मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ भदौ ९ सोमबार oo:o८:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्र सुस्त देखाउने राष्ट्र बैंकको तथ्यांक: विकास खर्च कमजोर बन्दा विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब नाघ्यो

अर्थशास्त्री भन्छन्– विदेशी मुद्रा सञ्चिति थुप्रिनु भनेको शरीरमा बोसो थुप्रिएजस्तै हो

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार oo:o८:oo

आर्थिक वर्ष ०८१/८२ मा देशको अर्थतन्त्र सुस्त नै रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । लक्ष्यभन्दा न्यून कर्जा प्रवाह, कमजोर मुद्रास्फीति र थुप्रिँदै गइरहेको विदेशी मुद्रा सञ्चितिको तथ्यांकले देशको आर्थिक गतिविधि चलायमान हुन नसकेको राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

केन्द्रीय बैंकले आव ०८१/८२ को मौद्रिक नीतिमार्फत निजी क्षेत्रतर्फ १२.५ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको थियो । तर, सो वर्ष ८.४ प्रतिशत मात्रै कर्जा विस्तार भएको छ । यसले निजी क्षेत्रको समष्टीगत गतिविधिमा सुधार आउन नसकेको देखाएको केन्द्रीय बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको विश्लेषण छ । उनले सरकारले शासकीय सुधार नगरेसम्म समष्टीगत अर्थतन्त्रमा सुधार ल्याउन नसकिने बताए । उनले भने, ‘सरकारले दिने सेवा प्रवाहमा पनि सुधार ल्याउनु जरुरी छ । निजी क्षेत्रलाई काम गर्ने वातावरण अझै बनेको छैन । छिटपुट सुधार ल्याएको छ, तर सरकारले समग्रमा सुधार ल्याउन सकेन । शासकीय सुधार ल्याएपछि मात्रै अर्थतन्त्रमा सुधार आउँछ ।’

मुद्रास्फीति ४.०६ प्रतिशत कायम छ । आर्थिक वर्ष ०८०/८१ मा यो दर ५.४४ प्रतिशत थियो । अर्थतन्त्र चलायमान हुने अवस्थामा मूल्य आफैँ माथि जान खोज्ने प्रवृत्ति हुने भएकाले कमजोर मुद्रास्फीतिले पनि आर्थिक गतिविधि सुस्त रहेको देखिएको थापाको भनाइ छ । 

उनले भने, ‘केन्द्रीय बैंकको यो तथ्यांक आफैँमा समष्टीगत अर्थतन्त्रको सूचकमा आधारित छ । त्यसैले कर्जा विस्तारको तथ्यांकले पनि समष्टीगत निजी क्षेत्रको गतिविधिलाई प्रतिनिधित्व गर्छ । आर्थिक गतिविधिमा ठुलो सुधार आएको छैन । कर्जा विस्तार लक्ष्यभन्दा अत्यन्त कम छ ।’ 

संघ, प्रदेश र स्थानीय सरकारको समष्टिगत ढुकुटीमा (सञ्चित कोष) एक खर्ब ३० अर्ब रुपैयाँ थुप्रिएको छ । तीन तहका सरकारबिच समन्वय अभावमा पुँजीगत खर्च बढ्न सकेको छैन । थापाले भने, ‘निजी क्षेत्रमा निराशा छाएको अवस्थामा सरकारले पुँजीगत खर्च बढाउनुपथ्र्याे । तीन तहका सरकारबिच संयोजनको अभाव देखियो । विकास निर्माणमा सरकारको सक्रियता कमजोर देखिन्छ ।’

सरकारले आँबुखैरेनी–पोखरा सडकखण्ड बनाएको चर्चा गरिरहे पनि पछिल्लो समय ठुला पूर्वाधारले गति लिन सकेको छैन । विगतमा काठमाडौं–तराईमधेश द्रुतमार्गका सुरुङमार्ग ब्रेक थ्रुका विषय चर्चा हुने गरेकोमा यसपालि खासै काम हुन सकेको छैन । थापाले भने, ‘कुनै पनि परियोजनामा डिपिआरमा काम भएको देखिन्छ, निर्माणमा काम भएको छैन । सरकारले समयमा भुक्तानी गरेको देखिँदैन । त्यसैले ढुकुटीमा पैसा थुप्रिएको छ । तीन तहका सरकारको आर्थिक गतिविधिलाई चलायमान बनाउने गतिविधि नै बढाउन सकेनन् ।’

