मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ५ बिहीबार
  • Thursday, 21 August, 2025
झाङ योंग
२o८२ भदौ ५ बिहीबार १o:५३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

जापानमा विद्यार्थीलक्षित श्वेतपत्रले उब्जाएको संशय

Read Time : > 2 मिनेट
झाङ योंग
नयाँ पत्रिका
२o८२ भदौ ५ बिहीबार १o:५३:oo
  • राष्ट्रिय सुरक्षा एक वैध चिन्ता हुन सक्छ, तर युवा दिमागमा डर पैदा गर्नु देशको आक्रामकताको संकेत हो

जापान सरकारले हालै सार्वजनिक गरेको वार्षिक रक्षा श्वेतपत्र ‘जापानको रक्षा २०२५’ देशलाई सैन्यीकरण गर्न जापानले प्रयोग गरिरहेको चलाखीपूर्ण चाल हुन सक्छ । तर, अभूतपूर्व र विशेषगरी चिन्ताजनकचाहिँ प्राथमिक विद्यालयका विद्यार्थीका लागि २०२४ को रक्षा श्वेतपत्रमा आधारित पुस्तिका सार्वजनिक गरेको विषय हो । लगभग ६१ सय प्रति यस्ता पुस्तिका जापानभरका लगभग २४ सय प्राथमिक विद्यालयमा पठाइएको छ ।

उच्च प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थीलाई लक्षित यो प्रकाशनले सैन्य नीति र भूराजनीतिक गतिशीलतालाई अति सरल र भावनात्मक रूपमा प्रस्तुत गरेको छ । यसले राष्ट्रको रक्षालाई अस्तित्वगत जरुरी विषय र सैन्य शक्तिलाई जापानका लागि अन्तिम सुरक्षाको रूपमा वर्गीकृत गर्छ । देशको संविधानमा शान्तिवाद निहित भएकाले यो विशेषगरी स्तब्ध पार्ने विषय हो ।

त्यसो त रंगीन चित्रण र मस्कट मिसाएर बनाइएको यो पुस्तिका एक हिसाबले हानिरहित नै देखिन्छ । तर, यसको सन्देश धेरै हदसम्म सौम्य छैन । छिमेकी देश– चीन, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र रुसलाई खतराका रूपमा उद्धृत गरेर तथा जापानलाई शत्रुतापूर्ण क्षेत्रमा एक्लो ‘गार्ड’का रूपमा चित्रण गरेर पुस्तिकाले युवा पाठकलाई खतरनाक सन्देश पठाउँछ– आफ्ना छिमेकीलाई त्रसित बनाऊ र सेनामाथि विश्वास गर ।

बालबालिकालाई राष्ट्रिय रक्षाको महत्व सिकाउनु एउटा कुरा हो, उनीहरूमा चिन्ता र शत्रुताले आकार दिएको विश्वदृष्टिकोण निर्माण गर्नु अर्को पक्ष हो । शिक्षाशास्त्रको आवरणमा राजनीतिबाट प्रभावित जापानको यस नयाँ दृष्टिकोणले शिक्षाबाट हुने प्रोपोगान्डामा एक समस्याग्रस्त परिवर्तनलाई प्रतिनिधित्व गर्छ । पुस्तिकाले रुस–युक्रेन द्वन्द्वलाई व्याख्या गर्ने ढाँचा पनि उत्तिकै चिन्ताजनक छ । द्वन्द्वको जटिल राजनीतिक र ऐतिहासिक जराहरूको अन्वेषण गर्नुको सट्टा यसले एकल सन्देश पठाउँछ– युक्रेनसँग मजबुत सैन्य बलको अभाव छ र उसले अहिले मूल्य चुकाइरहेको छ ।

सैन्यवादी विश्वदृष्टिकोणले दोहोरो सोचलाई प्रश्रय दिन्छ, हामीविरुद्ध तिनीहरू, अनि बलियोविरुद्ध कमजोर । यसले विद्यार्थी पुस्तामाझ अन्तर्राष्ट्रिय सम्बन्धलाई पारस्परिक समझदारी निर्माण गर्ने तरिकाका रूपमा नभई बलको प्रतिस्पर्धाका रूपमा हेर्न सिकाउँछ । तसर्थ, यसले एक राष्ट्रवादी कथालाई पक्षपोषण गर्छ, जसले ‘पूर्ण रूपमा रक्षात्मक कवच’को लामो समयदेखिको सिद्धान्तबाट जापानको प्रस्थानलाई वैध बनाउँछ ।

पुस्तिकाले जापानको ‘प्रत्याक्रमण क्षमता’लाई प्रवद्र्धन गर्छ, जुन देशको युद्धपछिको शान्तिवादी मान्यताबाट एक महत्वपूर्ण ‘ब्रेक’ हो । जापानको संविधानले युद्ध त्यागे पनि उक्त प्रकाशनले आक्रामक नीतिलाई बिग्रँदो सुरक्षा वातावरणका लागि आवश्यक प्रतिक्रियाका रूपमा प्रस्तुत गरेको देखिन्छ । यसको लक्ष्य स्पष्ट छ, बालबालिकालाई जापानको ‘बलियो सेना निर्माण गर्ने आवश्यकता’सँग परिचित गराउनु र यसको पक्षमा जनमतलाई आकार दिनु । पुस्तिकाको कथात्मक संरचना कथित खतराको स्थिर वृद्धिमा आधारित छ । यसले जापान एक खतरनाक छिमेकीको हिस्सा भएको दाबी गर्छ, जुन आणविक हतियारधारी देशले घेरिएको छ र उसले प्रतिरोधलाई एक मात्र तर्कसंगत विकल्पका रूपमा राख्छ ।

विभिन्न देशबिचको शान्तिपूर्ण सहअस्तित्व, क्षेत्रीय सहयोग वा ऐतिहासिक सन्दर्भमा भएका कुनै पनि छलफल पुस्तिकामा उल्लेख छैन । पूर्वी एसियाको सुरक्षा परिदृश्यलाई आकार दिने जापानको आफ्नै सैन्यवादी विगत वा यसको जिम्मेवारीको कुनै उल्लेख छैन, जसको अर्थ यसले इतिहासलाई पूर्ण रूपमा बेवास्ता गर्छ ।

आलोचनात्मक सोच अझै विकसित भइरहेका बालबालिकामा लक्षित यस प्रकारको सन्देशका दीर्घकालीन असर छन् । यसले युवा दिमागमा पीडा र शंकाको भावना जगाउने जोखिम राख्छ, जब कि उनीहरूलाई बाहिरी संसारबारे आफ्नै विचारले हेर्न र दृष्टिकोण बनाउनबाट निरुत्साहित गर्छ । विनाअवरोध छोडियो भने यसले सैन्यवादलाई स्वागत गर्ने र बाह्य देशलाई अविश्वासको नजरले हेर्ने पुस्ता निर्माण गर्न सक्छ । राजनीतिक समयलाई बेवास्ता गर्न गाह्रो छ । यो वर्ष जापानी आक्रामकताविरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध (१९३१–४५) र विश्व तानाशाहविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सव हो, जुन गम्भीर चिन्तनका लागि एक अवसर हुनुपर्छ । बरु, जापान सरकारले १९३० को दशकमा देशलाई विनाशकारी बाटोमा डोर्‍याएको विचारधारालाई पुनर्जीवित गरिरहेको देखिन्छ ।

जापानले हालैका वर्षमा आफ्नो ऐतिहासिक घटनाक्रमलाई परिमार्जन गर्दै तथा पाठ्यपुस्तकमा युद्धकालीन आक्रमण र अत्याचारको विवरणलाई नरम पार्दै र युद्धकालीन विगतको अस्पष्ट आधिकारिक विवरण प्रस्तुत गर्दै आएको छ ।

विद्यालय खुला विचार, सहानुभूति र आलोचनात्मक तर्कका लागि ज्ञानको केन्द्र हुनुपर्छ, वैचारिक अभियानका लागि युद्धभूमि होइन । जब सरकारले खतराको कथालाई विस्तार गर्न शिक्षा प्रयोग गर्छन्, त्यसले मूल्य र मान्यतालाई कमजोर बनाउँछ ।

यसबाहेक, यो पुस्तिका ढाकछोप गरिएको एक सैन्य भर्ती रणनीति पनि हो । जापानको आत्मरक्षा बलहरू (एसडिएफ) ले भर्ती लक्ष्य पूरा गर्न संघर्ष गरिरहेको वेला, यो पुस्तिका बालबालिकालाई ठुला भएपछि एसडिएफमा सामेल हुन प्रेरित गर्न डिजाइन गरिएको देखिन्छ । दैनिक जीवनमा सेनाको उपस्थितिलाई सामान्य बनाउन पुस्तिकामा सैनिकलाई महान्, सैन्य जीवनलाई सम्मानजनक र रोमाञ्चक रूपमा चित्रण गरिएको छ ।

(योंग चाइनिज एकेडेमी अफ सोसल साइन्सेसको इन्स्टिच्युट अफ जापानिज स्टडिजका रिसर्च फेलो हुन्)
चाइना डेलीबाट