मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 23 August, 2025
Invalid date format १o:११:oo
Read Time : > 2 मिनेट
फिचर प्रिन्ट संस्करण

आहा ! ढोरपाटन : आन्तरिक पर्यटनको नयाँ ‘हटस्पट’

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:११:oo

मध्य वर्षा, उकालो र चिप्लो कच्ची सडक, मोटरसाइकल, पिकअप जिप र स्कार्पियोको कष्टकर यात्रा । बाग्लुङको बुर्तिबाङ बजारदेखि ३६ किलोमिटरको कच्ची सडक झन्डै सवा दुई घण्टाको उकालोको यात्रापछि ढोरपाटन छिर्ने नाकाको रूपमा रहेको देउराली पुगिन्छ । देउराली डाँडामा नाउर र झारलको स्तम्भले ढोरपाटनमा स्वागत गरिरहेका छन् । यहाँबाट विभिन्न रंगले फुलेका बुकी र मनोरम समथर मैदान देखिन्छ । यही प्राकृतिक मनोरम दृश्य ढोरपाटन सिकार आरक्ष क्षेत्रको दृश्यले यहाँ आउने पर्यटकलाई उकालोमा जाँदाको थकान नै मेटाइदिन्छ ।

ढोरपाटन पर्यटनको गज्जब गन्तव्यको रूपमा विकास भएको छ । त्यहाँ पुगेपछि सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक् रहनसहन, परम्परागत रूपमा बनेका घरगोठहरू र घोडचढीले पर्यटकको मन लोभ्याउँछ । बागलुङ, म्याग्दी र रुकुमको संगमस्थलमा फैलिएको आरक्ष क्षेत्र आन्तरिक पर्यटनको ‘हटस्पट’ बन्दै गएको छ । 

नेपालको एक मात्र सिकार आरक्षको रूपमा रहेको ढोरपाटन क्षेत्रमा रहेका उत्तरगंगा, ढोरबराह, बुकीपाटन, जलजला, गुम्बा, गर्पाछेडा लेक, भेडीगोठ यहाँको प्राकृतिक सौन्दर्यका कारण ढोरपाटन आन्तरिक तथा बाह्य पर्यटकको ‘हटस्पट’ बन्दै गएको हो । 

विशेष गरी, असारदेखि भदौसम्म फुल्ने विभिन्न रंगका बुकी, गर्पाछेडा लेक, बुकीपाटन, टीकाधारा क्षेत्रमा देखिने सौन्दर्यताले बर्खामा पनि पर्यटकलाई लोभ्याएको छ । अहिले ढोरपाटन क्षेत्रमा दैनिक तीन सयको हाराहारीमा पर्यटक पुग्ने गरेका छन् । 

फूलसँग रमाउनेहरू 
जैविक विविधता र संरक्षणकै सन्दर्भमा मात्र परिचित यो गन्तव्य अहिले यहाँ फुल्ने बुकी फुल हेर्न र घुम्नकै निम्ति युवायुवतीदेखि पाका पुस्तासँगै प्राकृतिक प्रेमी र पदयात्रा रोज्नेहरूको रोजाइमा पर्न थालेको छ । स्थानीयले राके फूलका रूपमा चिन्ने वनफूललाई सिकार आरक्षले नाकेफुली, बुकीफूल, मदानेफूललगायतको नाम दिएको छ । फूलसँग रमाउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटमा चहलपहल बढेको छ ।

सामाजिक सञ्जालमा ढोरपाटनको घोडा चढ्ने र फूलहरूसँग रमाउने गरेको देखेपछि साउनेझरीको प्रवाह नै नगरी परिवारसहित ढोरपाटन पुगेका बुटबलका अस्मित केसी ढोरपाटन घुम्न आउनेका लागि गज्जबको गन्तव्य भएको बताउँछन् । विगतमा ढोरपाटन पुगेपछि उपत्यका मात्र घुमेर फर्किने पर्यटक यस वर्ष बुकी, फागुनेधुरी र जलजलासमेत पुगेका छन् ।

‘मैले सुनेको ढोरपाटन त उपत्यका मात्रै भन्ने थाहा थियो । गुर्जाघाट, जलजला र बुकीपाट झनै रमणीय रहेछन् । हामी गर्पा छेडा हुँदै बुकीपाटन पुग्यौँ,’ उनले भने, ‘बुकी पुग्नका लागि झन्डै चार घण्टा लाग्यो, एक दिन माथि गोठस्टेमा नै बस्यौँ, बाटो चिप्लो थियो, तर ती क्षण यादगार बनेका छन् ।’

