
विवेकशील साझा पार्टीले समान विचार भएका व्यक्ति, समूह, अभियान, संस्था र दलहरूसँग सहकार्य, ध्रुवीकरण, कार्यगत एकता, एकीकरण र मोर्चाबन्दी गर्न पार्टी उपाध्यक्ष प्रकाशचन्द्र परियारको नेतृत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ।
पाँच सदस्यीय संवाद समितिमा उपाध्यक्ष विमला घिमिरे अधिकारी, महासचिव रञ्जु दर्शना, सचिव समुन्द्र केसी र प्रवक्ता आशुतोष प्रधान सदस्य छन्।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले मुलुकमा वैकल्पिक राजनीतिको उपादेयता अझ बढिरहेका वेला समान विचार भएका दल, समूह र अभियानकर्मीहरूको बृहत् ध्रुवीकरण, कार्यगत एकतादेखि एकीकरणसम्मको आवश्यकतालाई केन्द्रमा राखी ‘मिसन ८४’लाई सफल बनाउन राजनीतिक संवाद समिति गठन गरेको हो।
समितिले राजनीतिक छलफल, भेटवार्ता, सामूहिक कार्यक्रम, मोर्चाबन्दी र सहकार्य संस्कृतिलाई सक्रिय अभ्यासमा ल्याउन पहलकदमी गर्दै ‘अल्टरनेटिभ्स अलाइन्स’मा काम गर्ने बताइएको छ।