
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले आफ्ना आफन्तलाई करार करार सेवाको कर्मचारीमा नियुक्त गरेको फेला परेको छ। केही महिना अगाडि प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरको कर्मचारीमा आफ्नो साला र सालाकी श्रीमतीसहितका आफन्तलाई नियुक्त गरेको फेला परेको हो ।
कर्मचारी स्रोतका अनुसार उनले आफ्नो साला शम्भु कुमार कर्णलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेका छन् । अहिले उनी नगर उपप्रमुखको सचिवालयमा कार्यरत छन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत कर्णले आफ्नो सालाकी श्रीमतीलाई शिक्षक पदमा नियुक्त गरेको महानगरकै कर्मचारीहरुले जनाएका छन्। केहि महिनाअगाडि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्ण अहिले पदको दुरुपयोग गर्दै आफन्त र नातागोतालाई जागिर दिन थालेका छन्।
यस्तै प्रमुख प्रशासकीय अधिकृतले अर्को आफन्त अर्चना कर्णलाई नियुक्त गरेका छन्। उनी अहिले प्रमुख प्रशासकिय अधिकृत कै सचिवालयमा कार्यरत रहेकी छन्। यसअघि उनी बहिरा विद्यालयमा कार्यरत थिइन् । प्रशासकीय अधिकृत कर्णले अर्को आफन्त राजेन्द्र कुमार कर्णलाई पनि नियुक्त गरेका छन् । राजेन्द्रलाई आन्तरिक लेखा परिक्षक पदमा नियुक्त गरेका छन् ।अहिले उनी आन्तरिक परिक्षक शाखामा कार्यरत छन् ।
केहि महिना अगाडि महानगरपालिकाका नगर प्रमुख र उपप्रमुखको अग्रसरतामा कर्मचारी नियुक्त गर्ने सहमति भएपछि उनले पनि आफ्नो भागमा कर्मचारी कोटा लिएको कर्मचारी स्रोत बताउँछ । उनले आफ्नो भागमा परेको केहि कर्मचारीको कोटा आर्थिक लेनदेन गर्दै बेचेको पनि उनी निकट भएर काम गरेका कर्मचारीहरु बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत कर्ण विगत ७ वर्षदेखि महानगरपालिका कार्यालयमै कार्यरत रहेका छन् । उनी यसअघि शैक्षिक प्रशासन महाशाखाका प्रमुखको जिम्मेवारी थिए । पछिल्लो समयमा वीगन्ज महानगरपालिका कार्यालयमा कामको आवश्यकता अनुसारको कर्मचारी नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए ।