मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ९ सोमबार o८:४२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्वतारोहण संघमा कांग्रेस–एमाले गठबन्धनलाई धक्का

अध्यक्षसहित अधिकांश पदाधिकारीमा माओवादी र रास्वपाले सघाएका समूह विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार o८:४२:oo

नेपाल पर्वतारोहण संघ (एनएमए)मा कांग्रेस–एमाले समर्थित गठबन्धन पराजित भएको छ । माओवादी र रास्वपाले सघाएका समूहले एमएनएको १८ मध्ये अध्यक्षसहित १५ पदमा विजयी हासिल गरेको हो । बाँकी तीन पद मात्रै कांग्रेस–एमाले समर्थित प्यानलले जितेको छ ।

एनएमएको आइतबार बिहान सम्पन्न निर्वाचनबाट अध्यक्षमा फुरगेल्जे शेर्पाले प्रत्याशि कुलबहादुर गुरुङलाई ५४ मतले पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवार शेर्पा तीन सय ४२ मत ल्याएर विजयी भए । अध्यक्षमा निर्वाचित शेर्पा झन्डै चार दशकदेखि पर्यटन क्षेत्रमा आबद्ध छन् । उनको ट्रेकिङ, होटेल, हेलिकोप्टरलगायत क्षेत्रमा लगानी रहेको छ । 

कांग्रेस–एमालेनिकट समूहलाई स्वतन्त्र र व्यावसायिक समूहले पराजित गरेको नवनर्विाचित अध्यक्ष शेर्पाले बताए । ‘म स्वतन्त्र हुँ, कुनै पनि पार्टीमा आबद्ध छैन, त्यसैले मैले स्वतन्त्र र व्यावसायिक साथीलाई समेटेर प्यानल बनाएँ र विजयी पनि भयौँ,’ उनले भने, ‘हामीलाई राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्रका साथै कांग्रेस–एमालेका व्यावसायिक साथीको साथ सहयोग भयो ।’ संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराएर आरोही, व्यवसायी, मजदुरलगायतको हकहित र विकासमा काम गर्ने समूहले विजयी हासिल गरेको उनले बताए । 

वरिष्ठ उपाध्यक्षमा तीन सय ४५ मत ल्याएर ईश्वरी पौडेल निर्वाचित भए । उनका प्रतिद्वन्द्वी टीका गुरुङले दुई सय ५८ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा भने सत्तागठबन्धननिकट समहूका मिङ्मा ग्याबो शेर्पा तीन सय ५९ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी काजी शेर्पाले दुई सय ५६ मत प्राप्त गरे । द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा र सचिवमा चन्दन थापा निर्वाचित भएका छन् । विजयी प्रथम उपाध्यक्षबाहेकका सबै पदाधिकारी स्वतन्त्र र माओवादी समर्थित समूहका हुन् । 

कोषाध्यक्षमा भने ङिमानुर्बु शेर्पा र सुमी लामा दुवैले समान तीन सय चार मत पाएपछि आधा–आधा कार्यकालको सहमति भएको बताइएको छ । त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देन्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।