मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
२o८२ भदौ ५ बिहीबार १६:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीयको विरोधबिच स्वास्थ्यमन्त्री पौडेलले गरे गेटामा आकस्मिक कक्ष उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १६:३६:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटा अस्पतालमा आकस्मिक कक्षको उद्घाटन गरेका छन्। मन्त्री पौडेलले भित्र आकस्मिक कक्ष उद्घाटन गर्दै गर्दा अस्पताल गेटबाहिर स्थानीयले विरोध प्रदर्शन गरेका थिए।

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि दबाब दिन गठन भएको संघर्ष समितिको अगुवाइमा विरोध प्रदर्शन भएपछि हिजो गर्ने भनिएको आकस्मिक कक्षको उद्घाटन रोकिएको थियो। अस्पतालको मूल गेटबाट भित्र गएका मन्त्री पौडेल फर्कने वेला भने मूल गेटमा स्थानीयले विरोध गरिरहेकाले अर्को गेटबाट निस्केका थिए।

उनले आकस्मिक कक्षको उद्घाटनसँगै अस्पतालको निरीक्षण गरे। अस्पतालका निर्देशक डा. प्रदीप यादवले अस्पतालको सेवालगायत विषयमा मन्त्रीलाई जानकारी गराएका थिए। उनले उपलब्ध उपकरणको प्रयोग गरेर सेवा दिन कर्मचारीलाई निर्देशन दिए। अस्पताल जाँदा विरोध छिचोलेर गएका मन्त्री पौडेलले आकस्मिक कक्षको उद्घाटनपछि आफैँले नेतृत्व गरेको अस्पताल आउन पनि झमेला भएको बताएका थिए।

गेटामा ६ सय शय्याको अस्पताल र चिकित्सा शिक्षाको पठनपाठनका लागि ६ अर्ब ६८ करोड लागतमा भवनहरू निर्माण गरिएका छन्। सरकारले भने ५० शय्याको मात्र अस्पताल सञ्चालन गरिरहेको छ। त्यसमा पनि दरबन्दीअनुसार जनशक्ति छैन। 

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि यससम्बन्धी ऐन पारित भइसकेको छ। ऐन पारित भएको दुई महिनासम्म पनि सरकारले विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि नबढाएको, ६ सय शय्याको अस्पताल सञ्चालन गर्न निर्माण गरिएका संरचनामा ५० शय्यामा सीमित रहेको अवस्थामा १० शय्याको आकस्मिक कक्ष उद्घाटन गर्न लागिएको भन्दै समितिले विरोध गरेको हो।

स्थानीय एवं संघर्ष समितिमा आबद्ध लोकेन्द्र धामीले प्रहरी लगाएर मन्त्रीले आकस्मिक कक्षको उद्घाटन गरेको बताए। मूल गेटको विरोध छलेर मन्त्री पछाडिको गेटबाट निस्किएको धामीले बताए।

६ सय शय्याको अस्पताल सञ्चालन गर्ने भनेर संरचना निर्माण भएका ठाउँमा १० शय्याको आकस्मिक कक्ष उद्घाटन गर्नु लाजमर्दो कुरा भएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले बताए। संघर्ष समितिले गेटामा तत्काल तीन सय शय्याको अस्पताल सञ्चालन गर्न र विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्न माग गर्दै आएको छ।
 
यसअघि बुधबार दिउँसो अस्पतालको आकस्मिक कक्ष उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो। तर, मन्त्री काठमाडौंबाट धनगढी आइनपुग्दै स्थानीयले गेटा पुगेर विरोध सुरु गरेपछि उद्घाटन कार्यक्रम स्थगित गरिएको थियो। गेटामा आकस्मिक कक्ष उद्घाटनपछि मन्त्री पौडेल डडेल्धुरा प्रस्थान गरेका छन्।