०८१/८२ मा संघीय सरकारको कुल खर्च १५ खर्ब २३ अर्ब ११ करोड छ । यसमध्ये चालू खर्च नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगत खर्च दुई खर्ब २२ अर्ब ६८ करोड र वित्तीय व्यवस्था खर्च तीन खर्ब २० अर्ब चार करोड छ ।समीक्षा अवधिमा रकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ११ खर्ब ७८ अर्ब ८२ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व १० खर्ब ४९ अर्ब ८८ करोड र गैरकर राजस्व एक खर्ब २८ अर्ब ९४ करोड परिचालन भएको छ ।

अर्थतन्त्र सुस्त चित्र देखाउने अर्काे सूचक हो, ब्याजदर । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै लगिरहेका छन् । अधिक तरलताले आर्थिक गतिविधि चलायमान हुन नसकेको स्पष्ट चित्रण गरेको थापाको भनाइ छ । ०८१ असारमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.७७ प्रतिशत, विकास बैंकहरूको ६.६३ प्रतिशत र वित्त कम्पनीहरूको ७.९३ प्रतिशत थियो । ०८२ असारमा निक्षेपको भारित औसत वाणिज्य बैंकको ४.१९ प्रतिशत, विकास बैंकको ४.८८ प्रतिशत र वित्त कम्पनीको ६.०१ प्रतिशत कायम भएको छ । 

विकास निर्माण सुस्त हुँदा विदेशी मुद्रा थुप्रियो
राष्ट्र बैंकको तथ्यांकअनुसार ०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड थियो । ०८२ असारसम्म आइपुग्दा यो ३१.२ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । सरकारले विकास निर्माण र उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न नसकेकाले विदेशी मुद्रा सञ्चिति थुप्रिँदै गइरहेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापाको भनाइ छ । उनले भने, ‘अहिले थुप्रिएको विदेशी विनिमय सञ्चिति शरीरमा बोसो पलाएजस्तै हो । नेपालजस्तो देशका लागि विदेशी मुद्रा थुप्रिँदै जानु सकारात्मक विषय होइन । विदेशी मुद्राको सुविधा देश विकासमा खर्च हुनुपर्ने हो । अर्थतन्त्रको गतिहीनताले बोसोरूपी विदेशी मुद्रा सञ्चिति थुप्रिँदै  गएको हो ।’ 

आर्थिक वर्ष ०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

यस्ता छन् अर्थतन्त्रका परिसूचकहरू
आर्थिक वर्ष ०८१/८२ मा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेर १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोडको रेमिट्यान्स भित्रिएको थियो ।आव ०८१/८२ मा चालू खाता चार खर्ब नौ अर्ब २० करोडले बचतमा छ । अघिल्लो वर्ष ०८०/८१ मा चालू खाता दुई खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो । 

समीक्षा वर्षमा प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब दुई करोड भित्रिएको छ । अघिल्लो वर्ष ०८०/८१ मा यस्तो लगानी आठ अर्ब ४७ करोड थियो । समीक्षा वर्षमा शोधनान्तर स्थिति पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा थियो । 

आव ०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा वर्षमा भ्रमण आय ७.७ प्रतिशतले बढेर ८८ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड थियो । समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले बढेर दुई खर्ब २३ अर्ब ७२ करोड पुगेको छ ।

यसमध्ये शिक्षातर्फको व्यय एक खर्ब ३८ अर्ब ४८ करोड छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रहेकोमा शिक्षातर्फको व्यय एक खर्ब २५ अर्ब १३ करोड थियो ।आव ०८१/८२ मा कुल वस्तु आयात १३.३ प्रतिशतले बढेर १८ खर्ब चार अर्ब १२ करोड पुगेको छ । कुल वस्तु निर्यात ८१.८ प्रतिशतले बढेर दुई खर्ब ७७ अर्ब तीन करोड पुगेको छ ।