
इन्डियन आयल कर्पोरेसन (आइओसी)ले मल कारखाना, इथानोल मिश्रण र हाइड्रोजन बस सञ्चालनका लागि आयल निगमका अधिकारीले गरेको सहयोगसम्बन्धी प्रस्तावमा सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट नेतृत्वको निगम टोलीले बुधबार दिनभर दिल्लीस्थित आइओसी अधिकारीसँग छलफल गरेको थियो ।
निगमको टोलीमा नायब कार्यकारी निर्देशक दीपक बराल र पूर्ण रिजाल तथा निर्देशकद्वय विनितमणि उपाध्याय र सुरज साह छन् । निगम टोलीले आइओसीको अध्ययन तथा विकास विभागका निर्देशक डा. आलोक शर्मा र योजना तथा व्यवसाय विकास विभागका निर्देशक सुमन कुमारसँग छलफल गरेको थियो । छलफलका क्रममा आइओसीको इथानोल ब्लेडिङ प्रविधि भएको प्रयोगशाला र हाइड्रोजन प्रयोगशालासमेत निरीक्षण गरेको निर्देशक उपाध्यायले जानकारी दिए ।
आइओसी अधिकारीसँग पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गर्ने प्रविधिबारे जानकारी लिएको उनले बताए । ‘हामीले यो वर्षबाट पेट्रोलमा इथानोल मिश्रणको काम सुरु गर्ने योजनाका साथ नीति कार्यक्रम बनाएका छौँ,’ उनले भने, ‘यसका लागि कार्यविधि पनि तयार भइसकेको छ । कार्यान्वयन पाटो के कस्तो हुनेरहेछ भनेर हामीले स्थलगत निरीक्षण गरेका छौँ ।’
उनले इथानोल मिश्रणका लागि आइओसीले भारतमा गरिरहेको अभ्यासलाई नै नेपालमा पनि लागू गर्न चाहेकाले आवश्यक सहयोग मागिएको बताए । ‘आइओसी अधिकारीबाट प्राविधिक सहयोग गर्न तयार रहेको जवाफ पाएका छौँ,’ उपाध्यायले भने, ‘अब, नेपालमा पूर्वाधार तयारीको काममा जुट्नेछौँ ।’ त्यस्तै, निगमले चालू आर्थिक वर्ष ०८२/८३ मा दुईवटा हाइड्रोजन बस किनेर सञ्चालन गर्ने गरी बजेट छुट्याएकाले त्यसका लागि पनि आइओसीसँग सहयोग मागिएको उनले बताए ।
निगमले धुलिखेल–काठमाडौं रुटमा दुईवटा हाइड्रोजन बस सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ । धुलिखेलमा निगमकै सहयोगमा काठमाडौं विश्वविद्यालय परिसरमा हाइड्रोजन ग्यास उत्पादन गर्ने स्टेसन छ । निगम टोलीले बुधबार आइओसीसँगको छलफलमा काठमाडौंमा हाइड्रोजन रिफ्युलिङ स्टेसनका लागि सहयोगको प्रस्ताव गरेको छ । ‘यो वर्ष दुईवटा हाइड्रोजन बस किनेर सञ्चालन गर्ने योजना कार्यान्वयनका लागि आइओसीसँग हामीले सहयोग मागेका छौँ । त्यसमा सकारात्मक रहेको प्रतिक्रिया पाएका छौँ,’ उपाध्यायले भने । टोली बिहीबार काठमाडौं फर्कने र हाइड्रोजन ग्यासको स्टेसनका लागि आवश्यक गृहकार्य थाल्ने उनले बताए ।
गोरखपुर र बरौनीको रासायनिक मल कारखाना निरीक्षण गर्न आइओसीको सुझाव
नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि सहयोग मागेको निगमको टोलीलाई आइओसीले गोरखपुर र बरौनीस्थित आफ्नो मल कारखाना निरीक्षण गर्न सुझाव दिएको छ । उक्त स्थानमा प्राकृतिक ग्यास प्रयोग गरेर आइओसी मुख्य प्रवर्द्धक रहेको हिन्दुस्तान उर्वरक एवं रसायन लिमिटेडको मल कारखाना छ । निगमले दैलेखमा पुष्टि भएको प्राकृतिक ग्यास उत्खनन गरेर रासायनिक मल कारखाना स्थापना गर्ने योजना आइओसी अधिकारीलाई सुनाएका थिए । त्यसपछि उनीहरूले सुरुमा मल कारखानाको भ्रमण गरेर वस्तुस्थिति बुझ्न सुझाएको उपाध्यायले बताए । ‘मल कारखाना भ्रमण गरेर सम्भावना देखियो भने आइओसी अधिकारीसँग फेरि छलफल गर्छौँ । उनीहरूले पनि नेपालमा मल कारखाना खोल्नका लागि हामीलाई विगतदेखि नै प्रोत्साहन गरिरहेका छन्,’ उपाध्यायले भने । निगमले दुई साताभित्रै गोरखपुरस्थित आइओसीको रासायनिक मल कारखाना निरीक्षण गर्ने जनाएको छ ।
भैरहवामा डिपो बनाउन पाँच अर्ब ७९ करोड लागत अनुमानसहितको डिपिआर तयार
आयल निगमले रुपन्देहीस्थित ओमसतिया र रोहिणी गाउँपालिकामा रहेको साढे २५ बिघा जमिनमा आधुनिक डिपो बनाउन करबाहेक पाँच अर्ब ७९ करोड ३० लाख ६४ हजार नौ सय ४१ रुपैयाँ लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।
बुधबार एक कार्यक्रमबिच काठमाडौं विश्वविद्यालयको कन्सल्टेन्सी सेवा विभागले निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजनालाई डिपिआर हस्तान्तरण गरेको हो । परियोजना प्रमुख रहेका निगमका उपनिर्देशक प्रदीप यादवले डिपिआरको मापदण्डभित्र रहेर चालू आर्थिक वर्ष ०८२/८३ बाटै इन्धन डिपो निर्माण थालिने बताए ।
‘चालू आवको बजेट निगम सञ्चालक समितिबाट पास हुने क्रममा रहेको छ । बजेट पास हुनासाथ टेन्डर आह्वान गरिहाल्छौँ,’ उनले भने, ‘त्यसपछि मंसिरसम्म टेन्डर मूल्यांकन गरेर ठेक्का सम्झौता भइसक्छ ।’ ठेक्का सम्झौता भएको तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको उनले बताए । इपिसी मोडेलमा टेन्डर आह्वान गरिने भएकाले डिपिआरको लागतभित्रै इन्धन डिपो निर्माण गर्ने उनले जानकारी दिए ।
हाल रूपन्देहीको भलवारीमा रहेको डिपो साँघुरो र घनाबस्तीमा रहेकाले स्थानान्तरण गर्न स्थानीयले निरन्तर दबाब दिइरहेको उनले बताए । ‘भलबारीमा दैनिक २० ट्यांकर तेल लोड–अनलोड गर्ने क्षमताको डिपो निर्माण भएको थियो । अहिले माग बढेर दैनिक एक सयवटा ट्यांकर परिचालन भइरहेका छन् । त्यसैले हाल सञ्चालनमा रहेको डिपोबाट भविष्यको माग धान्ने गरी काम गर्न गाह्रो छ,’ उनले भने ।
भलबारीमा साढे पाँच बिघा जमिन मात्रै रहेकाले भण्डारण क्षमता विस्तार गर्ने ठाउँ पनि नभएकाले नयाँ र फराकिलो क्षेत्रफलमा डिपो निर्माण हुन लागेको उनले बताए । नयाँ डिपोमा कम्तीमा एक महिनाको माग धान्ने भण्डारणगृह बनाउने यादवले जानकारी दिए । ‘नयाँ डिपोमा डिजेलको १३ हजार पाँच सय किलोलिटर, पेट्रोलको चार हजार नौ सय किलोलिटर र मट्टितेलको दुई सय २८ किलोलिटर क्षमताको भण्डारणगृह बन्नेछ’ यादवले भने ।
डिपिआर हस्तान्तरण गर्दै काठमाडौं विश्वविद्यालय, कन्सल्टेन्सी सेवा विभागका प्रमुख डा. विवेक बरालले स्वदेशी इन्जिनियरकै दक्षता प्रयोग गरेर प्रतिवेदन तयार गरेको बताए ।