मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ८ आइतबार
  • Sunday, 24 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ८ आइतबार ११:५६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सात प्रदेशलाई सातवटा जहाज किन्ने सरकारको तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ८ आइतबार ११:५६:oo
  • कर्णालीमा हवाई उडान खुलाउन माग गर्दै मुख्यमन्त्री सिंहदरबारमा 
  • देशभर ५३ विमानस्थल, वायुसेवा निगमका दुईवटा मात्र ट्विनअटर

सरकारले सात प्रदेशमा सञ्चालन गर्ने उद्देश्यले सातवटा ट्विनअटर विमान खरिद गर्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा पहाडी जिल्लामा उडान गर्ने ट्विनअटर जहाजको अभावले नियमित हवाई सेवामा समस्या भइरहेको बताए । सोही समस्या समाधान गर्न हाल मन्त्रालयले सातै प्रदेशका लागि सातवटा ट्विनअटर जहाज खरिद गर्ने प्रस्ताव अघि बढाएको उनले जानकारी दिए । यसका लागि विषयगत समितिमा प्रस्ताव अघि सारेको समेत उनले बताए । पारदर्शी मोडेलमार्फत नयाँ विमान खरिद गरी निजी क्षेत्रसँगको सहकार्यमा सेवा विस्तार गर्ने उनको भनाइ छ । उनले भने, ‘नेपाल एयरलाइन्सका दुईवटा ट्विनअटर जहाजका आधारमा मात्र समस्या समाधान हुँदैन । दीर्घकालीन सोचका साथ नयाँ विमान थप्नैपर्छ ।’

मन्त्री पाण्डेले मुलुकभर ५३ वटा विमानस्थल रहे पनि अहिले सीमित संख्यामा मात्रै जहाज सञ्चालन भइरहेको तथ्य औँल्याए । उनले भने, ‘हाम्रो देशमा ५३ वटा विमानस्थल छन्, तर ट्विनअटर विमानको संख्या घट्दै गएको छ । यसरी विमान घट्दै गएमा दुर्गम क्षेत्रका नागरिकको जीवन झनै कठिन हुन्छ । हुम्ला र लुक्लाबाहेक अरू धेरै विमानस्थल प्राय: निष्क्रिय बनेका छन् ।’

कर्णालीका दुगर्म क्षेत्रमा हवाई उडानलाई नियमित बनाउने पहलकदमी लिएर संघीय राजधानी काठमाडौंको सिंहदरबार आएका प्रदेश मुख्यमन्त्री यमलाल कँडेल नेतृत्वको टोलीले संघीय पर्यटनमन्त्री र विमान कम्पनी सञ्चालकसँग छलफल गरेका थिए । शुक्रबार सुर्खेत विमानस्थलबाट कर्णालीका विभिन्न जिल्लामा हवाई उडान सञ्चालन गर्ने सम्बन्धमा आयोजित बृहत् छलफल कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले जहाज अपुग भएको जवाफ दिएका थिए । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल नेतृत्वको टोलीले सुर्खेतलाई आधार बनाएर सञ्चालन हुने हवाई उडान नियमित बनाउन संघीय सरकारको ध्यानाकर्षण गराएको थियो । छलफलमा मुख्यमन्त्री कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, प्रदेश मन्त्रीहरूका साथै सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो । छलफलका क्रममा सहभागीले कर्णाली प्रदेशका पहाडी जिल्लामा भर्खरै मात्र सडक सञ्जाल पुगेको र भौगोलिक कठिनाइका कारण हवाई सेवा अपरिहार्य रहेको धारणा राखेका थिए । मुख्यमन्त्री कँडेलले प्रदेश सरकार हातेमालो गर्न तयार रहेको भन्दै स्पष्ट कार्ययोजना बनाउन आग्रहसमेत गरेका थिए । उनले अनुमति लिँदाको समयमा गरिएको प्रतिबद्धता पालना गर्नुपर्नेमा जोड दिँदै सुर्खेत विमानस्थललाई ‘ट्विनअटर हब’का रूपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।

ट्विनअटर जहाज सञ्चाल गर्ने सीता एयरलाइन्सका प्रतिनिधिले यात्रु अभावकै कारण नियमित उडानमा कठिनाइ भएको बताए । एक प्रतिनिधिले सुर्खेतलाई आधार बनाएर केही उडान गरिरहेको जानकारी दिँदै जुम्ला, सिमिकोटलगायत क्षेत्रमा यात्रु भेटिए मात्र उडान गर्नुपर्ने बाध्यता रहेको बताए । राज्यले विशेष सहुलियत दिनुपर्ने माग पनि ती प्रतिनिधिको थियो । 

नागरिक उड्डयन प्राधिकरणले दियो विकल्प
पर्यटनमन्त्री र विमान सञ्चालकले असमर्थता देखाए पनि नागरिक उड्डयन प्राधिकरणले भने विकल्पसहित सम्भावना देखाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सुर्खेत विमानस्थललाई प्रादेशिक हबका रूपमा विकास गर्ने सम्भावना रहेको बताए । उनका अनुसार नेपाल एयरलाइन्ससँग सहकार्य गर्दै अन्य निजी कम्पनीलाई समेत सामेल गरेर सुर्खेतबाट विभिन्न दुर्गम जिल्लामा नियमित उडान गर्न सकिनेछ । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले ट्विनअटर जहाजको कमीका कारण दुर्गम जिल्लामा सेवा विस्तार गर्न नसकिएको भन्दै प्राधिकरणको विकल्प नै ओझेलमा पारे । उनले भने, ‘सम्बन्धित निकायसँग प्राविधिक छलफल गरेर मात्र सुर्खेतलाई आधार बनाएर उडान सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने टुंगोमा पुग्नेछौँ ।’