मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ८ आइतबार
  • Sunday, 24 August, 2025
२o८२ भदौ ८ आइतबार o९:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरले जडान गर्‍यो उपत्यकामा पहिलोपटक अर्ली वार्निङ प्रणाली 

नदीमा पानीको वहाव बढेपछि घण्टीले दिन्छ सूचना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ८ आइतबार o९:२५:oo

ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपतकाे पूर्वजानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले हाल पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो ।

यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो ।  वडा नं. २८ हरिसिद्धिस्थित कर्मनाशा पुल र वडा नं. ४ नक्खु खोलानजिकै यो प्रणाली जडान गरिएको महानगर विपत् व्यवस्थापन शाखाले जनाएको छ । 

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदीनजिकै यो प्रणाली जडान गरिएको बताए । उनले भने, ‘यी दुईवटा नदीवरपरका अन्य वडाहरूलाई पनि सचेत हुन यो प्रणालीले मद्दत गर्छ ।’

नदीमा पानीको बहाब बढेपछि घन्टी बज्छ, यो घन्टीले सचेत हुन र आवश्यक सावधानी अपनाउन मद्दत गर्छ । आवश्यक भए अन्यत्र पनि जडान गर्ने महानगर प्रमुख महर्जनले बताए ।

महानगर विपत् व्यवस्थापन शाखाका अनुसार झन्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ । बाढीको अवस्थाबारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिनसमेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ । अर्ली वार्निङ सिस्टम जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको नगर प्रमुख बताए ।

ललितपुर महानगरले विपत् व्यवस्थापनका लागि एउटै छानामुनि विपत् व्यवस्थापनमा आवश्यक जनशक्ति र सामग्रीहरूको व्यवस्थापन गरेको छ । पुल्चोकस्थित नगरप्रहरी बल कार्यालयमा नगरप्रहरी, दमकल, शववाहन, डुंगाको व्यवस्थापन गरेको छ । यसैगरी, विपतकाे वेलामा प्रयोग गर्नुपर्ने अन्य सामग्रीहरू पनि त्यहाँ राखिएको छ ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले विपत् भइहाले आवश्यक पर्ने सबै संयन्त्र एकैपटक पुगोस् भन्ने हेतुले एकै छानामुनि सबै संयन्त्रको व्यवस्था गरेको बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यासअनुसार विपत् व्यवस्थापनका वेला जनशक्तिसँगसँगै एम्बुलेन्स पनि सँग जानुपर्छ, हामीले यो अभ्यासलाई ललितपुर महानगरमा प्रयोग गरेका छौँ । महानगरले अघिल्लो वर्ष असोजको दोस्रो साता आएको बाढीमा उद्धारका लागि डुंगाको अभाव भएपछि महानगरले केही महिनाअघि डुंगा खरिद गरेको छ । यसका साथै सानाठुला गरी ६ वटा दमकल महानगरसँग छन् । यस्तै, गल्लीभित्र पसेर आगो निभाउन सक्ने दमकल पनि महानगरसँग छन् ।’

महानगरले विभिन्न कारणले हुने विपतबाट जोगिन वडास्तरसम्म पुगेर सचेतना कार्यक्रम पनि आयोजना गरेको छ । महानगरको वन, वातावरण तथा विपत् व्यवस्थापन समितिले वडैपिच्छे विपत् व्यवस्थापन र सचेतनाका लागि वडास्तरीय स्वयंसेवक समूह गठन गर्ने तयारीसमेत गरेको छ ।