
काठमाडौंको गोकर्णेश्वरमा रहेको इस्टपोल स्कुलले विद्यार्थीको क्षमता अभिवृद्धि तथा सिर्जनशीलता विकासका लागि एकदिने ‘मिस्टर एन्ड मिसेस’ प्रतियोगिता आयोजना गरेको छ ।
शनिबार नेपाल पुलिस क्लबमा आयोजित प्रतियोगितामा ४७ विद्यार्थीले आ–आफ्नो क्षमता प्रस्तुत गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य विष्णु पुडासैनीले यस्तो प्रतियोगिताले विद्यार्थीको क्षमता विकास गर्ने र भविष्यको बाटो तय गर्ने बताए ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूमध्येबाट उत्कष्ट विद्यार्थीसमेत चयन गरिएको थियो । निर्णायकमण्डलको टिमले उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने विद्यार्थीलाई चयन गरेको थियो ।
निर्णायकमण्डलको टिममाा वरिष्ठ कलाकार भुवन चन्द, नम्रता श्रेष्ठ, अशोक दाहाललगायत थिए । विद्यार्थीले आफूसँग भएको क्षमता, आफ्नो रुचि र भविष्यमा के बन्ने भन्ने सन्दर्भमा प्रस्तुति दिएको विद्यालयका निर्देशक कुशल थापाले जानकारी दिए । ‘विद्यार्थीको क्षमता विकास र उनीहरूसँग भएको प्रतिभा उजागर गर्न यस्तो प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने, ‘यस्तो प्रतियोगिताले विद्यार्थीको सर्वांगीण विकासका लागि मद्दत पुर्याएको छ ।’
प्रतियोगितामा ४७ जना विद्यार्थी सहभागी थिए । सहभागीमध्ये प्रथम हुनेलाई पुरस्कारसमेत प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने छात्रातर्फ विदुषी शाह र छात्रतर्फ नूर दाहाल रहेका छन् ।
प्रथम हुने छात्र र छात्रालाई एक–एक वर्षको छात्रवृत्ति प्रदान गरिएको छ । त्यस्तै, सेकेन्ड हुने छात्रछात्रालाई ६ महिनाको छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रमका लागि इन्टरटेन्मेन्ट नेपालले विद्यालयसँग सहकार्य गरेको थियो ।