मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ७ शनिबार
  • Saturday, 23 August, 2025
२o८२ भदौ ७ शनिबार १४:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा मिचाहा प्रजातिका वनस्पति विस्थापन र व्यवस्थापन अभियान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ७ शनिबार १४:५३:oo

वन तथा खेतीयोग्य जमिन मिचाहा वनस्पतिले ओगट्न थालेपछि सल्यानमा यसको विस्थापन र व्यवस्थापनको अभियान थालिएको छ । वनस्पति अनुसन्धान केन्द्र सल्यान, जिल्ला प्रशासन कार्यालय सल्यान र जिल्ला वन कार्यालय सल्यानको संयोजनमा जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको मिचाहा वनस्पतिको विस्थापन र व्यवस्थापन सुरु गरिएको छ । 

सल्यानमा दर्जन बढी मिचाहा प्रजातिका वनस्पति रहेको पाइएको छ । काँडेबनमारा, कालो बनमारा, सेतो बनमारा, सेतो गन्धे झार, निलो गन्धे झार, पटपटे, पाती झारलगायतका दर्जनभन्दा बढी मिचाहा वनस्पति पाइएको वनपति अनुसन्धान केन्द्र सल्यानले जनाएको छ। विगतका वर्षहरूमा यस्ता वनस्पति जिल्लामा नभए पनि पछिल्ला केही दशकयता भने यी वनस्पतिले धेरै क्षेत्र ओगटी सकेको वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा. मित्र पाठकले बताए। उनले भने, ‘जैविक विविधताको नाश गर्ने मुख्य कारकमध्ये एक मिचाहा प्रजातिलाई मानिन्छ । रैथाने प्रजातिका वनस्पतिलाई पछि पार्ने वा तिनकै शिकार गरेर यस्ता प्रजातिको असर देखिएको छ ।’ 

किसानका खेतबारीदेखि घरआँगन र वनजंगल जता पनि मिचाहा प्रजातिका वनस्पति फैलिएका छन्। यसले माटोमा प्रतिकूल असर पार्नुका साथै स्थानीय उत्पादनमा समेत ह्रास ल्याउनुका साथै पारिस्थितिकीय प्रणालीमा समेत प्रभाव पारेको  छ । मिचाहा वनस्पतिकै कारण तरकारी खेतीको उत्पादनमा समेत ह्रास आउन थालेको कपुरकोट गाउँपालिका ३ मूलपानीकी किसान मीनकुमारी बुढाथोकीले बताए। वस्तुभाउले पनि नखाने र तरकारी लगाउने खेतबारीमा समेत फैलिएका कारण उत्पादनमा समेत कमी आउन थालेको उनकाे भनाइ छ । उनले भने ‘कपुरकोट तिर पहिले यस्तो झार देखिएको थिएन । पाँच छ वर्ष देखि यो देखिन थालेको हो । अहिले आफूले उपभोग गर्दै आइरहेको खेतबारीमा समेत फैलिन थालेको छ। जसका कारण उत्पादन घट्दै गएको छ भने वस्तुभाउलाई खुवाउने घाँससमेत हराउन थालेको छ ।’

मिचाहा वनस्पतिको तिब्र फैलावटले पारिस्थितिक प्रणाली र खाद्यचक्रमा नै असर गरेको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले बताए । मिचाहा वनस्पतिका कारण स्थानीय तथा रैथाने  र लाभदायी वनस्पतिहरू लोप हुँने अवस्थामा पुगेको उनको भनाइ छ । चालू आर्थिक वर्ष ०८२/८३ लाई गाउँपालिकाले हरित वर्ष घोषणा गरेको बताउँदै पौडेलले भने, ‘हरित वर्षअन्तर्गत खाद्यचक्रमा असर गर्ने तथा रैथाने वनस्पतिलाई विस्थापन गर्ने मिचाहा वनस्पतिको प्रतिस्थापन गर्दै बहुआयामिक वनस्पतिहरू रोप्ने कार्यक्रम छ ।’ 

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवदीले मिचाहा वनस्पतिले कृषिसँगै वन वातावरणलाई नै असर गरेकाले यसलाई हटाउने र न्यूनीकरण गर्ने अभियानको सुरुवात गरेको बताए। मिचाहा प्रजातिको प्रकृति हेरी केहीलाई व्यवस्थापन र केहीलाई विस्थापन गर्ने कार्य भइरहेको उनले भने । उनले भने, ‘कतिपय वनस्पतिलाई जैविक मल बनाउन सकिने खालका छन् भन् केहीलाई विस्थापन नै गर्नुपर्नेछ। विस्थापन गरिएको स्थानमा जडीबुटी र फलफूलका बिरुवा रोपन कार्यलाई अघि बढाइएको छ।’