
कोशी प्रदेश सरकारको लगानीमा दमक नगरपालिकाले दमक– ८ मा निर्माण गरेको जैविक कृषि बजार निर्माण सम्पन्न भएको दुई वर्ष हुन लाग्दा पनि प्रयोगमा आउन सकेको छैन । अर्गानिक सब्जी व्यापारका लागि करिब चार करोडमा निर्माण भएको कृषि बजार प्रयोगविहीन भएको हो । जसकारण कृषि बजारका लागि निर्माण भएको संरचना अलपत्र परेको छ ।
कोशी प्रदेश सरकार र दमक नगरपालिकाको तीन करोड ८३ लाख ६० हजार १६२ रुपैयाँको लागतमा दमक नगरपालिकाले निर्माण गरेको यो कृषि बजार पनि प्रयोगमा आउन सकेन । ८ मंसिर ०८० मा कृषि बजारको निर्माण सकिए पनि दुई वर्षसम्म नगरपालिकाले प्रयोगमा ल्याउन सकेको छैन ।
कृषि बजारको संरचना प्रयोगमा नआउँदा दमक नगरपालिकाले भाडा लिएर अन्य बजार लगाउन दिँदै आएको छ । केही समयअघि यो संरचनामा जुत्ता–चप्पल मेला लागेको थियो । यद्यपि, यो रैथाने कृषिउपजको व्यापारका लागि बजारका लागि बनाइएको हो । कार्ययोजनाविना संरचना मात्र बनाउँदाको उदाहरण बनेको छ, दमकको जैविक कृषि बजार ।
यो जैविक कृषि बजार रैथाने उत्पादनको प्रवद्र्धन र व्यापारका लागि निर्माण गरिएको दमक नगरपालिकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले बताइन् । झापास्थित दमकका छिमेकी स्थानीय तहसँगै इलाम र पाँचथरका रैथाने कृषिउपज बिक्री गर्ने योजनाका साथ कृषि बजार निर्माण गरिएको उनले बताइन् । ‘यो रैथाने उत्पादन बिक्री गर्ने उद्देश्यले बनाइएको कृषि बजार हो । रैथाने उत्पादनको मार्ट बनाउने योजना हो । दमक र छिमेकी पालिकाको कृषि उपजले मात्र १२ महिना नै हुँदैन । तसर्थ छिमेकी जिल्ला इलाम र पाँचथरका कृषि उत्पादन पनि ल्याउने गरिको योजना हो,’ उनले भनिन्, ‘यहाँ दुईवटा शीतभण्डार पनि छन् । यसलाई सञ्चालन गर्न कार्यविधि पनि बनाएका छौँ । तर, न्यूनतम स्टिमेट गर्दा पनि महिनाको चार लाख भाडा आयो । यसलाई केही संशोधन गर्न सकिन्छ कि भनेर धेरै छौँ । त्यसपछि सूचना निकालेर सञ्चालन गर्छौँ ।’
दमक नगरपालिका प्रमुख रामकुमार थापाले भने कृषि बजारको संरचना सब्जी बजार सञ्चालनका लागि उपयुक्त नभएको बताए । उनले संरचनाकै कारण कृषि बजार भाडामा लाग्न नसकेको दाबी गरे । यद्यपि, कृषि बजार सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको र कार्यविधि बन्दै गरेको उनको भनाइ छ । ‘बजार सञ्चालनका लागि कार्यविधि बनाउने प्रक्रिया अघि बढाएका छौँ । सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने कि भन्ने पनि सल्लाह हुँदै छ । कसैलाई ठेक्का दिएर वा नगरपालिकाले व्यवस्थापन गरेर सिधै किसानले बेच्ने ठाउँका रूपमा विकास गर्ने कि भन्ने पनि छ,’ उनले भने, ‘संरचना अलिक सब्जी बजारको जस्तो छैन । हलहरू छन् । यो त होलसेल बजार राख्नेजस्तो छ । के प्रपोजका लागि बनाएका हो थाहा भएन । तैपनि यसलाई हामी चाँडै सुरु गर्छौँ ।’
दमकमा यो सब्जी बजार मात्र होइन, संरचना निर्माण गरेर प्रयोगविहीन भएका अन्य करोडौँका योजना पनि छन् । संघीय सरकारले दमक– ९ मा ३० करोड लागतमा निर्माण गरेको दमक सभागृह पनि प्रयोगविहीन भएर अलपत्र बनेको छ । यस्तै, डेढ अर्बभन्दा बढीको लगानीमा दमक– ३ मा निर्माण भएको दमक भ्यु टावर पनि प्रयोगमा आउन सकेको छैन ।