छिन् । प्रगति पहिलोपटक मार्कीको भूमिकामा देखिन लागेकी हुन् । यसैगरी, अर्को फ्रेन्चाइज टोली लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवरेभ गर्यो । लुम्बिनीले पहिलो विदेशी खेलाडीका रूपमा आउटसाइड हिटर जुवरेभलाई सार्वजनिक गरेको थियो । जुवरेभलेसँग रसिया, किर्गिस्तान, मंगोलिया र माल्दिभ्सको लिग खेलेको अनुभव छ । उनले पछिल्लो समय माल्दिभ्सको हुरा कम्युनिटी क्लबबाट खेल्दै आएकी थिइन् ।