सामाजिक सञ्जालले बढायो पर्यटक
पछिल्ला केही वर्षमा सामाजिक सञ्जालमा ’ढोरपाटन यात्रा’, ‘ढोरपाटन ट्रेक’, ‘आहा ढोरपाटन !’ जस्ता ह्यासट्याग देखिन थालेका छन् । बुकीफूल, घोडा चढ्ने रमाउने, भेडाको बथान, गोठ र समथर मैदानका फोटाले धेरैको मन लोभ्याएको छ ।

घुमफिरलाई ‘लाइफस्टाइल’ बनाएका युवाहरूको उत्साहले ढोरपाटन चर्चामा आएको बागलुङ बजारदेखि ढोरपाटन घुम्न गएका बालकृष्ण शर्मा बताउँछन् । उनी भन्छन ‘ढोरपाटन पुग्न सजिलो छैन । तर एकपटक पुग्ने जोकोही भन्छन्, यात्रा कठिन हो, तर गन्तव्य अद्वितीय छ ।’

ढोरपाटन आउने पर्यटकको संख्या बढेपछि यस क्षेत्रमा सञ्चालित होटेल व्यवसायसमेत फस्टाउन थालेको छ । पाखाथर होमस्टेका सञ्चालक सीता बुढामगर भन्छिन्, ‘दुई वर्ष पहिले यहाँ आउने पर्यटक पाटनको बुकी हेर्न जाने गर्थे, अहिले माथि बुकीपाटन, जलजला क्षेत्रमा जान लागेपछि घरवास र होटेल व्यवसाय पनि फस्टाउन थालेको छ ।’ बुकीफूललाई पर्यटकले अत्यधिक रुचाएपछि त्यसको संरक्षणमा ध्यान दिनुपर्ने सीताको भनाइ छ । होटेल तथा होमस्टेमा झन्डै ३५० जनालाई राख्न सक्ने क्षमता रहेको व्यवसायीहरू बताउँछन् । बिदाको वेला देशका विभिन्न जिल्लाबाट दैनिक तीन सय आन्तरिक पर्यटक ढोरपाटन भ्रमणमा आएको ढोरपाटन सिकार आरक्ष संरक्षण अधिकृत पशुपति अधिकारी भन्छिन्,‘विगत केही वर्षदेखि बर्खायाममा पनि पर्यटक आउने गरेका छन् । यसका साथै आरक्षणमा रहेको संग्रहालय हेर्ने पर्यटक पनि बढ्दै गएका छन् । संग्रहालयमा आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपन्छीको छालासमेत राखिएको छ ।’

आव ०८१/८२ मा ढोरपाटन क्षेत्रमा २३ हजार ९६२ पर्यटक आएका छन् । यसमा २३ हजार ४६७ जना नेपाली रहेका छन् भने १२ जना सार्क राष्ट्र र २१३ जना विदेशी रहेको संरक्षण अधिकृत अधिकारीले जानकारी दिए । पर्यटकीय गन्तव्यसँगै धार्मिक रूपमा पनि परिचित ढोरपाटनमा ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर रहेका छन् । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने गन्तव्य हो । उपत्यका क्षेत्रमा घोडामा घुमेको प्रतिव्यक्ति दुई सयदेखि पाँच सय रुपैयाँ तिर्नुपर्दछ । अहिले पर्यटकको संख्या बढेसँगै व्यावसायिक रूपमा घोडापालन गर्नेको पनि राम्रै आम्दानी भएको छ । दैनिक २०–२२ जनालाई घुमाउने गरेको घोडाचालक फाजेन्दै विक बताउँछन् । 

कसरी पुग्ने ढोरपाटन ?
रुकुम पूर्व, म्याग्दी र बागलुङ गरी तीन जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन आरक्षको मुख्य कार्यालय बाग्लुङको ढोरपाटन नगरपालिका–९ मा छ । पोखराबाट मध्यपहाडी लोकमार्ग पछ्याउँदै बस, गाडी वा बाइकमा बागलुङ सदरमुकाम हुँदै झन्डै चार घण्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङबाट लोकमार्गलाई छाडेर अधिकारीचौर, बोबाङ हुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप, बाइक वा बसमार्फत झन्डै दुई घन्टाको यात्राबाट ढोरपाटन पुग्न सकिन्छ ।